कोरोना उपचारमा स्वास्थ्य मन्त्रालय असफल भयो

पछिल्लो समय कोरोना संक्रमणबाट आइसियु तथा भेन्टिलेटर जाने संक्रमितको संख्या बढ्दै गएको छ। अस्पतालमा भएका बेडहरू भरिएका छन्।

सरकारले उपकरण तथा जनशक्ति तत्कालै जुटाउने अवस्था छैन। आइसियु र भेन्टिलेटरको अभावमा दैनिक दजनौं मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

देशमा कति आइसियु र भेन्टिलेटर तथा जनशक्तिको अवस्था कस्तो छ? आइसियुमा पुग्न नदिनका लागि कस्तो रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा सघन उपचार विशेषज्ञ (इन्टेसिभिस्ट) एवं त्रिवि शिक्षण अस्पतालका आइसियु प्रमुख प्रा.डा. सुवास प्रसाद आचार्यसँग हेल्थपोस्ट नेपालका लागि पुष्पराज चौलागाईंले गरेको कुराकानी :

पछिल्लो समयमा कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा जाने संक्रमित संख्या बढ्दो छ? यसले के संकेत गरिरहेछ?

कोरोना संक्रमण जब समुदायस्तरमा पुग्छ। संक्रमितहरू भेन्टिलेटर र आइसियुमा जाने सम्भावना प्रबल नै हुन्छ। पहिला हामीकहाँ नै २०–२५ वटा केस पुष्टि हुँदा मानिसहरूमा डरत्रास थियो। तर, अहिले रोग समुदायमा पुगिसकेको छ।

दिनमा ५ सयको हाराहारीमा काठमाडौं उपत्यकामा नै संक्रमण पुष्टि भइरहेको छ। हामीले चार–पाँच महिनाको समय तयारी गर्न समय पाएका थियौं। तर, तयारी गर्न सकेनौं। पहिला कोरोना नेपालमा आउँदै–आउँदैन भनेर बस्यौं। भारतबाट क्वारेन्टाइनमा बसेका ५–६ सयको हाराहारीका मानिसमा संक्रमण पुष्टि भएको थियो।

अहिले त हाम्रो समुदायस्तरबाट दैनिक १ हजारभन्दा बढी संक्रमित आइरहेको छ। तैपनि १०–१२ हजार परीक्षण गर्दा आएको संख्या हो। ५० हजारको परीक्षण गरियो भने १० हजार संक्रमित भेन्टिछन्।

यो समस्या आउँछ भन्ने आँकलन गरिएको थियो। पहिला लक्षणविहीन केस धेरै रहेका थिए। तर, अहिले ३० प्रतिशतभन्दा बढी मानिस लक्षण भएका छन्।

रुघाखोकी, घाँटी खसखस, ज्वरो आउने जस्ता लक्षण भएका बढी छन्। अहिले अक्सिजन चाहिने मात्रा एकदमै बढेको छ। १०–१५ प्रतिशत हाराहारीका मानिसलाई अक्सिजन नै चाहिएर अस्पताल आएका छन्।

अहिलेको संक्रमितको बढ्दो टेन्डलाई हेर्दा हाम्रो स्रोत–साधनले धान्नसक्ने अवस्था रहेको छैन। १ लाख मानिस संक्रमण पुष्टि हुँदा १० हजार मानिसलाई अस्पताल भर्ना गर्नुपर्यो भने कहाँ राख्ने?

काठमाडौं उपत्यकामा ३–४ सयको हाराहारीमा संक्रमण पुष्टि हुँदा दैनिक ५ प्रतिशत अर्थात १५ जना मानिसलाई आइसियु चाहियो भने कहाँबाट ल्याउने?

आइसियुमा गएका बिरामी ५०–६० प्रतिशत अक्सिजन थेरापी र अन्य उपचारले ठीक भएर जान्छन्। बाँकी ३० प्रतिशत मानिसमात्र भेन्टिलेटरमा जान्छन्। ती भेन्टिलेटरमा गएका मानिसहरू १० प्रतिशतमात्रै बाँच्छन्। तैपनि हाम्रो फोकस भेन्टिलेटरमामात्रै छ।

अमेरिका, इटाली, ब्राजिल राष्ट्रहरू धान्न सकेनन्। किनभने छोटो समयमा सबैतिर सल्किन्छ। सबै सिरियस बिरामी ह्वातै बढ्छ। कोरोनाको मुत्युदर फ्लुभन्दा पनि कम रहेको छ। तर, कोरोनाले स्वास्थ्य सेवा क्षमता पुरै ध्वस्तै बनाइरहेको छ।

अहिले दैनिक ४ सयको हाराहारीमा संक्रमण पुष्टि हुँदा काठमाडौंका सबै आइसियु भरिएका छन्। त्रिवि शिक्षण अस्पताल, टेकु, पाटन, बलम्बु अस्पतालमा सबै आइसियु भरिएका छन्। फाट्टफुट्ट (ननकोभिड) बिरामीका लागि १–२ आइसियु खाली होलान्।

कोभिडको समस्या अहिले बढ्दै गएको छ। यो अवस्था एकदमै डरलाग्दो छ। बेड उपलब्ध छैन। अहिले नै आइसियु बेड कतै पाउने अवस्था छैन। सरकारले सबै अस्पतालाई २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ। अहिलेको अस्पतालले २० प्रतिशत छुट्याए पनि पुग्दैन।

संक्रमित जटिल अवस्था पुग्नका लागि के–के कुराले संकेत गर्दछ?

कोभिडमा गम्भीर अवस्था पुर्याउने निमोनिया हो। निमोनिया हुनेबित्तिकै अक्सिजनको मात्रा कम हुन्छ। शरीरमा अक्सिजन नपुगेको कति मानिसलाई त थाहा नै हुँदैन। दुई हप्ता घरमा बसेको मानिसलाई अक्सिजन चाहिन्छ भन्ने थाहा नै छैन। संक्रमण पुष्टि भएको १२–१४ दिन भइसक्यो। तर, संक्रमितको स्याचुरेसन ७० मा रहेको छ।

जसले गर्दा दुई हप्तादेखि संक्रमितको फोक्सोमा असर गरिसकेको हुन्छ। शरीरमा अक्सिजनको मात्रा कम हुनाले अवस्था जटिल नै भइसकेको हुन्छ।  स्वास्थ्यमा केही समस्या आयो भने मानिस अस्पताल जान्छ। तर, केही समस्या छैन भनेर घरमै बस्दा पनि धेरै संक्रमितको मृत्युका घटना घटिरहेका छन्।

घरमा स्याचुरेसन हेर्दा ९४ भन्दा कम भयो भने तुरून्तै अस्पताल जानुपर्दछ। भेन्टिलेटरमा बिरामी धेरै दिन बस्यो भने १२–१४ दिन भएपछि कोरोना नेगेटिभ आउँछ। कोरोनाले फोक्सो बिगारिसकेको हुन्छ। जुन मानिस लामो समय भेन्टिलेटरको भर पर्नुपर्ने हुन्छ।

निमोनियाले गर्दा फोक्सोमा खत बस्छ। जुन बिरामीलाई घाँटीबाट प्वाल पारेर भेन्टिलेटरमा लामो समयसम्म राख्नुपर्ने हुन्छ। जसले गर्दा हामीसँग भएको आइसियु र भेन्टिलेटर भरिरहेको हुन्छ।
कतिपय बिरामीहरूलाई भेन्टिलेटरबाट निकाल्ने नसकिने भेटिएका छन्। ३ हप्ताभन्दा बढी भेन्टिलेटरमा रहेकाहरू पनि छन्। कोरोना नेगेटिभ आइसक्यो। नन कोभिड वार्डमा सारिसक्यो तर, भेन्टिलेटरबाट निकाल्न मिल्दैन।

आइसियुका लागि हामीसँग पर्याप्त जनशक्ति छ त? कस्तो खालको जनशक्ति आवश्यक पर्छ?
हामीसँग जनशक्ति एकदमै कम रहेको छ। आइसियुमा काम गर्नका लागि भिन्न खालको जनशक्ति आवश्यक पर्छ।  आइसियुभित्र भूइँ सफा गर्ने कर्मचारीको ठूलो भूमिका हुन्छ। समय–समयमा आइसियु कक्षलाई संक्रमणमुक्त बनाइराख्नुपर्छ।

त्यसैगरी, आइसियुमा काम गर्नका लागि तालिमप्राप्त नर्स चाहिन्छ, जसले भेन्टिलेटरमा सबैभन्दा गम्भीर बिरामी हेर्नुपर्ने हुन्छ। हिजो भर्खरै पास गरेर आएका नर्सले आइसियुमा काम गर्न सक्दैनन्।

केही नभए पनि आइसियुमा १ वर्षकाम गरेको अनुभव चाहिन्छ। आइसियुमा काम नगरेका नर्सलाई बिरामी कसरी घोप्टाउने भन्ने पनि थाहा हुँदैन। बिरामी घोप्टो पार्दा तकिया कहाँ–कहाँ राख्ने, बिरामीको खुट्टा, हात, टाउको पोजिसन कहाँ राख्ने केही थाहा हुँदैन।

नर्सलाई भेन्टिलेटर कसरी चलाउने, बिरामी कुन बेला सिकिस्त भयो त्यो छुट्याउनका लागि ३ महिना बढी समय लाग्छ।  अहिले नेपालभर आइसियुमा १–२ वर्षदेखि काम गरेको वा तालिम लिएको हजार जना पनि नर्स छैनन्। हामीले टेन्ड गरेका २–३ सय रहेका छन्। आइसियुमा काम गरेर सिकेका मानिसहरू ५–७ सय होलान्।

सबै आइसियुमा ४–५ जना छरिएर बसेका छन्। ‘सेन्टरलाइज’ आइसियु नभएका कारण नर्सहरुलाई टेन्ड गर्न पनि गाह्रो अवस्था छ। आइसियुमा जुनियर लेवलको धेरै डाक्टर चाहिन्छ। यस्ता चिकित्सक पनि आइसियुमा अनुभव बटुलेको चाहिन्छ।

एमबिबिएस पढ्दा पनि आइसियुका बारेमा सबैलाई थाहा हुँदैन। इन्टर्नसिप गर्दा आइसियुमा पोस्टिङ भएर काम गरेको हुँदैन। त्यसैगरी, एमडी गरेको डाक्टर आवश्यक पर्छ। बिरामीलाई भेन्टिलेटरमा राख्ने, औषधी चलाउने काम गर्नुपर्छ।

यिनीहरू सबैलाई सुपरभाइज गर्न कन्सल्ट्यान्ट चाहिन्छ। जुन क्रिटिकल केयरकै विशेषज्ञ हुनुपर्दछ। रजिस्ट्रार, मेडिसिन, एनेस्थेसिया सबै गरेर एमडी गरेको १ हजारमात्र रहेका छन्। उनीहरूले आफ्नो रेगुलगर काम पनि गर्नुपर्यो, कोरोनाका लागि कतिजना छुट्याउनु? जुन चुनौतीको विषय छ।

आइसियु विशेषज्ञ हासिल गरेका २९ जना मात्रै रहेका छन्। उपकरण थप्न सकिएला तर जनशक्ति अहिले तत्काल नै थपिन सकिने अवस्था हुँदैन। अन्य विशेषज्ञले सपोर्टिङ भूमिका खेल्न सक्छन्। नेफ्रोलोजिस्टले एमडी लेबलको काम गर्न सक्छन्।  तर, अर्थोपेडिक्स तथा गाइनोलोजिस्टको आइसियु केयरमा काम गर्ने ज्ञान अलि कम नै हुन्छ।

हामीकहाँ न त पर्याप्त जनशक्ति छ न उपकरण। यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्न सकिन्छ?

आइसियुमा काम गर्ने जनशक्तिमा नेपालमा चरम अभाव छ। सरकारले नेपालमा महामारीलक्षित गरेर कुनै दीर्घकालीन काम गरेको छैन। जब समस्या आइपर्यो बल्ल केही चासो भएको महसुस गरेको छ। अरू बेलामा कानमा तेल हालेर बस्छ।

हामीले २०७२ सालमा भुइँचालो आउँदादेखि नै आइसियु बेड बढाउनका लागि सरकारलाई सुझाव दिँदै आएका थियौं। ५ वर्ष बितिसक्दा पनि सरकारले केही माखो मारेन। कुनै तयारी गरेन।

सरकारी उच्च तहमा बसेका मानिसहरू आइसियु बेड भन्नेबित्तिकै पैसा सम्झिन्छन्। एक बेडलाई लगभग १ करोड खर्च हुन्छ। सरकारलाई यत्रो पैसा किन खर्च गर्न लागिरहन्छ। त्यसमाथि आइसियुमा त्यत्तिकै चाहिने जनशक्ति हुन्छ।

आइसियु चलाउन ५ प्रकारको जनशक्ति चाहिन्छ। जनशक्ति व्यवस्थापन गर्नेका लागि कोभिडका बिरामीलाई सेन्टरलाइज गर्न सक्यौं भने धेरै कुरामा सहज हुन्छ। एउटै छुट्टै ५ सय बेड अस्पताल खोलेर त्यसमा ५०–६० बेडको आइसियु रन गरियो भने त्यसको आउटकम राम्रो हुन्छ।

एक हप्ता दुईजना आइसियु विशेषज्ञले सुपरभाइज गर्न सक्छन्।  अन्य आइसियुमा काम गरेका अनुभव भएका जनशक्तिले अन्य नर्स टेन्ड गर्न सकियो भने केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ।

केही महिनाअगाडि संसदीय समितिले १० हजार आइसियु र भेन्टिलेटर बेड थप्न निर्देशन दिएको थियो। अहिलेको अवस्थामा सम्भव छ त?

अहिले आएर १० हजार आइसियु र भेन्टिलेटर बेड थप्नुपर्छ भन्ने हावादारी कुरा हुन्। कोभिडका बिरामीलाई भेन्टिलेटरमा राख्दैमा बाँच्ने होइन। भेन्टिलेटरमा गएको बिरामी ९० प्रतिशत बाँच्दैनन्। तर, सरकारका उच्च तहमा भएका व्यक्तिहरू भेन्टिलेटर र आइसियुमा किन्नमा जोड दिइरहेका छन्। किनभने उपकरण किनेपछि कमिसनको खेल हुन्छ। त्यसका पछि मानिसहरु दौडिरहेका छन्।

त्यसकारण अहिले हामीले प्रिभेन्सनमा फोकस गर्नुपर्दछ। ५ सय आइसोलेसन सेन्टर तयार पारेर डेक्सामेथासोन, अक्सिजन पाए भने आइसियुमा जाने फेजमै पुग्दैन।
५ सय जनालाई राम्रोसँग उपचार दिन सकियो भने १० जनामात्र आइसियुमा हुन्छन्। त्यसकारण हामीले प्रिभेन्सनमा फोकस गर्नुपर्छ।

आइसियुमा गएका बिरामी ५०–६० प्रतिशत अक्सिजन थेरापी र अन्य उपचारले ठीक भएर जान्छन्। बाँकी ३० प्रतिशत मानिसमात्र भेन्टिलेटरमा जान्छन्। ती भेन्टिलेटरमा गएका मानिसहरू १० प्रतिशतमात्रै बाँच्छन्। तैपनि हाम्रो फोकस भेन्टिलेटरमामात्रै छ।

अहिले आइसियु बेड खोज्नुपर्यो भने ५० ठाउँमा फोन गरेर १० वटा अस्पताल चाहेरर सचिव र मन्त्रीलाई फोन गर्न लगाएमात्र बेड पाइन्छ। मन्त्रालयले कोरोना उपचारका लागि हात उठाइसकेको छ। संक्रमित बिरामी उपचार भइरहेको अस्पतालले गर्नुपर्ने, रेफर गर्न नपाइने भनेर निर्देशन दिएको छ। पहिला लेबल १, २, ३ भनेर अस्पताल विभाजन गरिएको थियो। अब सबै कोभिड अस्पताल, सबै उपचार गर्नुपर्छ भनेर छोडदियो।

अब प्राइभेट अस्पतालले बिरामी राख्छन्। यसै पनि ६ महिनादेखि अस्पताल चलाउन सकेका छैनन्। कोभिडका बिरामी राख्ने थालेपछि निजी अस्पतालको मनोमानी सुरु हुन्छ।

तपाई नै भन्नुहुन्छ, कोरोनाका संक्रमितका लागि आइसियु–भेन्टिलेटरले मात्र ज्यान बचाउने होइन। उपकरण थप गरेर त्यति फाइदा छैन। थपे पनि हामीसँग जनशक्तिको अभाव छ। आइसियुमा जान नदिन कसरी काम गर्न सकिन्छ त?

१० हजार आइसियु र भेन्टिलेटरको थप गर्नुभन्दा अहिले १० हजार आइसोलेसन बेड भनेको भए वैज्ञानिक हुन्थ्यो। १० हजार आइसोलेसन बेड सजिलैसँग निर्माण गर्न सकिन्छ।

अहिले आइसियु बेड खोज्नुपर्यो भने ५० ठाउँमा फोन गरेर १० वटा अस्पताल चाहेरर सचिव र मन्त्रीलाई फोन गर्न लगाएमात्र बेड पाइन्छ। मन्त्रालयले कोरोना उपचारका लागि हात उठाइसकेको छ।

यस्तो आइसोलेसन सेन्टरमा अक्सिजन चाहिएको बिरामीलाई मात्र राखेर उपचार दिने हो भने धेरै बिरामी सिरियस अवस्थामा पुग्दैनन्।   जसका लागि त्यति धेरै तालिमप्राप्त जनशक्ति पनि चाहिँदैन। पिसिएल गरेका नर्सले काम गर्न सक्छन्।

तर, सरकारको चाहना हुनुपर्दछ। काठमाडौंभरका पार्टी प्यालेसमा २०–२० वटा बेड हाल्दा १० हजार आइसोलेसन बेड एक हप्तामा निमार्ण गर्न सकिन्छ।
अक्सिजन पाइपमार्फत बेड–बेडमा अक्सिजन पुर्याउन सकिन्छ।

यसका लागि आइसियु बेड नै आवश्यक पर्दैन। यो महामारीमा घर–घरबाट नै स–साना बेड राख्न सकिन्छ। जहाँ सुत्ने र अक्सिजन दिने मात्र नै हो। एक–दुई नर्सले मोनिटरिङ गर्न सक्छन्।

यसरी उपचार गर्दा ७ देखि १० दिनमा संक्रमण निको भएर घर पठाउन सकिन्छ। सिरियस हुँदै गयो भने अस्पताल पठाउने गर्नुपर्दछ। कोभिड आफैले मृत्यु गर्ने भनेको कम नै हुन्छ। तर, अन्य जे रोग भए पनि मृत्यु भएपछि कोभिडमा काउन्ट हुन्छ।

हाम्रोमा अहिले निमोनिया भएर आउने मानिसको संख्या बढ्को छ। कोभिडकै कारणले गर्दा अक्सिजन कम भएर मृत्यु हुनेको संख्या बढेको छ।

अब सरकारले कोरोना उपचारका लागि कस्तो कदम चाल्नुपर्छ तपाईको नजरमा?

अब सरकारले गर्नुपर्ने काम भनेको कोभिडको छुट्टै अस्पताल बनाउनु नै हो। ५ सय बेडको ३–४ वटा बनाउनुपर्दछ। जस्तो मेडिकल कलेज लिन सकिन्छ।  ननकोभिड बिरामी अन्य अस्पतालमा उपचार गर्न सकिन्छ। अहिले पाटनमा १ सय बेड छ भने पूरै अस्पताल लिनुहोस्।

कोरोना अस्पताल छुट्टै बनाइयो भने बिरामीको मुमेन्ट कम हुन्छ। एक बिरामीको उपचार गर्नुपर्यो बेड अभावमा ४–५ अस्पताल चाहानुपर्ने बाध्यता छ। जसले झन् सामुदायिक संक्रमण बढ्छ।

लकडाउनले पब्लिक यातायत पो त बन्द हुन्छ। एम्बुलेन्स बन्द हुँदैन। बिरामी हिँडिहाल्छ। जसले अस्पतालमा संक्रमण गर्छ। त्यसकारण, कोरोनामात्रै उपचार गर्ने अस्पताल भएपछि बिरामी उपचार गर्न त्यहीं अस्पतालमात्र पुग्छ।

त्यसकारण तीनवटा मेडिकल कलेज कोभिडको मात्रै बिरामी राखेर त्यहीका जनशक्तिलाई काममा लगाउन सकियो भने राम्रो हुन्छ। १ हजार ५ सय बेड त एक हप्तामा बन्छ। तिनीहरुमा १५० बेड आइसियु तयार हुन्छ। जनशक्ति पुगेन भने अन्य ठाउँको स्वास्थ्यकर्मीलाई मद्धत माग्न सकिन्छ। त्यहाँ आपतकालीन अवस्थामा डाक्टर चाहियो भने हामी जान तयार छौं।

 

2 thoughts on “कोरोना उपचारमा स्वास्थ्य मन्त्रालय असफल भयो

  1. अति राम्रो बिश्लेशन
    हाम्रो जस्तो भ्रष्ट र कम आय मुलुकका कुशल चिकित्सक तथा अन्य स्वास्थ्य कर्मी हरुले यति गरेको पनि धेरै हो।
    साधारण सुझाव (भ्रम न परोस् भनेर)
    ३०% भेन्टिलेटरमा भनेको:
    १००% को १०% को ३०% भने को १०० जनामा ३ जनालाई भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ र प्रध्यापक सुवास आचार्य अनुसार त्यसमा बाच्ने ०.३ जना (तथ्यांक अनुसार)
    एक अरबको मास्क र साबुन देशको कुना काप्चा मा सितैमा बाडेको भए र युदध स्तरमा जन चेतना जगाएको भए गज्जब हुने थियो कि?

  2. Nice evaluation of situation dr subash. Yes, there is no way government alone can handle the situation. Private medical colleges, non profit hospitals opened in the name of politicians (who used to squeeze crores of rupees from government as donation, hospitals that has been closed because of inability to pay bank loans and as you said party palaces or schools or hostels shoupd be used temporarily for COVID isolation wards. It will reduce load on ICU and venyilayor should be used judiciously for only indicated patients. Hope your suggestions will reach the ears of concerned authorities.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय