सिभिल अस्पतालका कर्मचारीको गुनासो : ‘१२ वर्षदेखि एउटै तह, स्तरोन्नति कहिले हुन्छ?’

सरकारले तोकेको निजामती कर्मचारी सरह तलब सुविधा माग गर्दै निजामती कर्मचारी अस्पताल (सिभिल)का कमचारी आन्दोलित भएका छन्। अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलव, सेवा सुविधा, बीमालगायत सरकारले तोके अनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेको हो।

शुक्रबार सांकेतिक रुपमा विरोधका लागि ब्यानर झुण्ड्याइएको थियो। आफूहरुको मागबारे बेवास्ता गरिएपछि आइतबारदेखि आन्दोलन नै गर्नुपरेको सिभिल अस्पतालका कर्मचारीले बताएका छन्। विभिन्न ब्यानरमा आफ्ना मागहरु राख्दै आइतबार सिभिल अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन्।

उनीहरुले हातमा कालोपट्टी बाँधेर सेवा सुविधाको माग गर्दै अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गराएका छन्।

‘हामीले दुई वर्षदेखि अस्पतालमा कार्यरत कर्मचारीलाई सरकारले तोकेअनुसारको तलव सुविधा दिन माग गरेका हौं, अहिलेसम्म पनि व्यवस्थापनले हाम्रो मागप्रति ध्यान दिएको छैन,’ निजामती कमएचारी अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोस धिमालले भने, ‘शुक्रबार सांकेतिक विरोधस्वरुप ब्यानरमात्र झुण््याएका थियौं, आज कालोपट्टी बाँधेर विरोध गरेका हौं।’

आफूहरुका माग पूरा नहुँदासम्म हातमा कालोपट्टी बाँधेरै काम गर्ने उनको भनाइ छ।

‘सामान्य प्रशासन मन्त्रालयले नै सबै अस्पतालमा कार्यरत कर्मचारीलाई तोकेअनुसार सेवा सुविधा दिन भनेको छ,’ उनले थपे, ‘यो अस्पताल नै सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्छ। दुई वर्षदेखि सेवा सुविधाका बारेमा कुरा उठाउँदै आए पनि व्यवस्थापनले बेवास्ता गरेको छ।’

उनले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताए।

त्यस्तै अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन्।

आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारी उपस्थित थिए। धिमाले अस्पतालममा चिकित्सक बाहेक अन्य कुनै पनि कर्मचारीले न्यूनतम सेवा सुविधा नपाइएको गुनासो गरे। ‘तलबको कुरामा चिकित्सकहरुले तोकेभन्दा बढी नै पाउनुभएको होला, तर अन्य कर्मचारी कोहीलाई पनि दिइएको छैन,’ धिमाल भन्छन्, ‘यस्तो कोरोना महामारीमा पनि एकछाक खाएर सेवामा खटिएका छौं। यस्तोबेला पनि नसोँच्ने व्यवस्थापन कस्तो?’

अस्पतालमा उनले करिब ६ सय जना कर्मचारीले न्यूनतम सेवासुविधा पनि नपाइकन काम गर्दै आएको जानकारी दिए। अधिकांशले त सरकारले तोकेको न्यूनतम तलबभन्दा २० प्रतिशत कममा काम गर्न बाध्य भएको गुनासो गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय