मैले साक्षात् मृत्युलाई देखें : कोरोना संक्रमित डा. चौधरी

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीलाई कोरोना संक्रमण भएको २३ दिन पुगेको छ।

अहिले पनि उनी अस्पतालमै उपचाररत छन्। उनले आफू आइसियुमा कोरोना भाइरस संक्रमणको उपचार गराइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा साक्षात मृत्युलाई देखेर फर्किएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘कोरोनाको लक्षणविहीन अवस्थाबाट क्रिटिकल अवस्था हुँदै मृत्युको मुखमा पुगेर निको हुँदै गएको छु।’

कोरोना संक्रमणबाट आफूले बोनसवापत दोस्रो जीवन पाएको उनको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।

डा. चौधरीले लेखेका छन्, ‘यो रोगको साइकल हेर्दा सुरुमा लक्षणविहीन या माइल्ड सिस्टमबाट सुरु भई जटिल अवस्थामा जान, हप्ताको अन्तिम अवस्थाबाट मृत्युवरणको अवस्थामा थाहा नै नपाई जाने रहेछ, मेरो पनि क्रिटिकल अवस्था पुगिसकेको थियो।’

‘अब म थ्योरीको कुरा होइन साक्षात् मृत्युलाई देखेर पनि कसरी बच्न सफल भएँ अनुभव राख्न चाहन्छु, कोरोनाको कडा अवस्थाका जस्तै जति प्यारासिटामोल खाए पनि ज्वरो न हट्ने, खाना पटक्कै मन नलाग्ने, रगतमा अक्सिजनको मात्रा घट्दै जाने, सास फेर्न निकै गाह्रो हुने यो सबै देखिसकेको थिएँ।’

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले डा. चौधरीको स्वास्थ्यमा निकै सुधार भएको जानकारी दिएका छन्। डा. गौतमका अनुसार डा. चौधरीमा कोरोनाका कारण निमोनिया देखिएपछि स्वास्थ्यमा समस्या देखिएको थियो। तर उहाँ अहिले पनि आइसियुमै हुनुहुन्छ।

कहिले डिस्चार्ज हुनुहुन्छ त? भन्ने जिज्ञासामा डा. गौतमले भने, ‘अझै केही दिन लाग्छ।’

डा. चौधरीको कोरोनाको रिपोर्ट नेगेटिभ आइसकेको अस्पतालले जनाएको छ। उनलाई बुधबार कोरोना विशेष अस्पतालबाट लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा सारिएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

होम आइसोलेसनमा रहेका उनलाई हप्ता दिनपछि समस्या देखिएपछि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएपछि उनी निरन्तर आइसियुमै रहेर उपचार गराइरहेका छन्।

उनका सबै परिवारमा कोरोना संक्रमण देखिएको थियो। परिवारका सदस्यहरू सबै होम आइसोलेसनमै बसेर कोरोनालाई जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय