रुपन्देहीमा स्थानीय तहको लापरबाहीले ८३१९ बालबालिका खोपबाट बन्चित

तस्वीरमाः खोप लगाउन बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बच्चा लिएर पालो कुरिरहेका आमाहरु ।

कोरोना बिरुद्दको खोपको आवश्यकताको चर्चा चलिरहदा रुपन्देहीका स्थानीय तहले भने बालबालिकालाई लगाउने खोप नै लगाउनमा लापरबाही गरेको छन् । जिल्लाका अधादर्जन स्थानीय तहले सरकारकै निर्णयलाई मिच्दै बालबालिकालाई खोपको सेवा नदिई बसेका छन्।

संघिय र प्रदेश सरकारको निर्णय नमानि खोप सेवा बन्द गर्दा रुपन्देहीका ६ पालिकाका ८३१९ बालबालिका खोपलगाउने अधिकारबाट बन्चित भएका छन् । रुपन्देहीमा एक उपमहानगर, ५ नगरपालिकासहित १६ वटा स्थानीय तह छन् ।

त्यसरी खोपको सेवा बन्द गर्नेहरुमा तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, कंचन गाउँपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिका गरी ६ स्थानीय तह रहेका छन् । ति स्थानीय तहले कोरोनाको कारण जनाउँदै खोप सेवा बन्द गराएका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा २५१४ जना, सैनामैना नगरपालिकामा १४२६ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १७८७ जना, कंचन गाउँपालिकामा ८२२ जना, रोहिणी गाउँपालिकामा ९१९ जना र ओमसतिया गाउँपालिकामा ८५१ जना गरी ८३१९ जना खोप उमेरका बालबालिका छन् । ति स्थानीय तहले भाद्र महिनामा लगाउनुपर्ने खोप नलगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

उनका अनुसार तिलोत्तमा, लुम्बिनी साँस्कृतिक, रोहीणी र ओमसतियाको मासिक खोप तालिका हरेक महिनाको १९ देखि २३ गते लगाउनुपर्ने हो भने सैनामैना र कंचनको खोप तालिका हरेक महिनाको १० देखि १४ गते सम्मको रहेको छ।

खोप सेवा पालिकाभित्र बन्द भएपछि त्यहाँका केही आमाबाबुले बालबालिकालाई खोपका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसम्म ल्याउने गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालभा भेटिएकी तिलोत्तमा नगरपालिकाको योगीकुटीकी सरिता न्यौपानेले नजिकको स्वास्थ्य चौकीमा खोप बन्द भएपछि १ बर्षको छोरालाई खोपका लागि ल्याएको बताइन ।

खोप बन्द छ भन्नुभयो त्यसपछि यहाँ खुलेको छ भनेर आयौं श्रीमानको साथमा आएकी सरिताले भनिन् । उनले घरनजिकको खोप बन्द भई बुटवलसम्म आउँदा कोरोनाको संक्रमणको जोखिम भएको बताइन ।

लुम्बिनी प्रादेशिक अस्प्तालकी खोप शाखाकी नसिंह अधिकृत कान्ति पाण्डेले सबै पालिकाहरुले खोप कार्यक्रम नचलाउँदा आफुहरुलाई लोड थपिएको बताइन ।

हामीकहाँ छिमेकी पालिकाहरुबाट खोपका लागि बच्चा ल्याउने गर्नुभएको छ उनले भनिन्, भीड हुँदा व्यक्तिगत दुरी कायम गर्नका लागि निकै कठिन भएको छ । खोप लगाउनेको भीड हुदा गर्मीको समयमा लामो समयसम्म पिपिई लगाउनु परेको उनले बताइन ।

तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका ईश्वरी पौडेलले भने कोरोनाको संक्रमण समुदायमा उच्च फैलिएकोकारण नियमिति खोप एक महिना रोकेको बताए । तर तिलोत्तमा नगरपालिकामा कुनै स्वास्थ्यकर्मीलाई कोरोना संक्रण नदेखीएको पौडेलले बताए ।

पौडेलका अनुसार कोरोना संक्रमण देखीएपछि बैशाख महिनामा पनि तिलोत्तमामा खोप सेवा बन्द गरिएको थियो । तिलोत्तमामा २६ वटा खोप केन्द्रहरु रहेका छन् । सैनामैनामा पनि समुदायस्तरमा कोरोना संक्रण फैलिएपछि नियमित खोप रोकेको सैैनामैना नगरपालिका स्वाथ्य संयोजक हेमराज पन्थीले बताए ।

स्वास्थ्यका अधिकारीहरु भने नियमित रुपमा लगाइने खोप रोक्न नहुने बताउँछन् । खोप तालिका अनुसार खोप नलगाउँदा त्यसले गर्ने काम प्रभावकारी नहुने उनिहरुको भनाई छ । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले खोप तालिका अनुसार खोप नलगाउँदा त्यसको प्रभावकारीता घट्न सक्ने बताए ।

उनले पालिकाहरुलाई खोप कार्यक्रम नियमित गर्नका लागि भनेको भएपनि जिल्लाका ६ पालिकाहरुले कोरोनाका कारण देखाउँदै खोप कार्यक्रम बन्द गर्ने निर्णय गरेको बताए । उनका अनुसार नेपाल सरकारले बिभिन्न रोग बिरुद्द १२ वटा खोप लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय