वीरगन्जमा पहिलो पटक प्लाज्माथेरापीबाट स‌ंक्रमितको उपचार

प्रदेश २ मा पहिलो पटक वीरगन्जमा कोरोना भाइरसका संक्रमितलाई प्लाज्माथेरापीबाट उपचार थालिएको छ।

वीरगन्जमा रहेका कोरोना संक्रमितलाई प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्डअनुसार वीरगन्जमा पहिलोचोटि प्लाज्माथेरापी विधिबाट उपचार सुरु गरिएको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबार रातिदेखि नारायणी अस्पतालमा प्लाज्माथेरापीबाट उपचार सुरु गरिएको छ।

उनी केही दिनदेखि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालको आइसियूमा अस्पतालमा भर्ना भएका थिए। शंकास्पद कोभिडको लक्षण देखिएपछि उनको अस्पतालमा स्वाब संकलन गरी परिक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

गम्भीर किसिमको कोरोना संक्रमण रहेका ती संक्रमित पुरुषमा अन्य उपाय नरहेकाले प्लाज्माथेरापीबाट नै उपचार गरेको उपचारमा संलग्न डा.उदयनारायण सिंहले बताए। उनले भने, ‘यस्ता लक्षण बिरामी यहाँ धेरै आइरहेका छन्। गम्भीर किसिमको कोरोना संक्रमणको अन्तिम औषधि भनेको प्लाज्माथेरापी नै हो।’

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्माथेरापीलाई अनुसन्धानको रुपमा प्रयोग गर्न भनेको छ। नेपालमा यो नयाँ होइन। काठमाडौं उपत्यकाबाहिर बुटवल र धरानमा पनि प्लाज्माथेरापीबाट उपचार भइसकेको छ।

प्रदेश २ मा भने पहिलो पटक वीरगन्जमा प्लाज्माथेरापीबाट उपचार गरिएको डा. सिंह बताए ।

‘हिजो आइतबार राति साढे १० बजेदेखि साढे १२ बजेसम्म उपचार थाल्यौ। प्लाज्मा थेरापी गरेपछि २४ घण्टापछि स्वास्थ्यमा सुधार हुन्छ,’ डा. सिंहले भने, ‘अहिले स्वास्थ्य अवस्था सुधार हुँदै छ।’

उनलाई कोरोनामुक्त भएका अस्पतालका एकजना पूर्वस्टोरकिपरले रगत दिएका थिए। कोभिड–१९ का बिरामीलाई प्लाज्माथेरापीका लागि ताजा रक्तदाता चाहिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय