भगवान भरोसामा सुदूरका संक्रमित

सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जाँदा उपचारका लागि गतिलो अस्पताल छ न स्रोत साधन।

स्थानीय तहले निर्माण गरेका आइसोलेसन र होम आइसोलेसनका भरमा सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना संक्रमितको उपचार गर्नुपर्ने बाध्यता छ।

हालसम्म गम्भीर प्रकृतिका बिरामी पहाडी जिल्लामा नरहे पनि त्यस्ता बिरामी भेटिए भगवान् भरोसामा बस्नुपर्ने बाध्यता छ।

सुदूरपश्चिममा १८ आइसियू वेड र १२ भेन्टिलेटर रहँदा ती सवै कैलाली, कञ्चनपुर र डडेल्धुरामा मात्रै निर्माण भएका छन्। तर

पछिल्लो समय सुदूरपश्चिमको बझाङ, अछाम र डोटीमा कोरोना संक्रमण दर बढ्दो छ।

हाल तीनवटै जिल्लामा १(१ सय बढी संक्रिय संक्रमित छन्।

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले हालसम्म गम्भीर प्रकृतिका संक्रमित नरहेको बताए।

जिल्लामा हाल १ सय ३४ जना सक्रिय संक्रमित छन्,’ उनले भने, ‘उनीहरु सवैको अवस्था सामान्य छ, तर कसैलाई समस्या परेमा उपचार गर्ने कुनै राम्रो माध्याम जिल्लामा छैन, भगवान् भरोसामा उनीहरुलाई राखिने छ।’

‘जिल्लामा गम्भीर प्रकृतिका बिरामी फेला परे कैलाली रेफर गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर अहिले सडक बिग्रेका कारण बिरामीलाई कैलाली पुर्याउनै समस्या छ।’

बझाङमा सक्रिय संक्रमितको संख्या बढेपछि भदौ १७ देखि एक सातासम्म जिल्लाभर निशेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ। जिल्लामा मंगलबार र बुधबार गरी २ दिनमा मात्रै ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

डोटीमा संक्रमण दर बढ्दै जाँदा जिल्ला अस्पतालमा १० बेडको आइसोलसन बेड निर्माण गरिएको छ। यसका अलावा स्थानीय तहले पनि आइसोलेसन बेड निर्माण गरी संक्रमितको उपचार गराई रहेका छन्।

संक्रमितलाई आइसियु आवशयक परेमा भने कैलालीकै मुख ताक्नुपर्ने बाध्यता छ। ‘गम्भीर प्रकृतिका बिरामी देखापरे कैलाली पठाउन स्वास्थ्य निर्देशनालयले परिपत्र गरेको छ,’ डोटीका प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले भने, ‘तर गाउँगाउँबाट बिरामी पठाउन भने समस्या हुनसक्छ।’

जिल्लामा हालसम्म १ सय २७ जना सक्रिय संक्रमित छन्। डोटीमा संक्रमण दर बढेपछि १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने सवै बिरामीलाई आइसियु र भेन्टिलेटर आवश्यक नपर्ने बताए।

‘स्वास्थ्य अवस्था नाजुक भएको अवस्थामा मात्रै बिरामीलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने हुन्छ,’ निर्देशक अवस्थीले भने, ‘त्यस्ता विरामीलाई डडेल्धुरा, कैलाली र कञ्चनपुर पठाउन सवै जिल्लामा परिपत्र गरेका छौं।’

सुदूरपश्चिमका सवै जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गर्ने योजना निर्माण गरिएको भए पनि जनशक्ति अभावका कारण समस्या भएको उनले बताए।

हाल सुदूरपश्चिम प्रदेशमा ९ सय सक्रिय संक्रमित छन्। जसमा सवैभन्दा बढी कैलालीमा ३ सय ९४, बझाङमा १ सय ३४, डोटीमा १ सय २७, अछाममा १ सय ३, कैलालीमा ३ सय ९४, बैतडीमा ५५, कञ्चनपुरमा ५२, डडेल्धुरामा २०, बाजुरामा ८ र दार्चुलामा ७ जना छन्।

प्रदेशमा हालसम्म ५ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएकोमा ५ हजार डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय