अब पोखरामा पनि प्लाज्मा थेरापीबाट संक्रमितको उपचार
पोखरामा पनि प्लाज्मा थेरापी विधिबाट गम्भीर खालका कोरोना संक्रमितको उपचार गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अनुसन्धान परिषद्बाट अनुमति पाएसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) त्यससम्बन्धी कामको तयारीमा जुटेको छ।
निको भइसकेका व्यक्तिहरूबाट रगत लिई प्लाज्मा छुट्याई संक्रमितलाई ट्रान्सप्लान्ट गरी उपचार गर्न अस्पतालले साउनबाटै तयारी थालेको थियो।
प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले भदौ पहिलो साता अनुसन्धान परिषद्मा सिफारिस पठाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति मागेका थिए। परिषद्बाट अनुमति पाएर उपचार विधि कार्यान्वयनका लागि जुटेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।
कोरोना निको भएका व्यक्तिहरूलाई रक्तदान गर्न प्रतिष्ठानले आग्रह गरेको छ। डा. आचार्यका अनुसार संक्रमितले आफ्नो रिपोर्ट नेगेटिभ आएको २ हप्तामा रक्तदान गर्न सक्नेछन्। प्रतिष्ठान परिसरमा रहेको रक्त सञ्चार केन्द्रमा इच्छुक रक्तदाताबाट रगत संकलन गर्ने व्यवस्था मिलाइएको उनले बताए। नेपालमा काठमाडौंसहित विभिन्न जिल्लामा यो विधिबाट बिरामीको उपचार भइरहेको छ।