कोभिड–१९ : यस्तो हुन्छ आइसोलेसनदेखि आइसियुसम्मको उपचार विधि र प्रक्रिया

कोरोना एक भाइरस हो। यो भाइरसका कारण निम्तिने रोग कोभिड–१९ हुँदा सबै मानिस गम्भीर अवस्थामा पुग्दैनन्।

माइल्ड कोभिड
भाइरस संक्रमण भएकामध्ये पनि धेरै लक्षणविहीन हुन्छन्। केही व्यक्तिलाई, जिउ दुख्ने, घाँटी खसखस हुने, रुघा लाग्ने जस्ता मौसमी भाइरल ज्वरोको जस्तै माइल्ड खालका लक्षण देखिन्छ।

यीमध्ये पनि कसै–कसैलाई १०१ डिग्रीसम्म ज्वरो आउने र झाडापखला हुनसक्छ। केहीमा अन्य कुनै लक्षण नदेखिने तर, सुँध्ने शक्ति हराउने, कान बन्द हुने जस्ता समस्या देखिन सक्छन्।

लक्षण नभएका र माइल्ड खालका संक्रमितको घरमा सुरक्षित साथ रहेर उपचार गर्न सकिन्छ।

यसरी घरमै राखेर उपचार गर्दा नर्मल खानेकुरा खाने, झोल पदार्थ बढी खाने, ज्वरो आएमा सिटामोल र रुघाखोकी वा घाँटी खसखस गरेको छ भने चिकित्सकको सल्लाह बमोजिम एंटीहिस्टामिनको प्रयोग गर्न सकिन्छ।

मोड्रेट कोभिड

कोरोना संक्रमणले जब फोक्सोमा असर गर्न थाल्छ, जसलाई मोड्रेट संक्रमण भन्ने गर्दछाैं।

त्यस्तो अवस्थामा फोक्सोमा संक्रमण हुन थालेपछि बिरामीलाई अक्सिजन चाहिन थाल्छ। फोक्सोले काम गर्न कठिनाइ हुन थालेपछि श्वासप्रश्वासमा समस्या हुन थाल्छ।

फोक्सोमा असर गर्न थाल्यो र श्वासप्रश्वासका गति छिटो–छिटो भएका मानिस अस्पताल भर्ना हुनुपर्दछ। यस्ता बिरामी गम्भीर स्थितिमा पुग्छन कि भनेर निगरानी गर्नुपर्दछ।

यस्ता मानिसलाई अक्सिजन चाहिने सम्भावना बढी हुन्छ।सामान्य अवस्थामा शरीरमा अक्सिजनको मात्रा (स्याचुरेसन) ९५ प्रतिशतभन्दा बढी हुन्छ।

स्याचुरेसन ९४ प्रतिशतभन्दा कम भयो भने त्यस्ता व्यक्तिलाई अक्सिजन चाहिन्छ भन्ने बुझिन्छ।

अहिले पनि कतिपय मानिसले घरमा अक्सिजनको स्याचुरेसन अनुगमन गर्न सकिन्छ।

श्वासप्रश्वासमा समस्या अर्थात् श्वास गति छिटो–छिटो भयो भने यस्ता संक्रमितलाई अस्पताल भर्ना गरेर मोनिटरिङ एवं उपचार सुरु गर्नुपर्छ।

अस्पतालमा बिरामीको रक्तचाप, अक्सिजन स्याचुरेसन र तापक्रम कम्तीमा दिनको चार पटकसम्म मोनिटरिङ गर्नुपर्छ।

मोनिटरिङ रिपोर्टकै आधारमा अक्सिजन सपोर्टको आवश्यकता यकिन गरेर क्रमशः चरणबद्ध रुपमा उपचार गर्नुपर्छ।

त्यसैगरी, अन्य केही समस्या छ भने त्यसलाई लक्षणका आधारमा उपचार गरिन्छ।  लक्षण भएकामा जस्तो ज्वरो आएका व्यक्तिलाई सिटामोल दिने, घाँटी खसखस गर्नेलाई एंटीहिस्टामिन दिइन्छ।

सिभियर कोभिड

सिभियर कोभिड भएका व्यक्तिमा अक्सिजनको मात्रा घटिरहेको हुन्छ। यस्ता बिरामीमा स्याचुरेसन ९० प्रतिशतभन्दा पनि कम छ। अक्सिजन लगाउँदा पनि स्याचुरेसन बढिरहेको छैन र श्वासप्रश्वासको गति छिटो बढिरहेको छ भने यस्ता सिभियर लक्षण हुन्। कोभिडले गर्दा दुवैै फोक्सोमा निमोनिया भयो भने सिभियर कोभिडको लक्षण देखिन्छ।

  कोभिडको उपचारमा पनि हाई फ्लो अक्सिजन थेरापीमार्फत अक्सिजन दिएर वा घोप्टो पारेर राख्दा ५० प्रतिशत मानिसलाई भेन्टिलेटरमा नपर्ने देखियो। सिभियर अवस्थामा पुगेका ५० प्रतिशत मानिसलाई पनि भेन्टिलेटरमै राख्नुपर्ने अवस्थाबाट टार्न सकिन्छ।

फोक्सोको संक्रमण अवस्था बढेर गयो भने एक्युट रेस्पेरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) गराउने गर्दछ। कोरोनाले सबैभन्दा बढी ज्यान लिने भनेको एआरडिएस भएर नै हो। कोभिडमा अन्य एआरडिएसभन्दा भिन्न प्रकारको हुन सक्छ।

कुनै बिरामीमा अक्सिजन स्याचुरेसन ९० प्रतिशत वा कम हुँदा पनि बिरामी केही लक्षण नआउन सक्छ। र यसलाई (साइलेन्ट हाइपोक्सिया) भनिन्छ। यस्तो समस्या झन् डरलाग्दो हुन्छ।

किनभने बिरामी नर्मल काम गरे तापनि शरीरमा अक्सिजनको मात्रा कम भइरहेको हुन्छ। यस्तो अवस्थामा निश्चित समयसम्म थाहा नै हुँदैन।

अक्सिजन त शरीर, मुटु, मस्तिष्क, मिर्गौलामा कम गइरहेको हुन्छ। एकैचोटी कुनै अंग खराब हुन्छ वा काम गर्न छोड्छ। कि त मुटुले काम बन्द गर्छ वा मिर्गौलाले काम गर्न छोड्छ। जुन अवस्था एकदमै डरलाग्दो हुन्छ।

सिभियर कोभिड भएको छ भने आइसियु भर्ना गरेर राख्छौ। यस्तो अवस्थामा मुटुको चाल, अक्सिजनको मात्रा लगातार मोनिटरिङ गर्नुपर्दछ। हाम्रो लक्ष्य बिरामीको अक्सिजन दिएर ९० प्रतिशतभन्दा माथि पुर्याउनै पर्छ।

मोड्रेट – सिभियर बिरामीलागि प्रभावकारी मानिएका औषधी

१.‘डेक्सोना’ –(डेक्सामेथासोन)
मोड्रेट – सिभियर बिरामीलाई निमोनिया भइसकेपछि डेक्सोना चलाउने गरिन्छ। दिनको एक डोज चलाएको बिरामीमा कम सिभियर भएको भेटिएको छ।

२. इनअक्साप्यारिन

कोभिड भएका मानिसको शरीर, फोक्सो तथा मुटुमा रगत जम्ने धेरै देखिएको छ।

त्यसकारण रगतलाई पातलो गर्न औषधि दिन थालिन्छ। जसका लागि इनअक्साप्यारिन चलाउन सकिन्छ।

यस्ता बिरामीलाई इनअक्साप्यारिन दिनको एक–पटक १० दिनसम्म बिरामीलाई दिइन्छ।

डेक्सोना तथा इनअक्साप्यारिन प्रयोगको नतिजा राम्रो देखिएको छ।

३.‘रेमडेसिभिर’

रेमडेसिभिर एक एन्टी भाइरल औषधि हो। रेमडेसिभिरले औषधीले फाइदा नै हुन्छ भन्ने छैन।

यद्यपि यो औषधी अहिले कोभिड–१९ को उपचारमा परीक्षणको क्रममा छ। भोलि ठूलो अनुसन्धान प्रकाशित भएर रेमडेसिभिर काम गर्दैन भन्ने दिन आउन पनि सक्छ।

यसले कतिपय बिरामीमा काम गर्छ, कतिपयमा गर्दैन।

रेमडेसिभिर ल्याउनका लागि बजारमा धेरै हल्ला भयो। अवैध रुपमा बिक्री–वितरणसम्म भयो। तर, यसको पूर्ण रुपमा सही छ भन्ने कुनै आधार प्रमाणित भइसकेको छैन।

ठूलो अनुसन्धानमा ठीक छ भनेर आयो भने बल्ल उपचारका रुपमा प्रयोग गर्ने हो।

अहिले सबैलाई चलाउनै पर्छ भन्ने होइन। गम्भीर अवस्थाका बिरामीले ल्याउन सक्दाको अवस्थामा भने चलाउदैँ आएका छौँ।

४. कन्भालेसेन्ट प्लाज्माथेरापी
कन्भालेसेन्ट प्लाज्मा पनि ट्रायलको रुपमा रहेको छ। कोभिड लागेका व्यक्ति निको भएपछि त्यसको लगभग १४ दिनपछी शरीरमा एन्टीबडीका बनेको हुन्छ।

एन्टीबडीको लेबल मात्रा राम्रो बन्नका लागि २८ दिनजति लाग्छ। त्यसपछि सो निको भएको  मानिसको रगत निकालेर प्लाज्मा छुट्याइन्छ र

सिभियर को्भिड भएको मानिसलाई चढाइन्छ। उक्त प्लाज्माले कोभिड भाइरस विरुद्ध लड्ने काम गर्छ।

यो विधिले पनि कतिपय मानिसमा राम्रो काम गरेको छ। निमोनियाको पहिलो फेज वा धेरै अक्सिजनको मात्रा नचाहिँदैमा दिन सकियो भने राम्रो काम गरेको देखियो।

प्लाज्माथेरापीमा कोभिड ठिक भएको मानिसको २ सय एमएल प्लाज्मा संक्रमितलाई दिइन्छ। कहिँलेकाही ठीक भएन भने दुई–तीन दिनपछि फेरि दिन पनि सकिन्छ।

त्रिवि शिक्षण अस्पतालको आइसियुबाट ५० जनाभन्दा बढीको उपचार गरिसकेका छाैं। निमोनिया सुरुको फेजमा भएका बिरामीलाई यि औषधीहरुको प्रयोग गर्दा राम्रो भएको पाइएको छ।

सिभियर भएको तर निमोनिया फोक्सोमा अलि–अलि फैलिएको छ भने त्यस्ता बिरामीलाई रेमडेसिभिर चलाउँदा एकदमै राम्रो काम गरेको पाइएको छ।

अस्पतालमा ५ जना बिरामीलाई प्लाज्मा दिइसक्यौं। यही नै ठीक छ भन्ने प्रमाणित भएको छैन। तर, भेन्टिलेटरमा गइसकेका बिरामीलाई भने ‘रेमडेसिभिर’ र प्लाज्माथेरापी उपचारले पनि खासै सकारात्मक नतिजा नदिन पनि सक्छ।

५.भिटामिन
केही अनुसन्धानमा भिटामिन ‘डी’को लेबल कम भएको मानिसमा सिभियरिटी बढ्दै गएको पनि देखिएको छ। शरीरमा भिटामिनहरुको मात्रा कम छ भने बिरामीलाई भिटामिनहरु पनि दिने गरिन्छ ।

आइसियुमा कोभिड १९ उपचारको विधिहरु
सिभियर बिरामीलाई आइसियु बेड राखेर निम्म बमोजिमको उपचार विधिबाट उपचार गरिन्छ।

१.घोप्टो पारेर सुताउने


घोप्टो पारेर सुताउने विधि मोड्रेट र सिभियर दुवै अवस्थाका बिरामीमा गुर्नपर्छ। बिरामीलाई घोप्टो पारेर सुताउँदा अक्सिजन लेबलमा सुधार हुन्छ।

कोरोनामा निमोनिया हुँदा पछाडिको भागलाई असर गरेको हुन्छ। घोप्टो सुत्दा रक्त संचार अगाडितर्फ बढी हुन्छ र अक्सिजन लेवलमा सुधार हुन्छ।

फोक्सो संक्रमणको लक्षण आउन थाल्यो वा अक्सिजनको कमी भयो भने घोप्टो पारेर सुताउन पर्छ।

उक्त उपचार विधि सन् २०१३ देखि नै एआरडिएसका बिरामीको उपचारको लागि संसारभर नै प्रयोग गरिँदै आएको छ, भने त्रिवि शिक्षण अस्पतालको आइसियुमा सन् २०१४ देखि नै निरन्तर रुपमा प्रयोग गरिँदै आएको छ।

२.‘नेगेटिभ फ्ल्युड ब्यालेन्स’
बिरामी संक्रमणको दोस्रो साता पुग्दा श्वासप्रश्वासमा समस्या हुन थाल्यो भने पानीको ब्यालेन्स नेगेटिभ राख्नुपर्दछ।

फोक्सोमा निमोनिया भइसकेपछि धेरै पानी पिउँदा फोक्सोमा पानीको मात्रा बढ्न सक्छ ।

त्यसले झन् अक्सिजन लिने क्षमता कम गराउने सक्छ। अक्सिजन चाहिने बिरामीले पानी धेरै खानुहुँदैन।

बिरामीले झोल तथा पानी कति खायो र कति पिसाब गर्यो यस्तो बेलामा विशेष ध्यान दिनुपर्दछ।

कुनै पनि बिरामीलाई अक्सिजन चाहिन्छ भने त्यसको नेगेटिभ ब्यालेन्स राख्ने गर्नुपर्दछ।

दिनमा लगभग ५ सय मिलि नेगेटिभ ब्यालेन्स राख्नुपर्दछ। यस्तो गर्दा फोक्सो सुख्खा हुन्छ र भेन्टिलेटर जानुपर्ने सम्भावना कम हुन्छ।

३.अक्सिजन थेरापी
कोभिड–१९ को उपचारमा अक्सिजन थेरापी धेरै महत्त्वपूर्ण हुन्छ। अक्सिजन थेरापी दिने पनि २–३ वटा मोडालिटी छन्।

माइल्ड अवस्थामा नाकबाट क्यानुला लगाएर अक्सिजन दिन सकिन्छ। यसको प्रयोगले अक्सिजनको स्याचुरेसन ९० प्रतिशतबाट बढाउन सकिएन भने फेस माक्सबाट अक्सिजन दिन थालिन्छ।

यो विधिबाट पनि अक्सिजन सन्तुलिन राख्न सकिएन भने हाई–फ्लो अक्सिजन थेरापीमा जानुपर्ने हुन्छ।

यो पद्धतिबारे नेपालमा धेरै जनालाई जानकारी पनि नहुन सक्छ किनकि, यसका लागि आवश्यक पर्ने उपकरण धेरै ठाउँमा उपलब्ध पनि छैन।

हाई फ्लो अक्सिजन थेरापीका लागि छट्टै मेसिन आवश्यक पर्छ।

नियमित र सामान्य अक्सिजन दिने फ्लो मिटरबाट प्रतिमिनेट १५ लिटर अक्सिजनसम्म दिन सकिन्छ। जसबाट ५०–६० प्रतिशतसम्म अक्सिजन दिन सकिन्छ।

हाई फ्लो अक्सिजन थेरापीबाट प्रतिमिनेट ६० लिटरसम्म शतप्रतिशत अक्सिजन दिन सकिन्छ।

कोभिडको उपचारमा पनि हाई फ्लो अक्सिजन थेरापीमार्फत अक्सिजन दिएर वा घोप्टो पारेर राख्दा ५० प्रतिशत मानिसलाई भेन्टिलेटरमा नपर्ने देखियो।

सिभियर अवस्थामा पुगेका ५० प्रतिशत मानिसलाई पनि भेन्टिलेटरमै राख्नुपर्ने अवस्थाबाट टार्न सकिन्छ।

हाई फ्लो क्यानुलाका लगाउँदा बिरामीले बोल्न, खान पनि सक्छ। यसका लागि आवश्यक पर्ने विशेष खालको मेसिन पनि खासै महँगो छैन।

जुन बजारमा ४–५ लाखमा नै आउँछ।

तर, धेरैलाई यसबारेमा जानकारी पनि नभएका कारणले सघन उपचार हुने संस्थामा पनि यो मेसिन छैन।
त्रिवि शिक्षण अस्पतालको आइसियुमा सन् २०१७ देखि नै सो मेसिनको प्रयोग गरिँदै आएको छ।

यी सम्पूर्ण उपचारका विधिका कुरा गरिरहँदा अहिले पनि रोगको रोकथाम र नियन्त्रणको विकल्प नै पहिलो प्राथमिकता हो भन्ने भुल्नु हुन्न। यस्ता जटिलताको अवस्था आउनै नदिन पनि सबैले तोकिएका स्वास्थ्य सावधानी नै सबैभन्दा प्रमुख र महत्त्वपूर्ण विकल्प हो।

माथि उल्लेखित विधिहरु हामीले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमा पनि प्रयोग गरेका थियौं। जसले राम्रो नतिजा दियो।

हालसम्म त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियुमा उपचारका लागि भर्ना भएका बिरामीमध्ये १५ जनालाई हाई फ्लो अक्सिजन थेरापी र घोप्टो पारेर सुताएर उपचार गर्दा ठीक भएर घर फर्किसक्नुभएको छ।

४.भेन्टिलेटर

हाई–फ्लो अक्सिजन थेरापीले पनि बिरामीलाई अक्सिजनको मात्रा पुर्याउन सकिएन भने विकल्पका पमा बिरामीलाई ‘भेन्टिलेटर’मा राख्नुपर्ने हुन्छ।

भेन्टिलेटरमै राख्दा पनि बिरामीलाई घोप्टो पारेर राख्नुपर्ने हुन्छ। अन्य बिरामीभन्दा भेन्टिलेटरमा पुगेका कोभिडका बिरामीको मृत्युदर बढी हुन्छ।

भेन्टिलेटरमा हुँदा पनि एक दिनमा १६ देखि १८ घन्टासम्म घोप्टो पारेर नै सुताइने गरिन्छ। बाँकी ६ घन्टा उतानो पारेर गरिन्छ।

उतानो पारेका बेलामा ब्लड ग्यास हेर्ने, अक्सिजन ठीक छ कि छैन हेरिन्छ। छैन भने फेरि घोप्टो पारेर सुताउने। यो साइकल निरन्तर राख्नुपर्छ।

यस्तो अवस्थामा सुधार भएमा ३–४ दिनपछि बल्ल फोक्सोको कार्यक्षमता सुधार हुँदै जान्छ। त्यसपछि मात्र बिरामीलाई ब्यँुझाउने र भेन्टिलेटरको सहायता कम गर्दै जानुपर्दछ।

कोभिड–१९ का कारण भेन्टिलेटर गएको बिरामी २ दिनमा उठ्छ भनेर सोच्नु हुँदैन।

यस्ता बिरामी कम्तीमा पनि ५–७ दिन वा अझै लामो समय भेन्टिलेटरमा बस्न सक्दछ। भेन्टिलेटर विधि पनि फेल भयो भने एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन (एक्मो) पद्धतिमा जानुपर्ने हुन्छ।

५. एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन–ECMO  

एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन (एक्मो) पद्धति नेपालमा सबै ठाउँमा उपलब्ध छैन।

हाललाई सो सेवा त्रिविको मनमोहन सेन्टर र शहिद गंगालाल र मेडिसिटी अस्पतालमा उपलब्ध छ। यसमा फोक्सोको कामे मेसिनले गर्ने गर्दछ।

यो एक प्रकारको फोक्सो डायलासिस मेसिन हो।

भेन्टिलेटरमा गएका बिरामीको नै बाँच्ने सम्भावना कम हुन्छ भने एक्मो गइसकेको बिरामीलाई त झन् निकै कम हुन्छ।

अहिलेसम्म यो विधिबाट कोभिडका लागि नेपालमा उपचार सुरु गरिएको छैन।

अन्तर्राष्ट्रिय अभ्यास र अनुभव हेर्दा एक्मोबाट बिरामीको जीवन रक्षा पनि गरिएको छ। तर, एक्मो गरेर मानिस बाँच्छ नै भन्ने सोच राख्नुहुन्न। यो विधिबाट अक्सिजिनेसनमा सुधार हुने भएकाले सुधारको सम्भावना रहन्छ।

एक्मो सुरु गरेको ५–७ दिनमा फोक्सो सुधार भएर आयो भने बल्ल मेसिन हटाउने प्रक्रिया सुरु हुन्छ। तर, एक्मोमा विधि निकै महँगो छ। नेपालकै सन्दर्भमा प्रतिदिनकै खर्च २ लाखसम्म खर्च लाग्न सक्छ ।

५–७ दिनमा राखेर उपचार गर्न न्युनतम पनि १०–१२ लाख लाग्न सक्छ।

यी सम्पूर्ण उपचारका विधिका कुरा गरिरहँदा अहिले पनि रोगको रोकथाम र नियन्त्रणको विकल्प नै पहिलो प्राथमिकता हो भन्ने भुल्नु हुन्न।

यस्ता जटिलताको अवस्था आउनै नदिन पनि सबैले तोकिएका स्वास्थ्य सावधानी नै सबैभन्दा प्रमुख र महत्त्वपूर्ण विकल्प हो।

(सघन उपचार विशेषज्ञ (इन्टेसिभिस्ट) एवं त्रिवि शिक्षण अस्पतालका आइसियु प्रमुख प्रा.डा. सुवास प्रसाद आचार्यसँग हेल्थपोस्टनेपालका लागि पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

 

One thought on “कोभिड–१९ : यस्तो हुन्छ आइसोलेसनदेखि आइसियुसम्मको उपचार विधि र प्रक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय