उपत्यकामा दुई विकल्प—‘खुकुलो पार्ने कि, कडा निषेधाज्ञाकै निरन्तरता?’

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बीच मंगलबार भएको ‘भर्चुअल’ छलफलले निषेधाज्ञा थप्ने विषयमा साझा धारणा बनाएको हो।

त्यसका लागि सिडिओहरूले दुइटा विकल्प अगाडि सारेका छन्।

पहिलो, अहिलेकै अवस्थाको निषेधाज्ञालाई निरन्तरता दिने।

उपत्यकामा भदौ ३ गते मध्यरातबाट जारी भएको निषेधाज्ञा बुधबार मध्यरात सकिँदै छ। हाल जारी निषेधाज्ञामा अत्यावश्यक सेवाका पसलसमेत निश्चित समयमा चल्ने गरेका छन् भने अत्यावश्यकबाहेकको ढुवानी सेवा, उद्योग–कलकारखाना, निर्माण क्षेत्र ठप्प छन्।

अब यो विधिको निषेधाज्ञाको सम्भावना सायदै छ।

तीनवटै सिडिओहरूले सारेको अर्को दोस्रो विकल्प हो– अहिलेको स्वरूपलाई परिवर्तन गरेर केही क्षेत्र खुकुलो बनाउने।

काठमाडौंका सिडिओ जनकराज दाहालले स्वरूप परिवर्तनबारे केही खुलाउन चाहेनन्।

‘निषेधाज्ञाका दुइटा विकल्प सारेर साझा धारणा बनाएका छौं,’ दाहालले भने, ‘यसबारे भोलि गृह मन्त्रालयमा छलफल हुन्छ।’

के गर्दैछ गृह?

यसअघि उपत्यकामा निषेधज्ञाको निर्णय सिडिओहरूले नै लिने गरेका थिए। त्यसका लागि गृहले रायमात्र दिन्थ्यो।

तर, तेस्रो चरणको निषेधाज्ञाका लागि गृह मन्त्रालय आफैंले गृहकार्य गरेको छ।

गृहका उच्च अधिकारीहरूका अनुसार तेस्रो चरणमा लागू हुने निषेधाज्ञामा निर्माण क्षेत्र, उद्योग–कलकारखाना, होम डेलिभरी सेवा र ढुवानी सेवा सञ्चालन हुनेछन्।

तर, त्यसका लागि सर्त अगाडि सारिने छ।

यसअघि निर्माण क्षेत्र ठप्प थियो भने अत्यावश्यक सेवाबाहेकका उद्योग, कलकारखाना र ढुवानी सेवासमेत बन्द छन्। होम डेलिभरी सेवा सञ्चालनमा रहे पनि केही दिनअघि स्थानीय प्रशासनको निर्देशनमा बन्द गरिएको थियो।

तर, अब यी क्षेत्र निश्चित सर्तसहित खोल्ने गरी गृह मन्त्रालयले तयारी गरिरहेको हो।

‘अब खुकुलो हुने क्षेत्रमा कार्यरतको पिसिआर परीक्षण अनिवार्य हुनेछ,’ ती अधिकारीले हेल्थपोस्टसँग भने, ‘पिसिआर रिपोर्ट नेगेटिभ रहेकाले मात्र ती काममा खटिन पाउनेछन्।’

जस्तै, निर्माण, उद्योग क्षेत्रमा खटिने कर्मचारी र मजदुरको पिसिआर रिपोर्ट नेगेभिट भएमात्र काम गर्न पाउनेछन्। र, उनीहरूलाई सुरक्षितसाथ राख्ने सर्त उद्योगले लिनुपर्ने छ।

त्यस्तै, ई–कमर्स सेवा प्रदायकमार्फत् हुने होम डेलिभरी सेवामा रहेकाहरूको पिसिआर रिपोर्ट पनि नेगेटिभ भएमात्र काममा खट्न पाउनेछन्। त्यसका लागि स्थानाीय प्रशासनमा विवरण पेस गर्नुपर्ने छ।

‘होम डेलिभरी सेवामा अत्यावश्यक वस्तुलाई मात्र समावेश गरिनेछ,’ गृहका ती अधिकारीले भने, ‘होम डेलिभरीमा काम गर्नेको पिसिआर रिपोर्ट नेगेटिभ त हुनुपर्ने नै भयो। त्यसबाहेक पु¥याउन जाँदा व्यक्तिसँग प्रत्यक्ष भेट नहुने गरी दुरी कसरी कायम गर्न सकिन्छ भनेर गृहकार्य भइरहेको छ।’

इ–कर्मस व्यसायीको साझा फोरमले त मंगलबार विज्ञप्ति जारी गरेर बुधबारदेखि अत्यावश्यक सेवा प्रवाह हुने बताइसकेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानी सेवा र होम डेलिभरी सेवालाई सञ्चालन गर्न दिन तथा कृषि मन्त्रालयले कृषिजन्य वस्तुको ढुवानी तथा विक्री–वितरण खुकुलो बनाउनुपर्ने राय यसअघि नै गृहलाई दिएका थिए।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले निर्माणका कामलाई अगाडि बढाउन सहज वातावरण बनाउनुपर्ने र ढुवानी सेवा सञ्चालन हुन दिनुपर्ने बताएको छ। यसमा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको छ।

अहिले काठमाडौं उपत्यकासहित निषेधाज्ञा जारी भएका क्षेत्रमा अत्यावश्यकबाहेकका ढुवानी सेवा बन्द गरिएको छ।

अत्यावश्यक सेवाका पसल पनि बिहान सवा ९ बजेसम्म मात्र सञ्चालन हुने गरेका छन्। यद्यपि, खानेपानी, औषधि पसल, क्लिनिकहरू भने नियमित सञ्चालन भइरहेका छन्।

उपत्यकामा निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्न सक्ने आँकलन पनि गर्न थालिएको छ।

तर, गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा अहिले नै त्यो सम्भावना देख्दैनन्। ‘गाडी, हवाई उडानका विषयमा मन्त्रिपरिषदले नै निर्णय गर्छ,’ उनले भने।

गृहका अनुसार कोरोना संक्रमण रोकथामका लागि ४५ जिल्लामा निषेधाज्ञा कायम गरिएको छ। पछिल्लोपटक उदयपुर र सुर्खेतले केही प्रतिबन्धात्मक निर्देशनसहित निषेधाज्ञा हटाएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय