काठमाडौं महानगर–१२ का पाँच संक्रमित कहाँ हराए?

वडाध्यक्ष विकास डंगोल

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले कोरोना संक्रमित सम्पर्कविहीन हुँदा समस्या भएको जनाएको छ।

वडाकी स्वास्थ्य संयोजक पार्वती केसीले वडाका पाँचजना कोरोना संक्रमित सम्पर्कविहीन भएको भन्दै संक्रमणको जोखिम बढ्दै गएको गुनासो गरिन्।

‘फोन गर्दा म होइन गलत नम्बर पर्‌यो भन्छन्,’ केसीले हेल्थपोस्टसँग भनिन्, ‘संक्रमित बेपत्ता हुँदा कन्ट्याक्ट टे«सिङ गर्न निकै समस्या भएको छ, एकातिर फोन पनि गर अर्कोतिर गाली पनि खाउ।’

कोरोना भाइरस परीक्षण गराउन आउँदा गलत ठेगाना र फोन नम्बर दिने गरेका कारण संक्रमित पत्ता लगाउन निकै समस्या भएको उनको गुनासो छ।

‘सम्पर्कविहीन हुने चाहिँ संक्रमित अनि गाली खानुपर्ने स्वास्थ्यकर्मीले,’ उनले गुनासो गरिन्।

वडामा अहिलेसम्म कोरोनाबाट दुईजनाको मृत्यु भइसकेको छ भने ५७ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये १६ जना अस्पतालमा, ३८ जना होम आइसोलेसनमा र २० जना निको भएका छन्।

वडाले अहिलेसम्म तीनपटक गरी १ सय १ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको जानकारी दिएको छ भने शुक्रबार पनि ३० देखि ४० जनाको ट्रेसिङ गरिने जनाएको छ।

वडाध्यक्ष विकास डंगोलले भने वडाले सम्पर्कविहीन संक्रमितलाई खोज्न पहल गरिरहेको बताए।

‘बेपत्ता भएका पाँचजना संक्रमित खोज्न लागिपरिरहेका छौं,’ उनले भने, ‘उनीहरूका कारण संक्रमण फैलिने खतरा छ, हामी जसरी भए पनि खोज्छौं।’

गलत सूचना, नाम, ठेगाना दिनेहरूका कारण वडामा संक्रमणको जोखिम बढेको भन्दै उनले सबैको सुरक्षाका लागि सही सूचना जानकारी दिन आग्रहसमेत गरे।

‘संक्रमितहरू त जोखिममा थिए नै, सद्दे सर्वसाधारण र घरपरिवारसमेत जोखिममा पर्नेभए, कृपया कसैले पनि सबैलाई खतरामा पार्ने काम नगरौं,’ उनले आग्रह गरे।

वडाध्यक्ष डंगोलले सर्वसाधारणलाई मास्क, स्यानिटाइजर वितरण गरेको भन्दै ‘लकडाउन’ का बेला गरिब तथा विपन्न वर्गलाई राहत उपलब्ध गराइएको बताए।

भाइरस संक्रमण न्यूनीकरणका लागि वडाले डिस्इन्फेक्सन स्प्रे छर्कने गरेको जानकारी दिए।

१२ नम्बर वडाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बुद्धमाई सेन्टरलगायत थुप्रै स्वास्थ्य संस्था र क्लिनिक पर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय