रिपोर्ट नआउँदै अस्पतालले शव जिम्मा लगायो, अन्त्येष्टिपछि कोरोना पुष्टि

स्वास्थ्यमा समस्या भएपछि पोखरा ५ पस्र्याङ बस्ने ४५ वर्षीया महिला पोखराको गैरापाटनस्थित फिस्टेल अस्पताल भर्ना भइन्।
उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भयो। क्यान्सर र मिर्गौलासम्बन्धी समस्या भएकी उनको स्वाब लिइयो।

त्यसपछि अस्पतालले शव परिवारको जिम्मा लगायो। परिवारले शुक्रबार दिउँसो दाहसंस्कार गर्यो। तर अन्त्येष्टि गरेको २४ घन्टा नबित्दै ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

कोरोना परीक्षणलाई स्वाब पठाएकाले परिवार र आफन्तले उनको शव बुझ्न मानेका थिएनन्। तर अस्पताल प्रशासनले शव जिम्मा लगाएरै छोड्यो।
‘शव बुझ्न मानेका थिएनौं। पटकपटक भन्यौं तर उहाँलाई अरू समस्या छैन भनेर अस्पतालले शव लैजान भन्यो,’ मृतकका एक आफन्तले भने।

ती पोखराका पर्यटन व्यवसायीकी श्रीमती हुन्।

उनको श्रद्धाञ्जली सभामा झन्डै एक सयजना उपस्थित थिए।

ती महिलालाई श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजीव पहारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीलगायत रामघाट पुगेका थिए।

उनको श्रद्धाञ्जली सभामा सहभागी भएकाहरू अहिले होम क्वारेन्टाइनमा बसेका छन्।

फिस्टेलले स्वाब परीक्षणलाई दिएर शव आफन्तको जिम्मा लगाएकोमा स्वास्थ्य सरोकारवालाहरू आक्रोशित छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्मा अस्पताललाई प्रश्न गर्छन्, ‘परीक्षणका लागि स्वाब पठाएपछि शव किन परिवारको जिम्मा लगाएको?, एकदिन रिपोर्ट कुर्न किन नसकेको?’

उनले अस्पताल प्रशासनलाई विभिन्न आठ प्रश्न गरेका छन्। यस्ता छन् स्वास्थ्य शिक्षा प्रशिक्षक शर्माका प्रश्नः
१. मृतक महिलाको कोरोना परीक्षण किन गरेको?

२. परीक्षणको लागि नमुना क्षयरोग केन्द्रमा पठाएपछि मृतकको शव किन परिवारलाई हस्तान्तरण गरिएको? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको?

३. नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल सञ्चालकलाई थाहा नभएको हो?

४. कि अस्पताल प्रशासनले प्रदेश सरकारलाई अटेरी गरेको हो?

५. अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा हिजो मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने?

६. यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने?

७. के फिस्टेल अस्पतालले जे गरे पनि हुने हो, मनपरी छ अस्पताललाई जनस्वास्थ्यको विषयमा?

८. यो महामारीको बेलामा यस्तो मनपरी किन?

अस्पताल प्रशासन भने निजी अस्पतालबाट पठाइएका स्वाब परीक्षणमा ढिलासुस्ती गरिएकाले शव राख्न नसकिएको बताउँछ। ‘स्वाब लियो, पठायो। तर दुई-तीन दिनसम्म रिपोर्ट आउँदैन। त्यतिबेलासम्म शव कहाँ राख्ने?,’ फिस्टेल हस्पिटलका अध्यक्ष अशोक पालिखेले भने।

प्रदेश स्वास्थ्य निर्देशनालयले अस्पतालका कर्मचारी र बिरामीको रिपोर्ट पोजेटिभ आए अस्पताललाई जानकारी नदिई मिडियामा सार्वजनिक गर्ने गरेकोमा अध्यक्ष पालिखेले आक्रोश पोखे।
आफ्नो अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको औपचारिक जानकारी आफूहरुलाई अझै नआएको उनले सुनाए।

‘बिरामीको स्वाब अस्पतालले पठाएपछि रिपोर्टबारे अस्पताललाई जानकारी दिने कि बाहिर हल्ला गर्ने?’ स्वास्थ्य निर्देशनालयलाई अध्यक्ष पालिखेले प्रश्न गरे। अहिले अस्पतालको आइसियु कक्ष बन्द गरिएको र सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए।

शुक्रबार मृत्यु भएकी महिला बुधबार अस्पताल भर्ना भएकी थिइन्।

उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबारदेखि आइसियुमा राखेर उपचार थालिएको थियो। उपचारक्रै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो।

कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ।

अन्नपूर्ण गाउँपालिकाका एक संक्रमित र पोखराका सात संक्रमितको मृत्यु भएको हो। शुक्रबार मृत्यु भएकी महिला निजी अस्पतालमा मृत्यु हुने पोखराकी पहिलो संक्रमित हुन्।

अरू संक्रमितको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो। क्षेत्रीय अस्पतालमा मृत्यु हुनेमा स्याङ्जाका तीन, लमजुङका एक र पोखराका ६ संक्रमित छन्। अन्नपूर्ण गाउँपालिकाकी एक संक्रमितको भने काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको हो।

गण्डकी प्रदेशभर २४ संक्रमितको मृत्यु भएको छ।

कास्कीका आठ, गोरखाका चार, तनहुँ, नवलपुर र स्याङ्जाका तीन÷तीन, म्याग्दी, लमजुङ र बागलुङका एक÷एक संक्रमितको मृत्यु भएको छ।

गण्डकीमा कोरोना संक्रमितको संख्या २९ सय तीन छ। तीमध्ये १८ सय ५१ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय