कोरोना जितेकी सांसदको अनुभव- छिमेकीका पोषिला खानेकुरा र प्रेरणाले आत्मबल बढ्यो

कोरोना भाइरस संक्रमण भएको २४ दिनपछि कोरोनामुुक्त भएकी प्रदेश १ की सांसद कुसुम श्रेष्ठले समाजको राम्रो व्यवहारले कोरोना जित्न हिम्मत बढेको सुनाएकी छिन्।

इटहरी उपमहानगरपालिका ४ मा अस्थायी रुपमा बस्दै आएकी श्रेष्ठलाई घरबेटी, छिमेकी, टोलविकासका पदाधिकारी र नगरपालिकाले सेल्फ आइसोलेसनमा बस्न अनुमति दिएका थिए।

उनी श्रीमान नयन र दुइ छोरीसहित इटहरीमा आएकी थिइन्। श्रीमानलाई कोरोना पुष्टि भए पनि दुुई छोरीमा भने कोरोना संक्रमण देखिएन ।

सोमबार श्रीमान नयनसहित दिएको अन्तिम स्वाबको नतिजामा मंगलबार नेगेटिभ नतिजा आएको थियो।

कोरोनामुक्त भएपछि हेल्थपोस्टसँग अनुभव बाँडेकी श्रेष्ठले भनिन्, ‘छिमेकीले पोषिला खानेकुरा ल्याइदिए, हौसला बढाइरहे।’

उनले कुनै दिन आफूले नराम्रो गाली सुन्न नपरेको बताउने शुुभचिन्तकका सकारात्मक कुराले मन हलुँगो भएको बताइन् । उनले भनिन्, ‘समाजले हेर्ने दृष्टिकोण सकारात्मक भए बाँच्न थप उर्जा मिल्ने रहेछ।’

उनले यो अवधिमा कोरोना सामान्य सरुवा रोग हो भन्ने मनोविज्ञानसाथ चिकित्सकले दिएको दैनिक कार्यातालिका पछ्याएको बताइन्।

उनले मनमा नराम्रा कुरा आउन नदिन परिवारका सदस्यसँग व्यस्त हुने, अध्ययन गर्ने र सकारात्मक उर्जा भरिने फिल्म हेर्ने गरेको जानकारी दिइन् ।

उच्च रक्तचापको औषधी नियमित खाइरहे पनि यो बीचको अवधिमा स्वास्थ्यमा कुनै समस्या नभएको उनको भनाइ छ ।

कोरोना जितेपछि सांसद श्रेष्ठले इटहरीकी उपमेयरलाई धन्यवाद दिएको बताइन्। उपमेयर लक्ष्मी गौतमले संक्रमितको घर घर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

त्यस्तै श्रेष्ठले वडाध्यक्ष, टोलविकास समितिका अध्यक्ष र छिमेकीलाई संक्रमित अवधिभर एकदमै राम्रो व्यवहार गरेर हौसला बढाएको भन्दै टेलिफोनमार्फत धन्यवाद दिएकी हुन्।

‘कतिपय ठाउँमा कोरोना संक्रमितलाई समाजले हेला गरेको छ,’ श्रेष्ठले भनिन् ‘इटहरीमा नागरिकको चेतना उच्चस्तरको देखेर मैले सबैलाई धन्यवाद दिएकी हुँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय