धनुषामा थपियो सातदिन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले जनकपुर उपमहानगरपालिका क्षेत्रमा थप सात दिन निषेधाज्ञाको अवधि बढाएको छ। कोरोना संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने अवस्थालाई मध्यनजर गरी थप सातदिन निषेधाज्ञाको अवधि बढाइएको हो।

आइतबार बसेको सुरक्षा समितिको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी आगामी २१ गते राति १२ बजेसम्म धनुषा जिल्लाभर निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। १८ साउनदेखि सुरु भएको निषेधाज्ञा पाँचौ पटक थप गरेर २१ भाद्रसम्म पु¥याइएको हो।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, ई–रिक्सा, निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। यसैगरी यस अवधिमा अत्यावश्यकबाहेकका नियमित सेवा, होटल तथा रेस्टुरेन्ट, शैक्षिक संस्था, फुटपाथ पसल, ब्युटी पार्लर, सैलुनलगायतका व्यवसाय बन्द रह्ने जनाइएको छ।

खाद्यात्रसम्बन्धी पसल, फलफूल, तरकारी, दूध डेरी, हार्डवेयरलगायतका पसल बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने निर्णयमा भनिएको छ। यसैगरी, निषेधाज्ञाको अवधिमा सुरक्षा र स्वास्थ्यका मापदण्ड पालन गर्ने उद्योग, कलकारखाना, पेट्रोल पम्प र ग्यास डिपो सञ्चालन गर्न सकिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै बाहिर निस्किनुपर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनेको छ। यसैगरी क्रेता तथा विक्रेता दुबैलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसाधारणसँग अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय