‘स्वास्थ्यकर्मी हुँ भन्दा भन्दै प्रहरीले हातै भाँचिदिए’

गर्भवती भाउजुलाई डेलिभरी गराउनको लागि गत सोमबार अस्पताल जाने तरखर भयो।

कोरोनाको महामारीमा गाडीको चलेका छैनन्। एम्बुलेन्स पाइँदैन।

बच्चा ठूलो भएकाले अप्रेशन नै गर्नुपर्ने पहिला नै डाक्टरहरुले भनिसकेका थिए।

त्यसैले, अस्पतालमा बस्नको लागि चाहिने कपडा र अरु सामान पनि बोकेका थियौँ।

केही सवारी–साधन नपाएपछि गर्भवती भाउजूलाई मोटरसाइकलमा हालेर दाइ हिँड्नुभो। म पनि काममा जानुथियो।

अस्पतालमा केही दिनको बसाई हुने भनेपछि केही सामान राखेर आमालाई मोटरसाइलकमा राखेर नेशनल मेडिकल कलेजमा पुर्याउने हिँडेँ।

बाटो ७–८ जना प्रहरी बस्नु भएको रहेछ। सोधपुछ गर्नुभयो । मैले आफ्नो समस्या सबै सुनाएँ।

बारा जिल्लाको सुवर्ण गाउँपालिका अन्तर्गत फुलबरिया स्वास्थ्य चौकीमा कार्यरत छु। उहाँहरुलाई कार्ड पनि देखाएँ।  तर, उहाँहरुले मेरो कुरा सुन्नु भएन।

कोही पनि जान मिल्दैन ‘एसपी’को आदेश छ, भन्ने जवाफ दिनुभयो।

त्यत्तिकैमा एउटा कार आयो। अदालतको कर्मचारी रहेको भन्ने वित्तिकै गाडीलाई छोडिदिनु भयो।

कस्तो ‘एसपी’को आदेश होला र? म त एक स्वास्थ्यकर्मी, त्यसमाथि बिरामी लगेर जाँदैछु।

एसपीको नम्बर दिनुहोस। फोन गर्छु, भने।

त्यतिकैमा भाउजूलाई लिएर दाइ आइपुग्नु भयो।

दाइ भाउजुलाई प्रहरीले छोडिदिए। मलाई भने अगाडि जानै दिएनन्, अनि आमालाई घर जानुस् भनेँ।

म त्यतैबाट कार्यालय जान मोटरसाइकल फर्काएँ। तर, मैले फर्काउन बित्तिकै त्यहाँ रहेका ४–५ मोटरसाइललाई जान दिइयो।

मलाई पनि जान दिन्छ कि भन्ने सोचेर मोटरसाइलक फर्काएँ।

यसलाई छिर्ने दिने होइन, भन्दै प्रहरीहरु कराउन थाले।

‘म किन जान मिल्दैन? स्वास्थ्यको कमचारी हुँ। रमाइलोका लागि जान लागेको होइन। बिरामीको उपचारको गराउन हिँडेको हुँ’ भनेँ।

‘तँ धेरै नबोल। एसपीलाई फोन गर्छु, भनेको होइनस्। गर्, फोन’ भन्दै लाठी हान्न थाले।

जिउतिर १०–१२ लाठी हाने। मेरो शरीर पुरै काँप्यो।

मोटरसाइकल अड्याउन सकिनँ, त्यहीँ पल्टियो। सडकमा पछारिए। प्रहरीले मलाई लठ्ठीले पिटिरहे।

मैले गुहार माग्दा त्यहाँ सुनिदिने कोही भएनन्।

एकछिन उठेर साथीहरुलाई फोन डायल गरेँ।

त्यहाँ विवाद हुनसक्छ भनेर मलाई प्रहरीले आफ्नै गाडीमा हालेर जिल्ला प्रहरी कार्यलय पर्सा लगे।

असई एचएस पण्डितले ‘डाक्टर हो र? यो चोर, फहाट हो, भन्दै अपशब्द बोल्नुभयो। उहाँले बुट लगाउनु भएको थियो।

मलाई पछाडिबाट दुई लात्ती हान्नुभो।

‘बढी बोल्छस्, तेरो मुख भत्काइदिन्छु।’ भन्दै मुखमा आएजति बोले। मलाई अपराधीलाई राखेको जसरी भुईँमा राखिएको थियो।

त्यतिबेला नै एक–दुई जना साथि प्रहरी कार्यलयमा आए। मेरो जिउ एकदमै दुखिरहेको थियो। औषधी ल्याइदिन भनेँ। तर, साथीले ल्याएको औषधी खान समेत दिएनन्।

यस्तो दुव्र्यवहार गरेपछि पत्रकारलाई बोलाएर जानकारी दिन्छु भनेँ। मैले खिचेका केही भिडियो पनि प्रहरीले डिलिट गरिदिएका थिए।

त्यसपछि नेशनल मेडिकल कलेज गएर एक्सरे गराएँ। दाहिने हात भाँचिएको रहेछ। जिउभरि निलडाम छन्।

अहिले घरमा बसेको छु। ममाथि यस्तो घटना भयो भनेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको थिएँ। तर, उहाँहरुले अहिलेसम्म कुनै रेस्पोन्स गर्नुभएको छैन।

बिरामी भएर अस्पताल जान लाग्दा सुरक्षाकर्मीबाट नै यस्तो कुटाई खाइन्छ। सुरक्षाको लागि खटिएका राष्ट्र सेवकबाट नै यस्तो व्यवहार भएपछि कोबाट सुरक्षाको आश गर्ने र खोई?

(फुलबरिया स्वास्थ्य चौकीका इन्चार्ज सुनिल गुप्तासँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय