कोरोना उपचारमा डा. सुदर्शनले चलाएको ‘सुदर्शनचक्र’

कोरोना भाइरसले संसार आतंकित बनाइरहेको थियो। नेपालमा देखिएका केही संक्रमितको व्यवस्थापन नै चुनौतीपूर्ण बनिरहेको थियो।

विदेशबाट फर्किएका जनशक्तिमा केन्द्रित संक्रमणले खासै जटिल रूप लिएको थियो। प्रदेशकै उपचारको प्रमुख भरोसा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले पनि सामान्य तयारी गरिरहेको थियो।

वैशाख १९ का दिन अत्यन्तै जटिल अवस्थाका संक्रमित अस्पतालमा भर्ना भए। लक्षणविहीन संक्रमितको व्यवस्थापन गरिरहेको अस्पतालमा एकैपटक भेन्टिलेटर नै चाहिने अवस्थाका संक्रमित आउँदा ‘अब के गर्ने, कसो गर्ने’ भयो।

एउटा चिकित्सकको पेसागत धर्म कुनै बिरामीको गम्भीर अवस्थाबाट भाग्नु थिएन। त्यसको जसरी पनि सामना गर्नु थियो।

लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन एवं मेडिकल विभाग प्रमुख डा. सुदर्शन थापा सम्झन्छन्, ‘हामीले सम्भव भएका सबै उपचार सुरु गर्यौं।’

तत्काल भेन्टिलेटरमा हालेको बिरामीको सघन उपचार सुरु भयो। केही दिनपछि बिरामीको अवस्था सुधार आयो। त्यो घटना नै कोभिड उपचारको सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पताल र सिंगो प्रदेश ५ का लागि एउटा कोसेढुंगा बन्यो।

त्यसले बिरामीका लागि नयाँ जीवन दियो, भने चिकित्सक, स्वास्थ्यकर्मी र नर्सका लागि प्रयास गर्दा कोभिडबाट गम्भीर अवस्थाका बिरामीलाई पनि बचाउन सकिन्छ भन्ने महसुस गरायो। त्यसले सम्पूर्ण टिमलाई मनोबल प्रदान गर्योे।

अघिपछि डाक्टर आयो भनेर खुसी व्यक्त गर्ने र सद्भाव जनाउनेहरू नै अहिले टाउको बटारेर हिँड्छन्। ‘डाक्टर, नर्स स्वास्थ्यकर्मीहरू आफ्नो ज्यान जोखिममा राखेर उपचारमा जुटेका छन्, तर त्यही व्यक्तिहरूलाई समाजले हेर्न दृष्टिकोण देखेर अचम्म लाग्छ,’ डा. थापाले भने।

तर कोभिड–१९ उपचारको भरोसा बनेको प्रदेश ५ कै उपचारमा भरोसा बनेका छन् डा. सुदर्शन थापा।

केही दिनअघि प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. उमाशंकर चौधरीले आइसियु बेडबाटै फेसबुकमा स्टाटस राखे। त्यो स्टाटसमा उनले डा. थापा र उनको टिमले गरेको उपचारलाई ‘सुदर्शन चक्र’को संज्ञा दिए। जुन चौधरीको जीवनरक्षाका लागि रामवाण साबित भयो।

यो त निर्देशक चौधरीको सावजनिक छविका कारण बाहिर देखिएको एउटा प्रशंसाको सानो उदाहरणमात्रै हो।

उनीजस्तै कोरोना संक्रमणबाट गम्भीर बनेर मृत्यु नजिक पुग्दै नयाँ जीवन पाएको अनुभूति साँचेकामाथि डा. सुदर्शन थापाले साँच्चै उपचाररुपी सेवाको सुदर्शन चक्र फाल्दा मृत्युको मुखबाट फर्किएका छन्।

त्यो अवस्था ल्याउन डा. थापा र उनका सहकर्मीले धेरै पसिना बगाएका छन्। उनीहरूले छोराछोरी र परिवारसँगै व्यक्तिगत जीवनलाई त्यागेका छन्।

आठ वर्षको सरकारी सेवामा डा. थापाले विभिन्न ठाउँमा सेवा गरे। पछिल्लोपल्ट उनी सरुवा भएर लुम्बिनी प्रादेशिक अस्पताल गएका हुन्। सरुवा भएको ६ महिनामात्रै बितेको छ।

सहकर्मीसँग घुममिल हुने, बिरामी तथा सेवाग्राहीसँग सम्बन्ध सुरु गर्दै थिए। त्यही बीचमा चीनमा नयाँ खालको भाइरस देखिएको खबर बाहिरिन थाल्यो। विस्तारै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा फैलिन सक्ने चेतावनी दिन थाल्यो।

एउटा अनुभवी फिजिसियनका रूपमा यसले निम्त्याउन सक्ने परिस्थितिका आँकलन उनी राम्ररी गर्न सक्थे। तर, सिंगो सरकारले त्यसको बोध गरेर काम सुरु गर्न अलि समय लाग्यो। ठोस रूपमा केही गर्न नसके पनि उनी अन्तर्राष्ट्रिय मिडिया र जर्नलहरूमा यो विषयमा पढ्दै र बुझ्दै थियो। त्यही दौरानमा अस्पतालमा पनि तीनवटा क्याबिनलाई आइसोलेसन बनाइयो।

भारतसँग सीमाना जोडिएको जिल्ला भएको प्रदेश ५ मा संक्रमित थपिँदै गएपछि प्रदेश सरकारले भिन्न संरचना बनाउन बन्द अवस्थामा रहेको धागो कारखानालाई छान्यो। त्यसमा ३६ वटा आइसोलेसन बेड तयार भयो। विस्तारै त्यसमा १० वटा आइसियू बेड राखियो।

बिस्तारै उपचारका लागि संरचना र सामग्रीको जोहो हुँदै गयो। रोगको त्रास जनतामा मात्रै होइन, चिकित्सक र स्वास्थ्यकर्मीमा पनि उत्तिकै थियो। सुरुमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) कै अभाव थियो। त्यसको प्रयोगमा पनि अप्ठ्यारो। ‘सुरुसुरुमा पिपिई लगाउनका लागि २० देखि मिनेट ३० सम्म लाग्थ्यो,’ डा. थापाले सुनाए, फुकाल्नलाई करिब त्यति नै समय लाग्थ्यो।’

चैत, वैशाखको गर्मी। राउन्ड लिएर नफर्किदै पूरै शरीरभित्रका कपडा भिजिसक्थ्यो। पिपिईमा अभ्यस्त नभएको अवस्थामा शरीर नै केहीले च्यापेर राखेजस्तो हुन्थ्यो, तर बिस्तारै बानी पर्दै गयो। पिपिई लगाउन, खोल्न मात्रै होइन दिनभर लगाएरै बस्न पनि खासै अप्ठ्यारो महसुस हुन छाड्यो।

‘अब अप्ठ्यारोभन्दा निको हुने बिरामीको अनुहारमा देखिने खुसीले काम गर्ने जाँगर दियो र दुःख बिर्सायो,’ डा. थापा सम्झन्छन्।

धेरै अप्ठ्यारो परिस्थितिमा पनि उनले आफू डाक्टर बन्नुको अर्थ सम्झे। त्यही कुराबाट मन दह्रो बनाए।

सानो छँदा उनको गुल्मीस्थित गाउँमा स्वास्थ्य सुविधा थिएन। उनका बुबा बिरामी हुँदा अस्पताल गइरहनुपर्थ्यो। त्यतिबेलै उनको बाल मस्तिष्कमा डाक्टर बनेर सेवा गर्ने सपना बुनिएको थियो।

‘बुवाले पनि जहिले डाक्टर बन्नू है बाबु भन्नुहुन्थ्यो, त्यही कुराले मलाई रातदिन सेवा गर्न प्रेरित गरिरहन्छ,’ डा. थापाले सुनाए।

परिवार र दैनिकी
गुल्मी स्थायी घर भएका डा. थापाको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। सिंगो परिवार उनीसँग अस्पतालकै क्वाटरमा बस्दै आएको छ। दिनरात संक्रमितको उपचारमा लाग्नुपर्ने डा. थापा आफू जोखिम मोलेरै काम गर्नुपरे पनि सकेसम्म परिवारलाई कसरी जोगाउने चिन्तामा हुन्छन्।

कामबाट फर्किनासाथ अँगालोमा बेरिन आउने छोराछोरीसँग एउटा एउटा बहाना बनाएर टाढा बस्नुपरेको छ। संक्रमण बढेसँगै आमालाई गुल्मीस्थित घरमा पठाएका थापा श्रीमती र छोराछोरीसँग टाढा रहन सेल्फ क्वारेन्टाइनका रूपमा छुट्टै कोठामा बस्छन्।

‘आमा सुगर र मुटुको रोगी हुनुहुन्छ, दीर्घरोगीमा बढी असर हुन्छ, म अस्पताल पनि जानैपर्छ, कमजोर हुनेलाई चाँडै संक्रमण हुनाले आमालाई घर पठाएँ,’ उनले भने।
अस्पतालको कामबाट बिदा नलिएको ६ महिना भइसक्यो।

एउटै फ्ल्याटमा बसेर पनि उनलाई परिवारसँग टाढा भएजस्तो भएको छ। ‘एकै ठाउँमा बसेर पनि ११ वर्षको छोरी अनि ५ वर्षको छोरा छुन पाएको छैन,’ उनी भन्छन्, ‘बाबु (छोरा) नजिक आउँलन म टाढा भाग्छु, बाबाको काम छ है भनेर टार्ने गर्छु।’

चैत, वैशाखको गर्मी। राउन्ड लिएर नफर्किदै पूरै शरीरभित्रका कपडा भिजिसक्थ्यो। पिपिईमा अभ्यस्त नभएको अवस्थामा शरीर नै केहीले च्यापेर राखेजस्तो हुन्थ्यो, तर बिस्तारै बानी पर्दै गयो। पिपिई लगाउन, खोल्न मात्रै होइन दिनभर लगाएरै बस्न पनि खासै अप्ठ्यारो महसुस हुन छाड्यो।

कोरोनाका फोकल पर्सन पनि रहेका उनलाई इन्डोर र ओपिडी सबैतिर खट्नुपर्ने बाध्यता छ। कम्तीमा तीन घण्टा बिरामी हेरेर फर्केपछि पिपिई फुकालेर नुहाइधुवाइ गरेपछि मात्र आफू बाहिर निस्कने गरेको उनी सुनाउँछन्।

‘पहिला पहिला त १४ दिन काममा खटेर १४ दिन क्वारेन्टाइमा बस्ने गरेका थियौं, तर अहिले उपकरणहरू सरसफाइमा धेरै ध्यान दिने र पिसिआर रिपोर्ट आउनासाथ फेरि अर्को चरणको उपचार चक्रमा जुटिहालिन्छ,’ डा. थापाले भने।

सावधानी, सचेतना र संयोगले गर्दा पनि होला अहिलेसम्म उनका टिममा कोही सदस्य संक्रमित हुनुपरेको छैन।

समाजको व्यवहार

सुरक्षा सामग्री, जनशक्तिको चरम अभावका बीचमा ज्यानै जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीप्रति समुदायले गरेको व्यवहारले सुदर्शनको मन पनि दुख्छ।

महामारीका सुरुवातकै चरणमा उनी मोबाइल बिग्रिएर बनाउन बजार गएका थिए। ‘साहुजीले मुख बिगारे, मेरो मन दुख्यो,’ उनले सुनाए।

अघिपछि डाक्टर आयो भनेर खुसी व्यक्त गर्ने र सद्भाव जनाउनेहरू नै अहिले टाउको बटारेर हिँड्छन्। ‘डाक्टर, नर्स स्वास्थ्यकर्मीहरू आफ्नो ज्यान जोखिममा राखेर उपचारमा जुटेका छन्, तर त्यही व्यक्तिहरूलाई समाजले हेर्न दृष्टिकोण देखेर अचम्म लाग्छ,’ डा. थापाले भने।

उनी थप्छन्, ‘नबुझ्ने त गरे ठीक छ भनिन्छ, तर बुझेका पढेलेखेका मान्छेको व्यवहार पनि त्यस्तै छ, त्यसले पो धेरै दुःख लाग्छ।’

अस्पतालभित्रै पनि सुरुमा कोरोना अस्पतालको बिरामी हेर्ने डाक्टर भनेपछि मानिसहरू अलि परपर भाग्थे, अहिले भने सबैले बुझिसकेको उनले महसुस गरेका छन्।

लुम्बनी प्रादेशिक अस्पतालमा कोरोनाका बिरामी धेरै निको भएको डा. थापा बताउँछन्। ओपिडीका साथै कोरोना पोजेटिभका बिरामीहरू पनि हेर्नुपर्ने भएको हुनाले उनलाई धेरै भ्याइनभ्याई हुन्छ।

3 thoughts on “कोरोना उपचारमा डा. सुदर्शनले चलाएको ‘सुदर्शनचक्र’

  1. डा थापा र वाहाको टीमले गरेको सेवा साचैको सरहानिय हो । कोरोना रोगी उपचारमा जीवन जोखिम मोलेर गरेको मात्र नभैई आफ्नो परिवारको माया ममता र त्रास समेत त्यागेर गरेको फल जरुर पाउनु हुनेछ बिश्वश छ । समाजको केहिले गरेका व्यबहारलाई अपबादको रुपमा लिएर अगाडी बढ्नु हुनेछ भन्ने लाग्द छ । मानव सेवा नै माधव सेवा हो ।

  2. यसमा डा. सुदर्शनको जन्मस्थान जन्मदिने बाबा जो गहुंवाली बिशेशज्ञ हुनुहुन्थ्यो (हाल स्वर्गे भईसक्नु भो) पारिवारिक पृष्टभुमि पनि उल्लेख भएको भए अहिलेको पीढिलाई यौटा अध्ययनको लागि उर्जा हुनेथियो र हामी गाउका छिमेकीलाई गौरव पनि हुनेथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय