कर्णालीमा १९ भेन्टिलेटरसहित ५० आइसियु थप

कर्णालीमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि प्रदेशका विभिन्न जिल्लामा आइसियु (सघन उपचार कक्ष) र भेन्टिलेटर थप गरिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा १९ भेन्टिलेटर र ५० आइसियु थप गरेको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका महाशाखाका प्रमुख वृषबहादुर शाहीले भने, ‘कर्णालीमा भेन्टिलेटर र आइसियुको संख्या थपिएको छ। कोरोनाको जोखिम मध्यनजर गर्दै भेन्टिलेटर र आइसियुको संख्या थपिएको हो।’

हाल प्रदेशमा भेन्टिलेटरको संख्या २६ र आइसियुको संख्या ६२ पुगेको छ।

सबैभन्दा धेरै संख्यामा सुर्खेतमा रहेको प्रदेश अस्पतालमा १० थान भेन्टिलेटर र २५ वटा आइसियु छन्।

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने ६ थान भेन्टिलेटर र १० वटा आइसियु छ।

जिल्लाहरुमा भेन्टिलेटर तथा आईसियुको व्यवस्थापन तथा विस्तार भए पनि त्यहाँ जनशक्तिको भने अभाव नै छ।

दैलेखमा दुई भेन्टिलेटर र पाँच आइसियु, जाजरकोटमा एक भेन्टिलेटर र दुई आइसियु, सल्यानमा एक भेन्टिलेटर र दुई आइसियु, हुम्लामा दुई भेन्टिलेटर र पाँच आइसियु, मुगुमा एक भेन्टिलेटर र दुई आइसियु, कालिकोटमा दुई भेन्टिलेटर र पाँच आइसियु पुगेको छ।

रुकुममा एक भेन्टिलेटर र ६ आइसियु छ।

रुकुममा थप गरिएको आइसियुमध्ये चारवटा रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकामा विस्तार गरिएको हो।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख शाहीले प्रदेशमा कोभिड–१९ का संक्रमित बढ्दै जान थालेपछि मन्त्रालयले अस्पतालमा भेन्टिलेटर र आइसियु थप गरेको जनाए।

उनले भने, ‘संक्रमित कसैलाई तत्काल भेन्टिलेटर वा आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा थप सहज हुनेछ।’

जिल्लाहरुमा भेन्टिलेटर तथा आईसियुको व्यवस्थापन तथा विस्तार भए पनि त्यहाँ जनशक्तिको भने अभाव नै छ।

उनले भने, ‘उपकरणहरुका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ। भेन्टिलेटर सञ्चालन गर्न सक्नेलगायतका दक्ष जनशक्तिलाई थप तालिम दिएर हामी जिल्लामा पठाउने तयारी गरिरहेका छौं, केही हप्तामै उनीहरु सम्वन्धित स्थानमा पुगिसक्ने छन्।’

यसअघि प्रदेशमा जुम्ला, सुर्खेत र दैलेख जिल्लामा मात्रै आइसियु र भेन्टिलेटरको व्यवस्था थियो। यसअघि प्रदेशभर सात भेन्टिलेटर र १२ आइसियु थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय