मानसिक समस्या समाधानका लागि मनोचिकित्सकको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला बढ्दै गएको मनोसामाजिक समस्यालाई सम्बोधन गर्नका लागि तत्काल योजना बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
मंगलबार बालुवाटारमा मनोचिकित्सहरुसँगको परामर्शमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
त्यसक्रममा चिकित्सकहरुले मानसिक स्वास्थ्य नीतिलाई मन्त्रिपरिषद्बाट पास गराउन, मानसिक स्वास्थ्यमा काम गर्ने स्वास्थ्यकर्मीको तालिमको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएका थिए।
त्यस्तै मानसिक अस्पताललाई प्रदेश स्तरसम्म विस्तार गर्न प्राइभेट मानसिक अस्पताललाई प्रोत्साहन गर्न, स्कुलतहको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई राख्न पनि चिकित्सकहरुले सुझाव दिएका थिए।
छलफलमा सहभागी मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार प्रधानमन्त्रीले आम नागरिकलाई मानसिक रुपमा स्वस्थ राख्नका लागि मनोचिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
त्यस्तै प्रधानमन्त्रीले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए।
छलफलका क्रममा प्रधानमन्त्रीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न समेत मनो चिकित्सकहरूको विशेष योगदान हुदैँ त्यही अनुसार काम गर्नको लागि आग्रह गरेका थिए।
कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउन मनोचिकित्सकहरूले सक्रिय योगदान गर्ने अनुरोध गरेका थिए।
छलफलमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए।
