वीर बन्ने कोभिड अस्पताल! गरिब बिरामी कहाँ जाने सरकार?

प्रमुख सरकारी ट्रसरी अस्पताल वीरलाई स्वास्थ्य मन्त्रालयले कोभिड अस्पताल बनाउने निर्णय गर्यो। वीरबाट दिँदै आएको अन्य रोगका उपचार सेवालाई ट्रमा सेन्टर निरन्तरता दिने सरकारको तयारी छ।

दैनिक रूपमा कोभिडका बिरामी बढोत्तरी भइरहेको अवस्थामा लामो समय केही नगरी बसेको स्वास्थ्य मन्त्रालयका लागि बनिबनाउ संरचना र जनशक्ति रहेको अस्पताल खाली गराएर कोभिड अस्पताल घोषणा गर्नु पक्कै सजिलो विकल्प थियो।

तर, विपन्न नागरिकको ट्रसरी सेवाको प्रमुख विकल्प वीरलाई कोभिड अस्पताल बनाएसँगै विशिष्टीकृत सेवाका लागि आम बिरामीकहाँ जाने?

मन्त्रीस्तरीय निर्णयसँगै अस्पताल प्रशासनले निर्णय कार्यान्वयनका लागि विभिन्न चरणमा संरचना तयारी, जनशक्तिको व्यवस्थापनका लागि छलफलमा जुटिसकेको जनाएको छ। तर वीरले दिँदै आएको सेवा अन्यत्रबाट दिन र वीरलाई कोभिड अस्पताल बनाउन त्यति सहज छैन, जति सरकारले ठानेको छ।

तर, अधिकांश यस्ता छलफलमा वीरका विभागीय प्रमुख र कन्सल्टेन्ट चिकित्सकहरू सरकारको निर्णय आत्मघाती हुने भन्दै यसको विपक्षमा उभिएका छन्।
कोही पक्ष वा विपक्षमा भन्दा पनि सरकारको निर्णय यसर्थ आत्मघाती र अव्यावहारिक छ।

के पर्छ प्रभाव?
वीर अस्पताल नेपालको पुरानो मात्रै होइन, महँगा सुपर स्पेसियालिटी सेवामा समेत विपन्नभन्दा विपन्न नागरिकको समेत पहुँच भएको एकमात्रै अस्पताल हो।

अहिले पनि निजी वा अन्य सरकारीमै पनि निकै मह“गो रहेका जटिल न्युरो सर्जरी, आइसियु सेवा, यूरो सर्जरी वीरमा निकै सुलभ छ।  बाहिर लाखौं पर्ने न्युरो सर्जरी वीरमा केहीहजारमै संभव छ, त्यस्तै अवस्था परीक्षणदेखि थुपै उपचारमा छ।

सामान्य अवस्थामा दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म बिरामीले ओपिडी सेवा पाउने वीरमा कोभिड महामारीको बीचमा पनि ५ सय हाराहारीमा ओपिडी सेवा लिइरहेका छन्।

दैनिक २५ भन्दा बढी संख्यामा जटिल शल्यक्रिया वीरले दिनसक्छ। अत्यावश्यकीय सेवा नपाएर मर्नुपर्ने अवस्थामा वीर आम बिरामीको पहिलो भरोसा नै हो।

सरकारी नै भनिएपछि त्रिवि शिक्षण अस्पताल, पाटन वा अन्य कुनै अस्पताल वीर जति आम गरिबको पहुँचमा छैन।

उपचारका आधारमा पनि जटिल न्युरो सर्जरी, न्युरो मेडिसिन, युरो सर्जरी, मिर्गौला प्रत्यारोपण, क्यान्सर, ग्यास्ट्रो, कलेजो, बर्न तथा प्लास्टिक, कार्डियो थोरासिस एन्ड भास्कुलर सर्जरीजस्ता विशेषज्ञ सेवाका लागि विपन्नको भरोसा नै वीर हो।

वीर अस्पतालका पूर्वनिर्देशक डा. बुलन्द थापाले सबैभन्दा पुरानो र सबै सेटअप भएको मन्टी स्पेसियालिटी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारी निर्णय अव्यावहारिक र अविवेकी भएको टिप्पणी गरे।

‘कोभिड उपचारका लागियति धेरै बहुविशेषज्ञ सुविधाको संचरना चाहिने पनिहोइन, आइसोलेसन, अब्जरभेसन र आइसियुको तयारी गरेर जुन भवनवा अस्पतालमा संरचना बनाएपछि हुन्छ,’ डा. थापाले भने, ‘सहरको केन्द्रमा रहेको, आमपब्लिकले जानेको र पहुँच पनि भएको अस्पताल नै किन रोजेको?’

अहिले पनि निजी वा अन्य सरकारीमै पनि निकै मह“गो रहेका जटिल न्युरो सर्जरी, आइसियु सेवा, यूरो सर्जरी वीरमा निकै सुलभ छ।  बाहिर लाखौं पर्ने न्युरो सर्जरी वीरमा केहीहजारमै संभव छ, त्यस्तै अवस्था परीक्षणदेखि थुपै उपचारमा छ।

चिकित्सकहरू सरकारको यो गरिबलाई असर पर्ने र निजी अस्पताललाई फाइदा पुग्ने खालको भएको बताउँछन्। डा. थापाले सरकारको यो निर्णयले समयमै उपचार नपाएर अन्य रोगले हुने मृत्युदर अझै बढ्नसक्ने चेतावनी दिए।

उनले पैसा र पहुँच भएकाहरूलक्षित चिकित्सक र अस्पताल खोजेर उपचार लिन सकेपनि विपन्नका सन्दर्भमा वीरलाई ‘डिस्मेन्टल’ गर्ने निर्णय आत्मघाती साबित हुनसक्ने बताए।

सरकारले निर्णय गरेजस्तो ट्रमा सेन्टरबाटै अहिले वीरले दिँदै आएका सेवा उपलब्ध गराउन अव्यावहारिक मात्रै होइन, असम्भव नै हुने चिकित्सकहरू बताउँछन्।

विकल्प नभएको कि नखोजेको?

कोभिड उपचारका लाछि छुट्टै अस्पताल बनाएर, जनशक्ति, उपकरण, आइसियु र भेन्टिलेटरको समेत पुल बनाएर बिरामीको व्यवस्थापन गर्न सकिने विकल्प विज्ञहरूले दिइरहेकै थिए। डा. थापा पनि अहिले भइरहेका थुप्रै अस्पताल वा भवनमा त्यसको सम्भावना देख्छन्।

डा. थापाजस्तै जानकारहरू वीर अस्पतालकै निर्माणको अन्तिम चरणमा रहेको सर्जिकल भवन, वीर अस्पतालको आडमै रहेको त्रि–चन्द्र मिलिटरी अस्पताल भवन, दरबार हाइस्कुलको नवनिर्मित भवन, राजधानीको कुनै पनि मेडिकल कलेजका भवनदेखि ट्रमा सेन्टरलाई नै पनि कोभिड अस्पतालको रूपमा विकास गर्न सकिने सम्भावना देख्छन्।

तर, सरकारले ती संरचनाको विकल्पमा ठोस प्रयत्न नै गरेन।

डा. थापा कोभिडको विशिष्टीकृत उपचार नभएकाले आइसोलेसन बेड बनाएर, अक्सिजन र केही आइसियु व्यवस्थापन गरेर छोटो समयमै अस्पताल बनाउन सकिने बताउँछन्।

‘वीरकै सर्जिकल भवन तयार भएको अवस्थामा इन्टेरियरका कुरा राज्यले सबै शक्ति लगाए १५ दिन या एक महिनामा तयार गर्न सकिहाल्थ्यो नि!,’ डा. थापा थप्छन्।

‘ट्रमा सेन्टर नहुँदा पनि हाडजोर्नी र ट्रमाका बिरामी वीरमै व्यवस्थापन भइरहेकै थियो, अहिले त्यसलाई कोभिड अस्पताल बनाउँदा एउटा सेवा कम्प्रमाइज हुन्थ्यो,’ अस्पतालका एक विभागका प्रमुख भन्छन्, ‘अहिले एउटा ट्रमा सेवा जोगाउन दर्जनौ विशेषज्ञ सेवामा कम्प्रमाइज भयो।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै अंग रहेको वीर ट्रमाको तुलना गर्दा पनि ट्रमा सेन्टरमा रहेका बहुभर्याङ, बलियो र अत्यधुनिक संरचनालगायतका कारणले ट्रमा महत्त्वपूर्ण विकल्प बन्न सक्थ्यो।

‘ट्रमा सेन्टर नहुँदा पनि हाडजोर्नी र ट्रमाका बिरामी वीरमै व्यवस्थापन भइरहेकै थियो, अहिले त्यसलाई कोभिड अस्पताल बनाउँदा एउटा सेवा कम्प्रमाइज हुन्थ्यो,’ अस्पतालका एक विभागका प्रमुख भन्छन्, ‘अहिले एउटा ट्रमा सेवा जोगाउन दर्जनौ विशेषज्ञ सेवामा कम्प्रमाइज भयो।’

तीबाहेक कुनै पनि मेडिकल कलेज वा राम्रो पूर्वाधार भएका निजी अस्पताललाई लिएर पनि सरकारले कोभिड सेवा अस्पताल बनाउन सक्ने विज्ञहरू बताउँछन्। तर, सरकारले व्यवस्थापन गर्नुपर्ने र केही मिहिनेत गर्नुपर्ने बाटो छाडेर सजिलो विकल्प रोजेको छ।

किन सम्भव हुन्न ट्रमाबाट वीरका सेवा?

स्वास्थ्यको लाइनमिनिस्ट्री स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गर्दै गर्दा वीरबाट उपलब्ध सेवा ट्रमाबाट दिने राजनीतिक निर्णय गर्यो।

तर, कागजी निर्णयका भरमा मात्रै सबै सेवा स्थानान्तरण सम्भव छैन भन्ने ख्यालै गरेन वा बेवास्ता गरियो। यो निर्णयको सबैभन्दा ठूलो असर शल्यक्रिया सेवामा पर्नेछ। वीरमा न्युरो, कार्डियोथोरासिस, यूरोलगायतका विशिष्टीकृत सेवाका लागि त्यहीअनुसार शल्यकक्षको सेटअप छ।

कागजमा सेवा सार्ने निर्णय गरेको भरमा संवेदनशील उपकरण सारेर सेवा दिन कडिन हुने यूरो सर्जरी विभागका प्रमुख डा. पारस श्रेष्ठको भनाइ छ। युरो सर्जरी युनिटले मात्रै सामान्य अवस्थामा सातामा सातै दिन इलेक्टिभ सर्जरी र एक दिन प्रत्यारोपण सर्जरी गर्दै आएको छ।

‘ट्रमामा सातामा एक दिन हाम्रो विभागले पालो पाउला दिन दिनको सेवा कसरी एक दिनमा दिन सकिन्छ?,’ डा. श्रेष्ठ प्रश्न गर्छन्। उनी करोडौं पर्ने लेजर जस्ता उपकरणसमेत सार्न नमिल्ने हुँदा सर्जरीको तरिकासमेत परम्परागत गर्नुपर्ने बताउँछन्।

निर्देशक भन्छन्– अन्डर युजिलाइज्ड थियो

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी वीरमा सबै सेवा भए पनि ५ महिनादेखि अधिकांश क्षमताको पूर्ण प्रयोग हुन नसकेको भन्दै त्यही भएर सरकारको आग्रह स्वीकारेको बताउँछन्।

‘यति धेरै बेड, संचरना र जनशक्ति अहिले अन्यत्र कहाँ जोहो गर्ने, वीरको क्षमता प्रयोग गरिदिनुपर्यो भनेर सरकारले भनेपछि हामीले पनि हुन्छ नि त भनेका हौं,’ डा. सेन्चुरीले भने।

अन्य चिकित्सक भने वीरको सेवा कम्प्रमाइज हुनुमा व्यवस्थापन नै कमजोर रहेको बताउँछन्। ‘कोभिड स्क्रिनिङ, पर्याप्त व्यक्तिगत सुरक्षा सामग्री व्यवस्थापन र

स्वास्थ्यकर्मीको परीक्षण र क्वारेन्टाइनको उचित प्रबन्ध गर्न सकेको भए वीरको सेवा कम्प्रमाइज हुन्थेन,’ अस्पतालका एक चिकित्सक भन्छन्। डा. सेन्चुरीले भने अहिले सर्वसाधारण बिरामी पाइरहेका सेवाहरूलाई ट्रमा सेन्टरको संरचनाबाट निरन्तरता दिन सम्भव भएको दाबी गरे।

‘जाइकाको सहयोगमा बनेको नयाँ भवनलाई आइसोलेसन बनाउन सकिन्छ, नयाँ पुरानो सबै आइसियुमा उपकरण ल्याएर थप्न सकिन्छ,’ उनले भने, ‘अहिले वीरमा जति सजिलो गरी कोभिडका बिरामी व्यवस्थापन गर्न सकिने ठाउँ छ, त्यति सजिलोसँग अन्यत्र नहुने भएरै सरकारले यो निर्णय गरेको हो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय