‘ज्यान जोखिममा राखेर काम गर्नुछ, समाजको छिःछिः दुरदुर कसरी सहने?’

पेसाले म ल्याब टेक्नोलोजिस्ट, काठमाडौंको एक सरकारी शिक्षण अस्पतालमा काम गर्छु। महामारीको रूपमा फैलिएको कोभिड–१९ रोगका संक्रमितहरूको स्वाब संकलन तथा परीक्षणमा खटिरहेकी छु।

म जस्तै सयौं डाक्टर, नर्स, ल्याब टेक्निसियन, फर्मासिस्ट, रेडियोग्राफरलगायतका स्वास्थ्यकर्मीहरू कोभिड रोगको परीक्षण र बिरामीको उपचारमा अहोरात्र खटिरहका छन्। यसक्रममा केही स्वास्थ्यकर्मीहरू पनि संक्रमित भएको खबर आइरहेको छ।

कोभिडका विरामीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूमाथि केही ठाउँमा अभद्र व्यवहार गरिएको समाचार सुन्दा पीडा हुन्छ। रातदिन बिरामीको सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरूमाथि समाजले सम्मान गरियोस् भन्ने चाहना त होइन तर कम्तीमा दुव्र्यवहार नहोस् भन्ने आग्रह हो।

हामीमा पनि मानवीय प्रवृत्ति छ, हाम्रा पनि परिवार र आफन्त छन्। सबैतिरबाट छिःछिः दुरदुरको व्यवहार भयो भने हाम्रो मनोबल गिर्छ र रोगको परीक्षण र बिरामीको उपचार कार्यमा हामी खट्न सकेनौं भने पूरै समाज संक्रमित र बिरामी पर्छ। तसर्थ सबै जनतामा स्वास्थ्यकर्मीप्रति उचित मानवीय व्यवहार गर्न तथा सामाजिक हौसला प्रदान गर्ने कार्यको अपेक्षासहित आफ्नो नितान्त व्यक्तिगत भोगाइ यहाँ पोख्दैछु।

अस्पतालमा मेरो ड्युटी कहिले बिहान, कहिले दिउँसो त कहिले राति पर्छ। बिहान र दिउँसोको ड्युटी हुँदा खासै समस्या छैन। तर रातिको ड्युटी पर्दा अझै पनि आफू सुत्केरी हुँदाको पीडा सम्झन्छु। नियमानुसार सुत्केरी बिदा उपभोग गरी ड्युटीमा जानुपर्दा भर्खरकी छोरीलाई आफूबाट टाढा राख्न मनले मानेन।

गर्भवतीको समयमा पनि उहाँले त्यस्तै वाक्य बोल्नुभएको झल्झली याद आउँछ, ‘९ महिनाको भार तिमी बोक, जीवनभरिको भार म बोक्छु।’ उहाँको साथ र हौसला नै म अगाडि बढ्ने बाटो बनेको छ। मेरो दुःखमा उहाँको पीडा, मेरो सुखमा उहाँको हाँसो, मलाई चोट लाग्दा उहाँलाई दुखाइ हुने र मेरो संघर्षमा उहाँको उत्साहपूर्ण साथ म शब्दमा वर्णन गर्न सक्दिनँ।

अस्पताल नजिकै कोठा लिएर बसेँ। श्रीमान पनि अफिस जानुपर्ने हुँदा छोरीको स्याहारको लागि माइती गुहारें। केही दिन आमा हामी सँगै बस्नुभयो। तथापि दुई घण्टाको फरकमा बच्चालाई दूध चुसाउन विभागीय इन्चार्जसँग अनुमति लिन्थें।

मेरा लागि सबैभन्दा कठिनाइ रात्रिकालीन ड्युटीको समयमा हुन्थ्यो। अझै पनि सम्झन्छु, सुनसान मध्यरातको अँध्यारोमा एक्लै सडकमा हिँड्दा बाटोभरि डरको ‘भूत’ले त्रसित बन्थें। १५ मिनेटको दुरी पनि १५ घण्टाझैं लाग्थ्यो।

अझ घरको सात तल्लामाथि चढेर कोठा पुग्न पक्कै सजिलो थिएन। त्यसमाथि सडकमा एक्लै हिँड्दा भुस्याहा कुकुरको झुण्डले झम्टेला झैं गर्दा होस हवासै गुम्थ्यो। कुकुरबाट जोगिन सधैंभरि ब्यागमा बिस्कुटको पोका राख्थें।

कहिलेकाहीं आमाले मेरो बाटो हेर्न आउनुहुन्थ्यो। भोको बच्चा रूँदा आमालाई पनि कम तनाव हुन्थेन। दूधबाहेक अरू खुवाउन मिल्ने उमेरको बच्चा थिएन। आमालाई पनि सधैं आफूसँगै राख्न सकिने अवस्था थिएन।

कामको सिलसिलामा श्रीमान कहिलेकाहीं राति ढिलो कोठामा पुग्नुहुन्थ्यो। त्यतिबेलाको पीडा भनिसाध्य थिएन। रात्रिकालीन ड्युटीमा जानुपूर्व नै बच्चालाई दूध खुवाएपछि सुताएर त गइन्छ। तर अस्पतालको ल्याबमा काम गर्दागर्दै बच्चा निद्राबाट ब्युँझेला भन्ने डर भइरहन्थ्यो।

दुई घण्टाको फरकमा इन्चार्जसँग अनुमति लिएर म दौडिएर कोठामा पुग्थेँ। कहिलेकाही बच्चा निद्राबाट ब्युँझेर रोइरहेको हुन्थ्यो। रूँदारूँदा म पुग्ने बेला उसको स्वर नै सुक्थ्यो। त्यतिबेला गहभरि आँसु राख्दै बच्चालाई सुम्सुम्याएर दूध खुवाई सुताउँथेँ। अहिले पनि बच्चाको अनुहार हेर्छु र त्यतिबेलाको उसको अबोध रूवाइ सम्झेर मेरो आँसु झर्छ। मैले बच्चामाथि अन्याय पो गरेँ कि भन्ने लाग्छ। अथवा आमा बन्न जानिनँ भनी पश्चातापबोध हुन्छ।

श्रीमान कोठामा हुनेबेला राति उहाँ मलाई अस्पतालसम्म लिन आउनुहुन्थ्यो। मस्त निद्रामा रहेको बच्चा हामी दुवैजना नभएको बेला उठ्ला भन्ने डर त भइरहन्थ्यो। एक रात उहाँ बच्चालाई सुताएर मलाई लिन आउनुभएको थियो।

हामी दुवैजना सँगै कोठामा हिँड्यौं। दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने बेला थियो। हामी बस्ने घरको मूल गेट कसैले बन्द गरिसकेको थियो। ढोकाको घण्टी बजेको थिएन। घरबेटी र सँगैको कोठामा बस्ने दिदीहरूलाई फोन गर्दा कसैले पनि उठाउनुभएन। करिब १ घण्टाजति हामी ढोका ढक्ढक्याउँदै बाहिरै बस्यौं। ‘सुतेको बच्चा उठ्यो होला र पक्का पनि रोइरहेको हुनुपर्छ’ भन्ने लाग्यो।

मैले आफ्नो मनलाई थाम्नै सकिनँ। बल्ल ढोका खुल्यो। सात तलाको भ¥याङ एकै स्वासमा उक्लिएर कोठाभित्र छिरेँ। धन्न, नानी सुतिरहेकी थिइन्। हामी दुवैजना एकअर्काको अनुहार हेर्दै रून थाल्यौं।

नानी जन्मिँदाको दुःख पनि कम थिएन। २०७२ सालको विनाशकारी भूकम्पका पराकम्पहरू गइरहेका थिए। सुत्केरीको व्यथा लाग्ने समय नजिकिँदै थियो। भूकम्पका कारण मानसिक तनाव झेलिरहेको थिएँ। मेरो बेचैनीले बच्चाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ला भन्ने डर पैदा भएको थियो।

बच्चा जन्मने दिन म अस्पतालमै ल्याबमा काम गरिरहेको थिएँ। अचानक पेट दुख्न थालेपछि व्यथा सुरू भएको भन्ने लागेर डाक्टरसँग सल्लाह मागें। उहाँको सल्लाहबमोजिम म अपरेसन थिएटरमा जान हतार गरेको थिएँ। गिलास फुट्यो र सिसाको टुक्राले मेरो पाइतालामा घोच्यो। केही अनर्थ पो हुने हो कि भनी मनमा चिसो पस्यो। तथापि म अपरेसन थिएटरमा गएँ।

बच्चाको जन्म सहज भयो, स्वस्थ पनि देखियो। तर मलाई भने एकातिर अपरेसन गर्दाको घाउ दुखिरहेको थियो भने अर्कोतिर पाइतालामा सिसाको टुक्राले घोचेको घाउले पोल्न थाल्यो। हनहनी ज्वरो आयो, शरीर काँप्न थाल्यो। अस्पतालमा बसुन्जेल डाक्टरसँग सल्लाह गरी औषधी सेवन गरियो।

एउटा औषधी इन्जेक्सनको माध्यमबाट दिइनुपथ्र्यो। डाक्टरको परामर्शमा आफ्नो औषधी आफैंले इन्जेक्ट गरेँ। १२ दिनको अस्पताल बसाइपछि मलाई डिस्चार्ज गरियो तर इन्जेक्सनबाट दिइने औषधी आफैंले घरमा लिने डाक्टरबाट सहमति प्राप्त गरेपछि मात्र। मैले औषधीको पूरै कोर्स पूरा गरें र निको पनि भएँ।

अहिले पनि म दैनिक अस्पताल गई सर्वसाधारण जनताको स्वाब संकलन र परीक्षण गर्छु। मेरै हातले सयौं कोभिड संक्रमितको स्वाब परीक्षण गरेको छु। यस क्रममा म तीन पटकसम्म गृह एकान्तवासमा बसेको छु। कोभिडको महामारी विकराल नबनोस् भन्नेमा सचेत हुँदै आगामी दिनमा पनि म आफ्नो ड्युटी निष्ठापूर्वक पूरा गरिरहने नै छु। सबैबाट सहयोगको अपेक्षा गर्दछु।

जीवन यतिधेरै कठिन होला भन्ने कल्पना गरेको थिइनँ। दिउँसोको समयमा आफ्नो कलेजको कक्षा र ड्युटी पोस्टिङमा जानुपर्ने र रातको समयमा नियमित ड्युटी गर्न सजिलो थिएन। बच्चाको स्याहारसुसार त थियो नै। बच्चाको कारण कोठामा पढ्ने वातावरण थिएन।

त्यसैले कलेजको पुस्तकालय मेरो नियमित अध्ययन गर्ने थलो बनेको थियो। यससँगै आफ्नो कोठासँगै बस्नुहुने दिदीलाई विशेष आग्रह गरेर उहाँको कोठा पनि प्रयोग गरेकी थिएँ।उहाँ एकल महिला हुनुहुन्थ्यो, बिहे गरेर छोरी पाएको हप्ता दिन नबित्दै गम्भीर दुर्घटनामा परी उहाँको श्रीमान बित्नुभएको थियो। बच्चाको भविष्यनिम्ति भनेर उहाँ गाउँबाट एक्लै सहर पस्नुभएको रहेछ।

पछिल्लो समयमा सरा अमेरिकी ग्रीनकार्डवाला केटा साथीसँग विहे गरेर छोरीसहित उहाँ अमेरिका उड्ने तयारीमा हुनुहुन्थ्यो। मैले उहाँको कोठा लामो समयसम्म अध्ययनका लागि प्रयोग गरें। कोठाभाडा म आफैं तिर्न खोज्दा उहाँ मान्नुभएन।

परीक्षाको तयारी कम्तीको चुनौतीपूर्ण थिएन। बच्चालाई कहिले पिठ्यूँमा बोकी त कहिले काखमा खेलाएर पढ्ने कोसिस गरें। लोडसेडिङ हुँदा कहिले टुकी बाली त कहिले मैनबत्ती बाली पढियो, मोवाइलको टर्चको सहायतामा पनि रातभरि पढियो। माइक्रोबायोलोजीको प्रयोगात्मक परीक्षाको दिन बिहानदेखि नानीलाई पखाला लाग्यो।

छिनछिनमा पखाला लागिरहेकोले मसँग भएको सबै पुरानो टालो सकियो। आफू सुत्ने नयाँ तन्ना पनि च्यातेर नानीलाई सफा गराएँ। पखालाको कारण नानी निकै कमजोर भइसकेको थियो। आफू काम गर्ने अस्पतालमा नानीलाई भर्ना गर्नुपर्ने अवस्था आयो। यस्तो परिस्थितिमा मलाई परीक्षामा सहभागी हुने आँट आएन। तर मेरा आदरणीय गुरूले मलाई ढाडस दिनुभयो।

परीक्षामा सहभागीमात्र बन्न आग्रह गर्नुभयो। सामान्य अवस्थामा मेरो पढाइ र ल्याव पर्फर्मेन्सबाट उहाँ निकै प्रभावित हुनुहुन्थ्यो। त्यसैले उहाँले निकै करबल गरेपछि म परीक्षामा सहभागी भएँ।

बच्चा हुर्काउँदाको मेरो कष्ट देखेर लामो सुस्केरा हाल्दै श्रीमानले भन्नुभएको मलाई याद छ, ‘प्रकृतिले सबै भार तिमी नारीलाई मात्र किन थुपारेको? कम्तीमा बच्चालाई दूध खुवाउने जिम्मा हामी पुरूषलाई दिएको भए नि हुन्थ्यो।’

गर्भवतीको समयमा पनि उहाँले त्यस्तै वाक्य बोल्नुभएको झल्झली याद आउँछ, ‘९ महिनाको भार तिमी बोक, जीवनभरिको भार म बोक्छु।’ उहाँको साथ र हौसला नै म अगाडि बढ्ने बाटो बनेको छ। मेरो दुःखमा उहाँको पीडा, मेरो सुखमा उहाँको हाँसो, मलाई चोट लाग्दा उहाँलाई दुखाइ हुने र मेरो संघर्षमा उहाँको उत्साहपूर्ण साथ म शब्दमा वर्णन गर्न सक्दिनँ।

मैले आफ्नो भोगाइ यहाँ प्रस्तुत गर्नुको एउटै मात्र उद्देश्य हामी स्वास्थ्यकर्मीहरू पनि सर्वसाधारण जनता हौं। अरूलाई जस्तै हामीलाई पीडा हुन्छ। त्यसैले स्वास्थ्यकर्मीमाथि मानवोचित व्यवहार गरियोस् भन्ने आग्रह हो।

अहिले पनि म दैनिक अस्पताल गई सर्वसाधारण जनताको स्वाब संकलन र परीक्षण गर्छु। मेरै हातले सयौं कोभिड संक्रमितको स्वाब परीक्षण गरेको छु। यस क्रममा म तीन पटकसम्म गृह एकान्तवासमा बसेको छु।

कोभिडको महामारी विकराल नबनोस् भन्नेमा सचेत हुँदै आगामी दिनमा पनि म आफ्नो ड्युटी निष्ठापूर्वक पूरा गरिरहने नै छु। सबैबाट सहयोगको अपेक्षा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय