४० हजार नर्स बेरोजगार, ३० प्रतिशत दरबन्दी रिक्त, १६ हजार अझै अपुग

पुष्पराज चौलागाईं/काठमाडाैं
प्रकाशित
२०७७ भदौ २२ गते १३:२५

देश कोरोना भाइरसको महामारीसँग लड्दै गर्दा ठूला सरकारी अस्पतालले नै स्वास्थ्य जनशक्तिको अभाव बेहोरिइरहेका छन्। त्यसमा पनि भर्ना भएका बिरामीलाई स्याहार र हेरचाहमा चौबिसै घण्टा खटिनुपर्ने नर्सिङ जनशक्तिको चरम अभाव छ।

तर, मापदण्डअनुसार अपुग रहेकै अवस्थामा सरकारी सेवामै रहेका नर्सको दरबन्दीमध्ये अहिले पनि ३० प्रतिशत रिक्त छ।

दिनानुदिन अस्पतालमा कार्यरत स्वास्थ्य जनशक्तिमा संक्रमण पुष्टि भएसँगै धेरै नर्स तथा स्वास्थ्यकर्मी क्वारेन्टाइन र आइसोलेसनमा बस्नुपरेको अवस्थामा काम गर्ने मान्छेको अभावमा थुप्रै अस्पतालमा स्वास्थ्य सेवाप्रवाह नै प्रभावित बनेको छ।

यस्तो हाहाकारको समयमा पनि सरकारको ध्यान भने पदपूर्तिमा छैन। स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांकअनुसार स्वास्थ्य सेवामा देशभर १४ हजार ९९ सय दरबन्दी छ। यो पनि २७ वर्ष पुरानो दरबन्दी संरचनाअनुसारको पद हो।

२७ वर्षपछि आवश्यकता धान्नेगरी दरबन्दी संरचना बढाउनतिर ध्यान नगएको मात्रै होइन, भएकै दरबन्दी पूर्ति गर्नसमेत छैन।

महाशाखाका अनुसार अहिले नर्सिङतर्फ कुल दरबन्दीमध्ये ४ हजार ३ सय ६४ अर्थात ३०.९५ प्रतिशत दरबन्दी रिक्त रहेको छ। जबकि नेपाल नर्सिङ संघका अनुसार देशभर ४० हजारभन्दा बढी नर्स बेरोजगार छन्।

२७ वर्षमा देशको जनसंख्या र बिरामीको चाप अत्यधिक भइसक्दा पनि बिरामीको सेवामा खटिने नर्सिङ जनशक्ति भने पुरानै कायम रहँदा स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष असर पुगेको छ।

नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हाल देशमा पिसिएल पास गरेका नर्सिङ जनशक्ति ६० हजार ७ सय ९५ बजारमा उपलब्ध छ। त्यसैगरी, अनमीको संख्या ३३ हजार ७ सय २४ छ भने विदेशी नर्सको संख्या ८ सय ४४ छ। यसरी हेर्दा देशमाकुल ९५ हजार ३ सय ६३ नर्सिङ जनशक्ति काउन्सिलमा दर्ता भएका छन्।

नेपाल सरकारको स्वास्थ्यसंस्था सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकामा स्पष्ट रूपमा बिरामीको अवस्थाअनुसार नर्स–बिरामी अनुपात तोकिएको छ, जसमा जनरल वार्डमा ५ देखि ६ बिरामीबराबर एक नर्स हुनुपर्ने प्रावधान छ ।

त्यसैगरी, हाइडिपेन्टिक वार्डमा २ बिरामीबराबर एक नर्स र क्रिटिकल केयरमा एक बिरामीबराबर एक नर्स हुनुपर्छ । त्यस्तै, डेलिभरी गराउने ठाउँमा एक बिरामीबराबर २ जना नर्स र अप्रेसनमा एक बिरामीबराबर ३ जना नर्स हुनुपर्ने मापदण्ड छ ।

बिरामी संख्यामात्र नभई स्वास्थ्य समस्या, स्वास्थ्य संस्थाका बेड संख्यालगायत थपिए पनि नर्सिङ जनशक्ति पुरानै हुँदा एक नर्स मापदण्डको कयौ गुणा बढी बिरामीको रेखदेखमा खटिनुपर्ने बाध्यता छ।

तर, सरकारले बेरोजगार संख्यालाई काम दिन त परै जाओस् आफूसँग भएको दरबन्दीसमेत परिपूर्ति गर्न सकेको छैन।

लोकसेवा नखुलेको कारणले दरबन्दी रिक्त रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

मन्त्रालयका सह–सचिव रघुराम विष्टले संघीय सरकारका लागि रिक्त दरबन्दीको परिपूर्ति गर्न लोकसेवा तयारी भइरहेको बताए।

‘संघमा ठूलो संख्यामा दरबन्दी खाली रहेको छैन। समायोजन नसकिएको भन्दै स्थानीय तहले स्वास्थ्य जनशक्तिको विज्ञापन गरेका छैनन्,’ विष्टले भने, ‘यस्ता यस्तै कारणले दरबन्दी रिक्त भएको हो। हामी चाँडै नै परिपूर्ति गर्ने तयारीमा जुटेका छाैं।’

सरकारले ०५० सालमा निर्धारण गरेको दरबन्दी संख्यालाई हाल सरकारले ‘ओएनएम’ सर्वेमार्फत जनशक्ति थप गर्दै छ।

संंघीय अस्पताल लागि थप जनशक्तिको विषयमा छलफलकै क्रममा रहेको सह–सचिव विष्ट बताउँछन्।

‘स्थानीय तहमा रहेका ५–१०–१५ बेडका अस्पतालका लागि कति जनशक्ति आवश्यक पर्ने मापदण्ड तोक्छौं। मापदण्ड स्वीकृत गरेर स्थानीय तहमा पठाउने तयारी भएको छ, विष्ट भन्छन्, ‘त्यति बराबरको जनशक्ति सर्सत अनुदान पठाउँछौं।’

मापदण्डअनुसार १६ हजार बढी नर्स आवश्यक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्युनतम सेवा मापदण्ड अनुसार नर्सिङ महाशाखाले ५ शैय्यादेखि १ हजार बेडसम्म के–कति नर्स तथा मिडवाइफ चाहिने भनेर तथ्यांकआँकलन गरेको छ।

जसअनुरुप हाल भएको दरबन्दीमा थप १६ हजारभन्दा नर्स तथा मिडवाइफ आवश्यक पर्ने महाशाखा प्रमुख रोशनी तुईतुई बताउँछिन्।

नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हाल देशमा पिसिएल पास गरेका नर्सिङ जनशक्ति ६० हजार ७ सय ९५ बजारमा उपलब्ध छ। त्यसैगरी, अनमीको संख्या ३३ हजार ७ सय २४ छ भने विदेशी नर्सको संख्या ८ सय ४४ छ। यसरी हेर्दा देशमाकुल ९५ हजार ३ सय ६३ नर्सिङ जनशक्ति काउन्सिलमा दर्ता भएका छन्।

यसमध्ये ४० हजारभन्दा बढी नर्स बेरोजगार रहेको काउन्सिलको तथ्यांक छ।

सरकारी मापदण्डअनुरूप सबै सरकारी स्वास्थ्य संस्थाहरूमा नर्सिङ जनशक्ति उपलब्ध गराउने हो भने समग्रमा ३१ हजारभन्दा बढी नर्स आवश्यक पर्ने देखिन्छ।
बिरामीको अनुपातमा नर्स पुर्याउन सकियो भने मात्र गुणस्तरीय सेवा दिन सकिने तुइतुई बताउँछिन्।

‘सरकारले २७ वर्षपछि जनशक्ति थप गर्ने तयारीमा रहेको छ। अबको केही वर्ष जनशक्ति थप नहुन सक्छ,’ तुईतुई भन्छिन्, ‘मन्त्राललयले अहिले जनसंख्या, स्वास्थ्य समस्यालाई मध्यनजर गरेर मापदण्डअनुसार जनशक्ति थप गर्नुपर्दछ।’

५ सयदेखि १ हजार शैय्यासम्मको अस्पताललाई नर्सिङ जनशक्ति कति?

महाशाखाले तयार आँकलन गरेअनुसार ५ शैय्याको बेडको अस्पतालका लागि विभिन्न पदका ८ जना नर्स तथा मिडवाइफ आवश्यक पर्छ।

त्यसैगरी, १० शैय्याका लागि १० जना, १५ शैय्याका लागि २४ जना, २५ शैय्याका लागि ३९ जना, ५० शैय्याका लागि १०४ जना, सय शैय्याका लागि १८९ जना, २ सय शैय्याका लागि ३ सय ५४ जनार ३ सय शैय्याका लागि ५ सय २ जना नर्स तथा मिडवाइफ आवश्यक पर्छ।

क्रमशः ४ सय शैय्याका लागि विभिन्न तहका ६ सय ६९ जना, ५ सय शैय्याका लागि७ सय ८७ जना, ६ सय शैय्याका लागि ८ सय १३ जना,७ सय शैय्याका लागि १ हजार ७५ जना, ८ सय शैय्याका लागि १ हजार २ सय १५ जना नर्स तथा मिडवाइफ आवश्यक पर्ने जनाएको छ।

‘देशकै नाम चलेका ठूला सरकारी अस्पतालमा एक नर्सले ४०–५० बिरामी हेर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष राई भन्छिन्, ‘सर्भे भएपछि नर्सको जनशक्ति बढेसँगै काममा पनि केही राहत पाउँछन् कि?’

९ सय शैय्याका लागि १ हजार ४ सय २६ जना र हजार शैय्याका लागि १ हजार ६ सय ८५ जना नर्सिङ जनशक्ति आवश्यक पर्ने महाशाखाको आँकलन छ।

त्यसैगरी विशिष्टिकृत अस्पतालका लागि नर्सिङ जनशक्तिको आँकलन गरिएको छ।

त्यसअनुसार ५० शैय्याको सरूवा रोग अस्पतालका लागि ७० जना, ३ शैय्याको सरूवा अस्पतालको लागि ३ सय ३८जना, ३ सय शैय्याको बाल अस्पतालका लागि ४ सय ८९जना, ५ सय शैय्या बाल अस्पतालका लागि ७ सय १६जना र ५ सय शैय्या मातृ तथा शिशु अस्पतालको लागि ८ सय २ जना नर्सिङ जनशक्तिको आवश्यक पर्ने महाशाखाले जनाएको छ।

‘कुनै पनि बिरामीको अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन, बिरामी कति छिटो निको हुने भन्ने कुरा अप्रेसनपछिको निरन्तर हेरचाहमा निर्भर गर्छ,’ तुइतुई भन्छिन्, ‘नर्सले प्रत्येक पल बिरामीलाई बचाएका हुन्छन्। डाक्टरले अप्रेसन गरेर रोग निकालेको हुन्छ, तर त्यसपछि हेरचाहको जिम्मेवारी नर्सको हुन्छ।’

बिरामीको उपचारका लागि नर्सको भूमिका महत्त्वपूर्ण हुने र सरकारले बिरामी र नर्सको मापदण्डअनुसार नै ओएनएमले सर्भे गर्नुपर्ने महाशाखाले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै अस्पतालमा बिरामी र नर्सको रेसियो नमिलेको नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई बताउँछिन्।

हाल देशमा ४० हजार नर्स बरोजगार रहेको अवस्थामा ‘ओएनएम’ सर्भेपछि धेरै नर्सले रोजगारी पाउने राईको विश्वास छ।

‘देशकै नाम चलेका ठूला सरकारी अस्पतालमा एक नर्सले ४०–५० बिरामी हेर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष राई भन्छिन्, ‘सर्भे भएपछि नर्सको जनशक्ति बढेसँगै काममा पनि केही राहत पाउँछन् कि?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय