आँखामा सधैं बिरामी बाँचेको हेर्ने छटपटी हुन्छ

उषा देवकोटा

टेकु अस्पतालकी आइसियू इन्चार्ज उषा देवकोटा!

कोरोना कहरयता उनको दैनिकी एकनास छ।

बिहान ७ बजे अस्पताल आइपुग्ने देवकोटाको बेलुकी कति बजे होस्टेलमा गएर सुत्ने ठेगान हुँदैन।

देशको एकमात्र सरुवा रोग अस्पतालमा उनी १४ वर्षदेखि सेवामा तल्लीन छिन्।

तर, कोरोना भाइरस महामारीपछि उनको दैनिकी झनै व्यस्त बनेको छ।

देशमा गम्भीर प्रकारको कोरोना संक्रमित थपिँदा कोरोना उपचार हुने अधिकांश अस्पतालका आइसियू र भेन्टिलेटर भरिएका छन्।

यस्तो बेला सरुवा रोग अस्पतालको आइसियू भरिभराउ नरहने त कुरै भएन।

प्रायः निकै गम्भीर प्रकृतिका बिरामी आउँछन्। अस्पतालका भरिभराउ बेडमा नयाँ बिरामीको व्यवस्थापन कसरी गर्ने? निकै सकसमा हुन्छिन् उनी।

‘सुरुका दिनमा हामीले कोरोनालाई नर्मल सोचेका थियौं र त्यहीअनुसार तयारी थियो,’ उनले सुनाइन्।

‘तर, कोरोना संक्रमण विश्वभर महामारीको रूपमा फैलिँदै गर्दा हामीले पनि उच्च सतर्कता अपनाएका थियौं। सीमित स्रोतसाधनबीच गरेको हाम्रो तयारी पर्याप्त छैन।’

भन्छिन्, ‘हामीले यहीबीचमा सकेको पूर्वाधार जुटाइरहेका छौं। असजतालाई सहजतामा परिणत गरिरहेका छौं।’

‘स्वास्थ्यकर्मीले शुद्धभावले सेवा गरिरहेका हुन्छन्। समाजका केही मानिसले स्वास्थ्यकर्मीलाई जति हेला गर्नुभएको छ उहाँहरूले कामबारे केही बुझ्नुभएको छैन,’ देवकोटाले दुखेसो पोखिन्, ‘स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटना सुन्दा मन भारी भएर आउँछ।’

सुरुमा अस्पतालमा ४ बेडको मात्रै आइसियू थियो। जब टेकुमा गम्भीर प्रकृतिका बिरामी बढ्न थाले सरकारले आइसियू मा पूर्वाधार थप्यो।  हाल अस्पतालमा २० आइसियू बेड सञ्चालनमा रहेको छ।

‘असारको तेस्रो हप्तादेखि आइसियू मा संक्रमित थपिँदै गए। अस्पताल भर्ना हुने सबै संक्रमित गम्भीर प्रकृतिका नै हुन्छन्,’ उनले भनिन्।

‘हामीलाई कोरोनाबाट यति गम्भीर प्रकृतिका बिरामी आउलान् भन्ने सोचेकै थिएनौं,’ उनले हेल्थपोस्टसँगको कुराकानीमा भनिन्, ‘तर, बिरामीको उपचारमा खटिन थालेपछि उहाँहरूको अवस्थाले निकै मन छोयो।

हाम्रो सेवा पनि त जनसेवा नै हो। त्यसैले अब त कोरोना संक्रमितको उपचार गर्दा–गर्दा नर्मल बिरामी नै हुने ठानेर उपचारमा खटिन्छौं। तर, उच्च स्वास्थ्य सुरक्षा सावधानीका साथ।’

संक्रमितलाई पूर्ण रुपमा नर्सिङ केयर दिन उनी आफैं पनि दिन–रात नभनी खटिरहेकी हुन्छिन्।

‘आखिर जीवनको के भर छ र? मर्न त सबैले पर्छ। सबैभन्दा ठूलो सेवाभाव हो। उपचार गरेर जब मृत्युको मुखमा पुगेका संक्रमितलाई बचाउन सकिन्छ त्यो दिन मनमा छुट्टै खाले आनन्द हुन्छ,’ उनले मनको कुरा गरिन्।

उनले अस्पतालले जनस्वास्थ्यको प्रोटोकल अपनाएर काम गरिरहेको बताइन्। त्यसैले अहिलेसम्म कोही पनि स्वास्थ्यकर्मी संक्रमित हुनु नपरेको उनको भनाइ छ।

अस्पताल प्रशासनले सुरक्षा सामग्रीको पर्याप्तका साथै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने काममा गरिरहेकेको बताइन्।

आइसियू मा उपचारत गरिने सबै बिरामीलाई अक्सिजन चाहिने उनी बताउँछिन्। धेरैबेर पिपिई लगाएर बस्न नसकिने भएकाले आइसियू मा खटिने स्वास्थ्यकर्मीको ड्युटी ४–६ घन्टाको रूटिन बनाएर मिलाएकी छन्।

आइसियू मा खटिएका स्वास्थ्यकर्मीलाई बाहिरबाट अन्य स्वास्थ्यकर्मीले पनि सहयोग गरिरहने उनको भनाइ छ।

पिपिई लगाएर धेरैबेर ड्युटी गर्दा पानीसमेत खान नपाउने, दिसापिसाब नै च्यापेर बस्नुपरेको उनको अनुभव छ।

आइसियू मा रहेका धेरैजसो मुटु, मधुमेह तथा दीर्घरोगीको नै बढी सिरियस हुने गरेको उनले बताइन्।

जनताको जीवन रक्षाका लागि जोखिममा उपचारमा खट्दा समाजबाटै स्वास्थ्यकर्मीले तिरस्कार खेप्नुपरेको घटनाले भने उनको मन दुखिरहेको हुन्छ।

‘स्वास्थ्यकर्मीले शुद्धभावले सेवा गरिरहेका हुन्छन्। समाजका केही मानिसले स्वास्थ्यकर्मीलाई जति हेला गर्नुभएको छ उहाँहरूले कामबारे केही बुझ्नुभएको छैन,’ देवकोटाले दुखेसो पोखिन्, ‘स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटना सुन्दा मन भारी भएर आउँछ।’

‘यस्तो महामारीमा बेला बिरामीलाई सेवा दिनु हाम्रो नैतिकता हो,’ उनी भन्छिन्, ‘चाहे मरुँ या बाँचौं कुनै प्रभाव छैन। तर, बिरामीलाई कसरी राम्रो सेवा दिन सकिन्छ भनेर काम गरिरहेको हुन्छौं।’

यतिबेला उनले घरमा समय दिन सकेकी छैनन्। घरपरिवारको हौसलाले उनी निरन्तर काममा जुटिरहेकी हुन्छिन्। अहिले उनी घर जान छाडेकी छन्। अस्पतालले व्यवस्थापन गरिदिएको होस्टलमा बस्दै आएकी छन्। तर, उनीलाई एकछिन फुर्सद हुन्न।

आइसियू मा ३६ जना स्टाफले काम गर्दै आएका छन्।

ड्युटीको व्यवस्थापनदेखि बिरामीको हेरचाहमा खटिरहेकी नै हुन्छिन्।

‘दिउँसो एकछिन पनि फुर्सद हुन्। होस्टलमा बेलुका सुत्नमात्र आउने गरेको छु,’ उनी भन्छिन्, ‘काम गर्दागर्दै समय बितिसकेको थाहा नै हुँदैन।’

आइसियू मा रहेका संक्रमितको ब्लड निकाल्ने, अक्सिजनको मात्रा हेर्ने, लुगा फेरिदिने, औषधी दिने जस्ता काम उनी आफैं स्वयंले गर्दै आएकी छन्।

हाल निषेधाज्ञाको हुँदा सबै नर्सले १२ घण्टाकै ड्युटी गर्दै आएका छन्। प्रायः स्टाफ क्वाटरमा बस्दै आएका छन्।

पहिला टेकु भन्नेबित्तिकै बिरामी नआउने, सेवा राम्रो नपाइने गुनासो सर्वसाधारणले गर्दै आएका थिए। तर, अहिले देवकोटा दाबी गर्दै भन्छिन्, ‘अहिले यहाँको सेवाले सबैको मुहारमा खुसी देखिन्छ।’

‘पहिला ४ बेड आइसियू हुँदा कसरी जनशक्ति व्यवस्थापन गर्ने र चलाउने भन्ने मनमा डर भइरहन्थ्यो,’ देवकोटा भन्छिन्, ‘सरकारी अस्पताल भनेर पहिले जनताले हेयको दृष्टिले हेर्थे। तर, हाम्रो सेवा र व्यवस्थापनबाट अहिले सबै खुसी छन्। हामीले पनि सके जति राम्रो गर्न खोजिरहेका छौं।’

स्वास्थ्यकर्मीले प्रण गरेका हुन्छन्। आफू मरेर भए पनि बिरामीको सेवा दिनरात समर्पित हुन्छौं, अहिले त्यहीं प्रण सम्झिएर नै काममा लाग्नु परिरहेको उनी सुनाउँछिन्।

‘यस्तो महामारीमा बेला बिरामीलाई सेवा दिनु हाम्रो नैतिकता हो,’ उनी भन्छिन्, ‘चाहे मरुँ या बाँचौं कुनै प्रभाव छैन। तर, बिरामीलाई कसरी राम्रो सेवा दिन सकिन्छ भनेर काम गरिरहेको हुन्छौं।’

सहकर्मी तथा अन्य स्टाफले कुनै पनि संक्रमितलाई उपचार गर्दिनँ वा हेर्दिनँ भन्ने गरेका छैनन्। सबैले आफ्नो नैतिकताभित्र रहेर नै काम गरिरहेको देवकोटा सुनाउछिन्।

जब संक्रमण निको भएर बिरामीले राम्रो फिडब्याक दिएर जाने गर्छन, त्यतिबेला उनी ठान्छिन्, ‘मेरो जीवनको उपलब्धि नै यही हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय