कोरोना जितेकी जनप्रतिनिधि भन्छिन : ‘आफुलाई पर्दा अरुलाई सम्झाए जस्तो सजिलो रहेनछ’

कोरोना भाइरस संक्रमण पुष्टि भएको दिन सम्झँदा पनि मन कटक्क दुखेर आउँछ। जेठ ६ गते भक्तपुर नगरपालिकाको अगुवाइमा दिनदिनै खटिएका जनप्रतिनिधि तथा सरसफाइ कर्मचारीको पिसिआर परीक्षण गर्ने दिन थियो।

भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पिसिआर चेक गरेको थियो। त्यो दिन ३० जनाले पिसिआर टेस्ट गराएको थियो। त्यसमा म पनि थिएँ।

पिसिआर जाँच गरिसकेपछि सबैको मनमा डर थियो, पोजेटिभ आउँछ कि । किनकि बन्दाबन्दीको समयमा सर्वसाधारण जनता घरमा बसे पनि जनप्रतिनिधिहरू जनताको समस्या समाधानमा जुट्नुपर्ने हुँदा फुर्सदिलो बन्न सकिएन।

महामारीको रूपमा फैलिएको कोभिड–१९ को विषयमा जनचेतना जगाउने, साबुनपानीले हातधुने तरिका सिकाउने, खाद्यान्न अभाव भएकालाई राहत वितरण गर्ने, स्थानीय किसानलाई धानको बिउ वितरण गर्ने आदि कामहरू भइरहेका थिए।

त्यसैले हामीहरु कहिले प्रहरीसँगै त कहिले स्वयंसेवकसँग हिँडिरहेका हुन्थ्यौं। त्यसैले मेरो मनमा पनि त्यही डर भइरहेको थियो।

जेठ ९ गते वडाध्यक्ष रवीन्द्र ज्याख्वाले सबैको रिपोर्ट नेगेटिभ आएको छ भनेर सुनाउनुभयो। खुसी भएँ। त्यो दिन भक्तपुर नगरपालिकाको भवनमा नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैठक थियो। बैठकमा सहभागी भएँ। अरु काममा सहभागी भएर घर फर्कें।

करिब ९ बजेतिर मेरो मोबाइलको घन्टी बज्यो। नयाँ नचिनेको नम्बर थियो। मैले उठाएँ।

तपाई छोरीमैयाँ सुजखु (प्रजापति) हो?

मैले हो, भन्नुस् न त किनबाट होला?

म टेकु अस्पतालबाट हो, तपार्इंको स्वाब परीक्षण रिपोर्टमा अलि खराबी देखिएको छ। तपाईंलाई लिन हामी गाडी पठाउँदै छौं है।

त्यो सुन्ने बित्तिकै म छानाबाट खसेझै भएँ। मैले अगाडि केही देखिनँ, सबैतिर अन्धकार देख्न थालें। म बोल्नै सकिनँ। टाउको फुट्ला जस्तो भयो। त्यतिबेला घरमा कोही थिएन, दुई जना बच्चाहरु र ममात्र थिए। श्रीमान पनि समाजसेवाको काममा बाहिर जानुभएको थियो।

मनमनै सोचें, साच्चिकै आफू भयङ्कर रोगको बिरामी हो कि जस्तो महसुस गर्न बाध्य भएँ। सामाजिक रूपमा बहिष्कृत भएको अनुभव गरें।

हतारिँदै वडाध्यक्ष रवीन्द्र ज्वाख्वालाई फोन गरें। मैले उहाँलाई सबैको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको होइन र? भनी सोधें। मेरो हड्बडाहट र स्वरले अनुमान गर्नुभयो उहाँले।

उहाँले उल्टो मलाई प्रश्न गर्नुभयो, के तिमीलाई अस्पतालबाट फोन आयो हो?

यति भन्नेबित्तिकै थप्न नसकी म फोनमै रुन थालें। त्यसपछि वडाध्यक्ष तुरुन्त घर आइपुग्नुभयो। एकछिनमा श्रीमान पनि आइपुग्नुभयो। मलाई सम्झाउनुभयो।

मलाई अहिले याद छ उहाँले भनेका कुरा, ‘हाम्रो लडाइँ कोरोनासँग मात्र होइन, हामो लडाइँ त्यो भन्दा ठूलो समाजवाद, साम्यवादसम्म छ।’

मैले घरमै आइसोलेसनमा बस्दा हुँदैन न र? भनेर सोधें वडाध्यक्षलाई।

डाक्टरले मान्दैनन् होला, बरु टेकुमा नभए पाटन अस्पतालमा मिलाउँला नि हुन्न भनेर सम्झाउनुभयो।

एकैछिनमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको फोन आयो।
मैले फोन उठाएँ।

उहाँले पनि पिसिआर रिपोर्ट पोजेटिभ आउँदैमा आत्तिनुपर्दैन, आत्मबल बढाउने, आपसमा सामाजिक दुरी कायम गर्ने, स्वस्थकर खानेकुरा र तातोपानी पिउने, आफ्नो दैनिक व्यवहारमा सुधार गर्ने, यत्ति गरे त रोग निको भइहाल्छ नि म्याडम भनेर ढाडस दिनुभयो।
मैले धन्यवाद दिएँ।

उहाँले भनेको कुरा सुनेर म एकछिन आफैंमा हराएँ। यति कुरा त मलाई पनि थाहा थियो। किनकि म आफैंमा समाजसेवी र स्वयंसेवकका रूपमा काम गरिराखेकी थिएँ। तर अरूलाई सम्झाउन जति सजिलो लाग्थ्यो, आपूmलाई पर्दा त्यति सजिलै लिन सकिँदैन रहेछ, पीडा त हुँदोरहेछ।

मनमा आफूमा केही कोरोनाको लक्षण नदेखिएकाले घरमै आइसोलेसनमा बसौं कि भन्ने लागेको थियो। अस्पताल गएपछि अरु कोरोना पोजेटिभ बिरामीसँगै राखेपछि झन् बिरामी हुने पो हो कि भन्ने मनमा प्रश्न उब्जिएको थियो।

तर वडाध्यक्ष रवीन्द्र ज्वाख्वाले बिरामीलाई घरमा राख्ने सरकारले बनाएको कार्यविधिमा नभएको सुनाउनुभयो।

त्यसपछि फेरि अस्पतालबाट फोन आयो।

मैले श्रीमानलाई फोन दिएँ। लामो कुरा भयो।

पुलिसको भ्यानसहित एउटा एम्बुलेन्स घरको ढोकामा आइपुग्यो। मध्यरातमा चोरलाई समात्न आएजसरी किन पुलिस आएको भन्ने मनमा लाग्यो। फेरि म केही गरी जान मानेन भने समातेर लान होला नि भन्ने लाग्यो।

म एम्बुलेन्समा चढ्न एक दुई पाइला अगाडि के बढाएको थिएँ। पुलिसले हप्कायो। त्यो पनि रुखो बोलीमा। हाम्रो अगाडि नआउनुस् त, आफूलाई चाहिने सामान आफैं पोका पारेर एम्बुलेन्समा चढिहाल्नुस् भनेर थर्कायो। हामीले पाटन अस्पतालसम्म पु-याइदिन्छौं भन्यो।

उनीहरूसँगै समाजसेवामा हिँडेकी मलाई प्रहरीले यस्तो व्यवहार गरेको देख्दा अचम्म लाग्यो।

मनमनै सोचें, साच्चिकै आफू भयङ्कर रोगको बिरामी हो कि जस्तो महसुस गर्न बाध्य भएँ। सामाजिक रूपमा बहिष्कृत भएको अनुभव गरें।

फेरि सोचें, उनीहरू पनि सयौं व्यक्तिको सम्पर्कमा जानुहुन्छ, खट्नुहुन्छ केही गरी एकजना मात्र संक्रमित भयो भने परिवार, टिम, अन्य सदस्य र समाजमा नै कोरोना संक्रमण फैलने डर हुन्छ होला नि? समाजसेवी भएर सोचें।

दुई जना दाइ अत्यन्त खुसी भएर अँगालो मार्दै सेल्फी खिच्दा नर्स आएर यस्तो काम अहिले गर्नुहुँदैन भनी सम्झाइन्। सिसी क्यामराबाट कोभिड वार्डको निरीक्षण भइरहेको रहेछ।

एम्बुलेन्स पाटन अस्पतालतिर कुद्यो र मेरो मन आफ्नो घरतिर कुदेको थियो।

श्रीमान् र छोराछोरीलाई समाजले के भन्ने होला? भन्ने चिन्ताले सतायो।

बिहानै थाहा भएको भए, दिनभर म कहीं जाने नै थिएन। म कति मान्छेको सम्र्पकमा आए हुँला? कतै मैले गर्दा मेरो सम्र्पकमा आएका साथीलाई त संक्रमित हुने होइनन्? यस्तै कुराले मन पोल्न थाल्यो।
अस्पतालमा पुगेपछि राति २ देखि ३ बजेसम्म मेरो विगत कोट्याउन थालियो।

डाक्टरहरूले कहाँ कहाँ जानुभयो? राहत कहिले कहिले बाँड्नुभएको थियो? धानको बिउ वितरण गर्दा तपाईंसँगै को को थिए? टाउको दुखेको छ? ज्वरो आएको छ? रिङ्गटा लागेको छ? यस्ता अनेक प्रश्नहरूले थिचिएँ म।

अस्पतालमा पहिलो रात त निद्रा नै लागेन। पछि त्यहाँ भएका बिरामीसँग कुराकानी गर्दै समय बिताउन थालें। एकजना बिरामीले त आफ्नो केही सामानका लागि मिल्ने साथीलाई फोन गर्दा पनि नउठाएको घटना सुनाए।

पछि अरू कसैले उसलाई समाजबाट नै बहिष्कार गर्नुपर्छ, राख्नुहुँदैन भन्नेसम्म गरेछन् । उसको दुःख सुन्दा मेरो त केही होइन जस्तो लाग्थ्यो। मलाई सबैले सपोर्ट नै गरेका थिए।

अस्पताल पुगेको भोलिपल्ट बिहान मेरो घरवरिपरि सिल गरियो भन्ने समाचार सुनें। श्रीमान् र छोराछोरीलाई घरमै ताल्चा लाइदियो भने। आफ्नो कारणले परिवारले पनि दुःख पाएजस्तो महसुस भइरह्यो।

तर खानाहरूका लागि चाहिँ साथीहरूले सहयोग गरेको श्रीमानले सुनाए। उहाँले ‘हामी सबै यहाँ ठिक छौं तिमी चिन्ता नगर’ भन्नुहुन्थ्यो।

पिसिआर रिपोर्टमा पोजेटिभ आए पनि मलाई शारीरिक रूपमा कुनै अप्ठेरो परेको थिएन। कोभिड–१९ को कुनै लक्षण देखापरेको थिएन। त्यसैले मलाई केही हुँदैन भन्ने आत्मविश्वास थियो।

इटाली, स्पेन र अमेरिकालगायत देशका जस्तो बिरामीको दर्दनाक स्थिति टेलिभिजन र फेसबुकमा हेरेको थिएँ। मलाई त्यस्तो केही हुँदैन भन्नेमा म केही ढुक्क थिएँ।

आफूसँगै लगेका र साथीहरूले पठाएका केही प्रेरणादायी पुस्तकहरू अध्ययन गर्दा आफूलाई तन्दुरुस्त बनाउन थप सहयोग मिल्यो।

अस्पताल बसाइको पाँचौं दिनमा मलगायत ९ बिरामीको स्वाब परीक्षण गरियो।

सबैको नतिजा नेगेटिभ आयो। हामीले कोरोनालाई जित्यौं भन्ने लाग्यो।

नर्सले फेरि पनि सबैको स्वाब परीक्षण गर्नुपर्छ भनेपछि कोरोनालाई अहिलेसम्म आधामात्र जितेका रहेछौं भन्ने लाग्यो। छैटौं दिन पनि हाम्रो स्वाब परीक्षण गरियो। सोही दिन बेलुकी ७ बजेतिर सबैको नतिजा नेगेटिभ आयो।

सबैजना कुनै युद्ध नै जितेको जसरी खुसीले उफ्रिए। ताली बजाउँदै शुभकामना दिन थाल्यौं।

दुई जना दाइ अत्यन्त खुसी भएर अँगालो मार्दै सेल्फी खिच्दा नर्स आएर यस्तो काम अहिले गर्नुहुँदैन भनी सम्झाइन्। सिसी क्यामराबाट कोभिड वार्डको निरीक्षण भइरहेको रहेछ।

नर्सहरूले अझै १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने, परिवारबाट छुट्टै बसेर खानुपर्नेलगयातका नियम सुनाए।

मुख्य कुरा समाज अनि साथीभाइको हौसला, प्रेरणा र मायाले संक्रमित व्यक्तिको आत्मबल बढ्ने रहेछ। अहिले म निको भइसकेर निरन्तर समाजसेवामा लागिपरेको छु।

घरपरिवार र म सँगै हिँड्ने साथीहरूको पनि कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको जानकारी पाएँ। नेगेटिभ आए पनि मेरो घरमा ताला नै लगाइएको थियो।

अस्पतालबाट घर फर्कने क्रममा मनमा अनेक कुरा खेल्न थाल्यो। परिवारमा सधैं खाना र खाजा खाने बेला छोराछोरी सँगै एउटै थालीमा बाँडीचुँडी खाने गरेको सम्झिएँ।

अब घरमा १४ दिन आइसोलेसन बस्ने बेला यी कुरालाई ध्यानमा राख्नुपर्छ है भनी आफूले आफैंलाई सम्झाएँ। स्वस्थ्यमा हेलचेक्र्याइँ गर्नुहुँदैन, त्यो भनेको आफूमात्र नभई अरूका लागि खतरा हुन्छ भन्ने सोचें।
….
आजभोलि होम क्वारेन्टाइनमा भनेर सबै सँगै खाने, लगाउने, बस्ने गरेको पाइन्छ। होम क्वारेन्टाइन भनेको घरमै बस्ने तर छुट्टै बस्नेखाने हो। सकेसम्म शौचालय पनि छुट्टै प्रयोग गर्नुपर्ने रहेछ।

हामी जनप्रतिनिधिहरू जनताको स्वास्थ्य अवस्था राम्रो होस्, कसैलाई पनि कुनै समस्या नआओस् भनेर रातदिन लागेका छौं भने हामीप्रति नै किन यस्तो गलत व्यवहार गरिन्छ भन्ने लाग्यो।

फेरि सोचें कतिले नबुझेर गरेका होलान् वा सबैजनाले हाम्रो पक्षमा बोल्छन् नै भन्ने पनि त छैन। कोभिड–१९ बारेमा सञ्चारमाध्यम र सामाजिक सन्जालमा जसरी प्रचार गरिए पनि आम जनसमुदाय डराइरहेको छ।


मुख्य कुरा समाज अनि साथीभाइको हौसला, प्रेरणा र मायाले संक्रमित व्यक्तिको आत्मबल बढ्ने रहेछ। अहिले म निको भइसकेर निरन्तर समाजसेवामा लागिपरेको छु।

विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार सुरक्षित मास्क लगाउने, दुरी कायम गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, समय समयमा साबुनपानीले हातधुने, पोषिला खानेकुरा खाने, तातोपानी नियमित रूपमा पिउने गर्दा यो रोग सामान्य रुघाखोकी जस्तै निको हुने रहेछ।
त्यसैले कोभिड–१९ देखि डराउने र भाग्ने होइन कि कोभिड–१९ को संक्रमण नियन्त्रणको अभियानमा सबैले साथ र सहयोग गरौं।

(भक्तपुर नगरपालिका ९ की वडा सदस्य सुजखुसँग हेल्थपोस्टकमी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय