कोरोनाको आयुर्वेदिक औषधि पत्ता लागेको भन्दै भ्रम फैलाउनेमाथि कारवाही गर्न संघको माग
नेपाल आयुर्वेद चिकित्सक संघले कोरोनाको औषधि पत्तालगाएको भन्दै भ्रम फैलाउने व्यक्तिमाथि तत्काल कारवाही गर्न माग गरेको छ ।
संघले विज्ञाप्ति नै जारी गरेर महामारीको प्रतिकूल अवस्थाको फाइदा लिँदै आयुर्वेद चिकित्सकको रुपमा दर्ता नै नभएका व्यक्तिले यस्ता भ्रम फैलाएर विधाकै वदनाम गरेको भन्दै कारवाहीको माग गरेको हो ।
आयुर्वेद चिकित्सा अभ्यास गर्नका लागि आयुर्वेद चिकित्सा काउन्सिलमा दर्ता हुनुपर्छ ।
संघले बि.पी तिमिल्सिना, बद्री गौतम र पूर्ण शाहीजस्ता व्यक्ति वा समूहले आयुर्वेद चिकित्सक भनि सर्वसाधारण र तथा संचारमाध्याममा भ्रम फैलाएको जनाएको छ ।
ती व्यक्तिहरुले अनुसन्धान नै नभएका जडीबुटीलाई समेत कोरोनाको औषधि भनि प्रचारप्रसार गरेको तथा आयुर्वेदकोप्रति नै नकारात्मकता उत्पन्न गराएको संघको ठहर छ ।
संघका अध्यक्ष डा. प्रकाश ज्ञावलीद्वारा जारी विज्ञाप्तिमा निजहरुलाई तत्काल कारवाहीको माग गरिएको छ । संघले यस्ता भ्रममा नपर्नसमेत आह्वान गरिएको छ ।