एम्बुलेन्स छैन, बस र जीप किन्याे लुम्बिनी प्रादेशिक अस्पतालले
प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको एउटा एम्बुलेन्स पनि छैन।
अस्पतालले बिरामीलाई एम्बुलेन्स किन्नेभन्दा आफ्नै सुविधाका लागि जीप र बस किन्ने गरेको छ।
कोरोना महामारीकै समयमा कर्मचारी र स्वास्थ्यकर्मी बोक्न दुइटा बस, एकवटा स्कारपियो र एकवटा पिकअप खरिद गरेर सञ्चालनमा ल्याएको अस्पतालले बिरामीलाई सेवा दिने एम्बुलेन्स र उपकरण मर्मतमा चासो दिने गरेको छैन।
लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश सरकारको गौरवको आयोजनामध्ये एक हो। तर अस्पतालको काम कारबाहीमा गति बढाउने गरी प्रदेश सरकारले काम गरेको देखिएको छैन।
यसले अस्पतालको सेवा प्रभावकारी हुन त सकेको छैन नै नाकै अगाडि रहेको प्रदेश सरकारमाथि समेत प्रश्नचिन्ह उठाएको छ।
प्रदेश सरकारले प्रादेशिक अस्पताललाई सुविधासम्पन्न क श्रेणीको एम्बुलेन्स किन्नका लागि दुई वर्षसम्म बजेट उपलब्ध गराउँदा समेत अस्पतालले एम्बुलेन्स किन्न सकेको छैन।
दुई वर्षसम्म एम्बुलेन्सको बजेट फ्रिज गराएपछि आर्थिक वर्ष २०७७/७८ का मा प्रदेश सरकारले उक्त बजेटको व्यवस्था विनियोजन गरेन।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार एम्बुलेन्स खरिदका लागि मन्त्रालयले १ करोड २५ लाख बजेट दिँदै आएको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा केही वर्ष पहिले एम्बुलेन्स प्रयोजनका लागि किनेको बा१झ ८७९६ नम्बरको पजेरो गाडी अस्पतालको प्रशासनिक भवनको अगाडिको झाडीमा छ।
एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने अवस्थामा उक्त गाडीलाई थन्क्याइएको अस्पतालका कर्मचारीहरू नै बताउँछन्।
३ सय ५० भन्दा बढी एम्बुलेन्समा प्रदेश ५ मा एउटा मात्रै आइसियुसहितको एबुलेन्स र दुइटा केही स्तरीय एम्बुलेन्स सञ्चालनमा छन्। तर ती एम्बुलेन्स सामाजिक संस्था र सामुदायिक अस्पतालले सञ्चालनमा ल्याएका हुन्।
दुर्घटना भएर तत्काल अस्पताल पुर्याउने बेलासम्म बिरामीलाई प्राथमिक उपचारदेखि लिएर आइसियुसम्मको सेवा दिने खालको एम्बुलेन्स खरिद गर्नका लागि प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई बजेट दिएको करिब ३ बर्ष भएको छ।
प्रदेश ५ सरकारले आइसियुसहितको एम्बुलेन्स किन्न १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन प्रत्येक वर्ष नै गर्दै आएको छ।
मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएदेखि नै आइसियुसहितको एम्बुलेन्स खरिदका लागि विशेष चासो दिएका लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले आफूले खरिद गर्न स्पेसिफिकेसनसमेत तयार गरी टेण्डर गर्ने बेलामा कोभिड–१९ बाधक बनेको बताउँछन्।
उनले नेपालमा त्यस्तो प्रकृतिको एम्बुलेन्स निर्माण र सप्लाई गर्ने सप्लायर्स नै नभएका कारण भारतबाट ल्याउनुपर्ने भएकाले समस्या भएको उनको भनाइ छ।
१ करोड २५ लाख बजेटमा आइसियुसहितको एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन भएर यत्तिकै रहनु आफैंमा नराम्रो पक्ष भएको भन्दै मेसु खनालले एम्बुलेन्स किनेर मात्रै नभएर त्यसलाई सञ्चालन गर्न विशेष खर्च लाग्ने अनुमानसमेत गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सूर्यप्रसाद भट्टराईले पुरानो निशानको पजेरो गाडी बिग्रिएको र त्यसलाई मर्मतसम्भार गर्दा नयाँ गाडी किन्ने जति नै कोटेसन आएका कारण त्यसलाई त्यत्तिकै राख्न बाध्य भएको तर्क गरे।
आइसियुसहितको एम्बुलेन्स किन्नका लागि कोटेसन आह्वान गर्दागर्दै कोरोनाका कारण समस्या भएको उनको भनाइ छ। उनले यो वर्ष प्रदेश मन्त्रालयले एम्बुलेन्स किन्न बजेट नदिएको भए पनि अस्पतालकै बजेटबाट एम्बुलेन्स किन्ने दाबी गरे।
बिग्रिएको सिटीक्यान मेसिन बनेन
प्रादेशिक अस्पतालमा अत्यावश्यक सिटी स्क्यान मेसिन बिग्रिएको महिनांै पुग्दा समेत मर्मत गरी सञ्चालनमा ल्याउन सकेको छैन।
सिटी स्क्यान मेसिन बिग्रदा सर्वसाधारण बिरामी मर्कामा परेका छन्। उनीहरू महँगो शुल्क तिरेर निजी प्रयोगशालामा सिटीस्क्यान गराउन बाध्य भएका छन्।
सञ्चालनमा आएको २ वर्ष नपुुग्दै सरकारी अस्पतालमा रहेको सिटीस्क्यान मेसिन बिग्रिएको हो। हाडजोर्नीसम्बन्धी उपचार गर्ने प्रादेशिक अस्पतालको सिटीस्क्यान गर्ने मेसिन बिग्रिँदा बिरामीहरू महँगो शुल्कमा निजी प्रयोगशालामा सिटीस्क्यान सेवा लिन बाध्य भएका छन्।
दुर्घटना तथा अन्य कारणले अंगभंग भएका २०–२५ जना बिरामी दैनिक अस्पताल पुग्ने गरेका छन्। सरकारी अस्पतालमा विश्वसनीय हुुने सेवा बन्द भएपछि बिरामीहरू चितवनको भरतपुुर, भारतको गोखरपुुर र काठमाडौंसम्म जाने बाध्यतामा पुुगेका छन्।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले सिटीस्क्यान मेसिनको विद्युत ‘कन्ट्रोलर’ युपिएस’ बिग्रिँदा काम रोकिएको बताए। मेसिको युपिएस बिग्रिएपछि विभागको प्राविधिक टोली बोलाएर चेकचाँज गराइए पनि मर्मत हुन नसकेको उनको भनाइ छ।
बिग्रिएको ‘युपिएस’ नेपालमा खोजी भएको तर नपाइएको डा. खनालले बताए। उनले उक्त युपिएस भारतबाट मगाउने तयारी भइरहेको जानकारी दिए।
करिब दुई वर्षअघि स्वास्थ्य सेवा विभागले अस्पताललाई सिटीस्क्यान मेसिन उपलब्ध गराएको थियो। ‘वारेन्टी’ समयभित्र मेसिनको उपकरण बिग्रिए पनि अस्पतालले बनाउन खासै तत्परता नदेखाएको अस्पताल स्रोत बताउँछ।
युपिएस खरिदका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ। अस्पतालको सिटीस्क्यान मेसिन ३२ सलाइस क्षमताको हो।निजी प्रयोगशालामा सिटीस्क्यान गर्दा करिब ४ हजार रुपैयाँ लाग्नेमा प्रादेशिक अस्पतालमा आधा सस्तोमा हुने गर्दथ्यो। प्रादेशिक अस्पतालमा सामान्य अवस्थामा दैनिक १ हजार बिरामीले सेवा लिने गर्छन्।