जसले सिँत्तैमा हजारौं मास्क बाँडिरहेका छन्

कोरोनाले विश्वव्यापी रुप लिँदै गर्दा दाङमा पनि कोरोनाको जोखिम बढ्दै थियो। छिमेकी देश भारत रोजगारीका लागि गएका जिल्लावासीहरू फर्किदै गर्दा दाङ कोरोनाको उच्च जोखिममा थियो। जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउनका गरेको थियो।

कोरोना जोखिमको समय भएका र बन्दका कारण बजारमा मास्क मूल्य बढेर किन्नै नसक्ने अवस्था भएको थियो। धेरैले कपडाका मास्क बनाएर, बेचेर आफ्नो कारोबार पनि बढाए। त्यही समयमा मास्क किन्न नसक्नेहरूका लागि मास्क बाड्न एकजना युवा सडकमा आए।

उनले मास्क नलगाएर हिँड्ने व्यक्तिहरूलाई मास्क दिन थाले। कोरोनाविरुद्ध जोखिमका काम गर्नेहरूलाई उनले घरमै पुगेर पनि मास्क उपलव्ध गराए।

सुरुमा उनले सञ्चार संस्थामा फोकस गरे। अनि भीडभाडमा रहने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि उनले निःशुल्करुपमा मास्क उपलब्ध गराए। कति रुपैयाँ खर्च गरे मास्क किन्न र मास्क बाँड्न कति इन्धन मोटरसाइकलमा खर्च भयो भन्नेमा उनको ध्यान छैन।

तैपनि सचेतनाको अभियानमा उनी मास्क एम्बेसडरका रुपमा दौडिरहेका छन्। सायद उनको यो यात्रा कहिले सकिन्छ थाहा छैन। बीरु भन्छन्– ‘संक्रमणको न्यूनीकरण र कोरोना भाइरसको खोप नबन्दासम्मका लागि मेरो अभियान जारी रहने छ।’

लकडाउनका कारण भारतमा धेरै दंगाली अलपत्र परेपछि लकडाउन हटाएर अलपत्र परेकालाई ल्याउने काम गरिएको थियो। त्यही क्रममा दाङमा ह्वात्तै कोरोना संक्रमितको संख्या बढ्यो। उनीहरूको संक्रममा रहेका केही जनप्रतिनिधि तथा स्वास्थ्कर्मीमा समेत कोरोना संक्रमण देखियो।

कोरोनाबाट बच्नका लागि औषधि नभएकाले त्यसबाट बच्न अनिवार्य मास्क प्रयोग र नियमित सावुनपानीले हातधुने गर्न सरकारले अनुरोध गरिरहेको थियो। तर, लामो समयदेखिको लकडाउनले जिल्लामा मास्क किन्नसमेत पाउने अवस्था थिएन। जस कारण मानिसहरू स्थानीयस्तरमै गार्मेन्टहरूले उत्पादन गरेका मास्कहरू लगाउन थालेका थिए।

जोखिमको समयमा फ्रन्टलाइनमा खट्नेहरूले समेत मास्क पाउने अवस्था थिएन। सर्वसाधारणले पाउने त झन परको कुरा। त्यही समयमा घोराहीमा एकजना युवाले केएन–९५ मास्क वितरण गर्न सुरु गरे। उनी थिए घोराही उपमहानगरपालिका–१४ निवासी बीरबहादुर खत्री ‘बीरु’।

निःशुल्करुपमा मास्क बाँड्ने गरेका खत्रीले मास्क बाँड्ने मात्र होइन मास्क प्रयोग गर्दाका फाइँदासमेत सिकाउने गरेका छन्। उनले मास्क नलगाएर हिँड्ने मानिसहरूलाई रोक्दै मास्क दिन्छन् र प्रयोगका बारेमा सिकाउँछन्।

संकटका समयमा मास्क वितरण गर्न सुरु गरेका उनी खत्रीलाई पछिल्लो समय जिल्लामा दंगालीले  ‘मास्कम्यान’ समेत भन्ने गरेका छन्। जिल्लाका विभिन्न स्थानमा पुगेर मास्क वितरण गर्ने गरेका खत्रीलाई कहिल्यै घामपानीले छेकेन। न त भोक–तिर्खाले नै गलायो।

अभियान निरन्तररुपमा चलिरह्यो देउखुरीको भालुवाङदेखि पश्चिम दाङको हापुरेसम्म। यो बीचमा करिब ८ हजार केएन–९५ मास्क र ३३ हजार बढी मेडिकल मास्क वितरण गरे। निःशुल्करुपमा मास्क वितरणमा लागेका उनमा एउटै चाहना छ कोरोनाको जोखिम रहेकाले सबैले मास्क प्रयोग गर्नुपर्छ।

‘म राजनीति गर्ने मान्छे हुँ, मलाई राजनीतिको स्वार्थभन्दा पनि कोरोनाको जोखिमको समयमा जनतालाई कसरी बचाउने भन्ने चिन्ता लाग्यो’, उनले भने, ‘त्यो समयमा दाङमा कोरोनाको जोखिम बढेकाले जनताले मास्क किन्नसमेत पाउने अवस्था थिएन। त्यो अवस्थामा ५० पिस मास्क किनेर बाँड्न शुरु गरेको हुँ।’

‘सुरूमा कोरानाबाट आफू पनि डराएको थिए। जसका कारण सरकारले गरेको लकडाउनको पूर्ण पालना पनि गरे तर संक्रमित बढिरहेका थिए। मानिसहरू मास्क नपाएर नलगाएरै हिडिरहेका थिए। जुन कुराले मलाई छोयो’, उनले भने।

त्यसपछि उनले आफूलाई घरभित्र बन्धक बनाएर राखिरहन सकेनन्। परिवारमा बुवा, आमा, श्रीमती, भाइबुहारीसँग सल्लाह गरे। सबैले सहमति दिएपछि उनी कोराना भाइरसको संक्रमणबाट जोगाउन आफू घर बाहिर निस्केर स्वास्थ्य सामग्री निःशुल्क बाँड्न थाले।

‘यो अभियानमा लाग्न मलाई घर परिवारसँगै साथीभाइहरूको सहयोग छ’, उनले भने,  ‘जोखिमको समयमा सबैको सहयोगले अभियान चलाउन समेत सहयोग पुगेको छ।’

अभियानका क्रममा अहिले उनले केएन–९५ मास्क मात्र ८ हजार बढी बाँडिसकेका छन्। त्यसका लागि करिब ७ लाख रुपैयाँ खर्च भैसकेको उनले बताए।

‘अहिले केएन–९५ मास्कको मूल्य घटेर थोरै भैसकेको छ तर त्यो बेला एउटा मास्कको मूल्य ५ सय रुपैयाँसम्म पथ्र्यो,’ खत्रीले भने,  ‘त्यही समयमा मैले केएन–९५ मास्क निःशुल्क बाँडे।’ मानवसेवा नै उत्तम सेवा सम्झने खत्रीले अहिले गरिएको सेवाबाट आफू सन्तुष्ट रहेको समेत बताए।

‘मानवीय सेवाबाहेक अरू मेरो कुनै स्वार्थ छैन’, खत्रीले भने, ‘जोखिमको समयमा जनतालाई बचाउने काम राज्यको थियो तर राज्यले सहयोग नगर्दा जनता जोखिममा रहेपछि मैले सुरु गरेको हुँ।’ अभियानको क्रममा जनप्रतिनिधसँग समेत हारगुहार गरे। तर, उनीहरूबाट सहयोग पाएनन्।

अभियानमा लागेका खत्रीका तीता अनुभव छन्। उनी सम्झन्छन्, ‘जनतालाई जोखिमबाट बचाउनका लागि स्थानीय सरकारले निःशुल्करुपमा मास्क वितरण गर्न सक्छन्, सचेतनाका लागि मास्क लगाउन भन्न सक्छन्। तर मास्क बाँड्न त सकेनन् सकेनन्। कार्यालयमा आफू समेत मास्क प्रयोग नगरेर बस्ने गरेको भेटाए।’ मास्क नलगाउने कर्मचारीलाई मास्क लगाएर बस्नुस्भन्दा सरकारी कर्मचारी नै झगडामा उत्रिएको समेत उनले बताए।

तर, सबै त्यस्ता होइनन्। कोही कर्मचारीले त उनको अभियानमा सहयोगसमेत गरे। कसैले हौसल्ला बढाउने काम गरे। त्यसमा उनले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काको सहयोगलाई कहिल्यै नभुल्ने समेत बताए।

‘मैले मालपोत कार्यालयमा मास्क नलाएर पुगेका सेवाग्राहीलाई मास्क वितरण गर्दा कार्यालय प्रमुख बाहिर निस्केर मलाई धन्यवाद दिनुभयो’, उनले भने, ‘त्यहाँ रहेका कर्मचारीहरूलाई कार्यालय समय र सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नसमेत आग्रह गरे।’ सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मास्क वितरण गरेका उनी पछिल्लो समय सडकमा हिँड्ने जो कोहीलाई पनि निःशुल्क मास्क बाँडिरहेका छन्।

मास्क भएर पनि सही तरिकाले नलगाउनेलाई मास्क सही तरिकाले लगाउनुका फाइदा सिकाउने गरेका छन्। त्यसैले उनी हिजोआज दैनिक बजारका चोकमा झोलाभरी मास्क बोकेर हिडेको भेटिन्छन्। यसरी हिँड्दा उनले एकैदिनमा एक हजारसम्म मास्क वितरण गरेका छन्।

प्रहरीले मास्क नलगाएर हिँड्ने सर्वसाधारणलाई १ सय रुपैयाँ जरिवाना तिराउन सुरु गरेपछि आफूले जरिवानाबाट सर्वसाधारणलाई जोगाउनका लागि मास्क बाँड्न सुरू गरेको उनी बताउँछन्।

अभियानका क्रममा मास्क नलगाई हिँड्नेमा ठूलाबडा र जान्ने सुन्नेहरू नै बढी भेटे। ‘सर्वसाधारण त कोरोनाको डरका कारण भए पनि मास्क लगाउने गरेका छन्, तर आफूलाई ठूला भन्नेहरूले लगाएको पाइनँ’, उनले भने,  ‘जसले जनतालाई सचेत गराउन लाग्नुपथ्र्यो उनीहरू नै मास्क नलगाएर हिँड्ने गरेका छन्, कार्यालयमा बस्ने गरेका छन्, उनीहरूलाई मास्क दिन खोज्दा आँखा तर्छन् र हामीलाई सिकाउनु पर्दैन भन्छन्।’

तुलसीपुरको बाहिनीचोकमा एकजना हजुरआमाले मास्क दिँदा उनलाई आमाले बाबु सधैभरी बाँचिरहनू भनेर आशीर्वाद दिइन् भने घोराहीको ट्राफिक चोकमा तरकारी बेच्न बसेकी एकजना थारू महिलालाई मास्क दिँदा उनले वीरबहादुरलाई आफूले बेच्न राखेको काँक्रो दिन खोजिन्, तर उनले लिँदैन भन्दा कर गरिन्, अभियानमा लागिरहन सुझाव दिइन्।

अभियानका क्रममा यस्ता मानिसहरूलाई भेट्दा आफूलाई खुसीसँगै थप ऊर्जा मिलेको उनी बताउँछन्। अहिलेको अप्ठेरो समयमा अरू पनि आफूजस्तै अभियन्ता बन्न सके कोरोनाविरूद्धको लडाइँ सजिलो हुने वीरबहादुरको विश्वास छ।

‘मेरो एउटा सानो प्रयास मात्रै हो, अरू पनि यसैगरी कोरोनाविरूद्धको लडाइँमा अग्रसर हुनुपर्छ’, उनी भन्छन्, ‘तर देखाउनलाई मात्र होइन, वास्तविक सेवा हुनुपर्छ। त्यसले मनलाई समेत शान्ति दिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय