आइसोलेसनमा योगीराजको योग

विष्णुहरी आचार्य रुपन्देहीका आइसोलेसन र क्वारेन्टाइनमा योगीराजको नामले परिचित छन् । विहानको समय त्यहाँ रहेका संक्रमितका साथै क्वारेन्टाइनमा समय बिताउनुपर्ने व्यक्तिहरुसँग योगीराजको समय बित्ने गर्दछ ।
योगको अभ्यास गराउने काम उनको दैनिकीको पहिलो सिढीँ हो ।

आइसोलेसनको सुरक्षा घेराभित्र संक्रमितहरु नाचिरहँदा घेरा बाहिर योगीराज उनिहरुलाई योगका साथै नाँचका लागि सहजीकरण गरिरहेका हुन्छन् ।

त्यसपछि उनी आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिबाट रोगप्रतिरोधक क्षमता बढाउने विभिन्न औषधिको प्रयोग, आहारबिहार र जीवनशैली व्यबस्थापन सम्बन्धी कला सिकाउँछन् ।

आइसोलेसनमा बसिरहँदा तनाव लिने, निराश हुने, मनलाई अशान्त बनाउँनेहरुका लागि उनी बुटीको रुपमा उपस्थित छन । चिन्ताले कोरोनाले च्याप्ने हुँदा यसबाट मुक्त हुनका लागि नियमित योगा, ध्यान र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिनुपर्ने उनको सुझाव छ ।

योगीराज लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका योग प्रशिक्षक तथा वैद्य हुन् ।

बुटवल वडा नंं ११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा नियमित योगअभ्यास गराउँछन् । त्यसैगरी लोकगीतको धुनमा नचाएर उनी संक्रमितलाई उर्जा थपिइरहेका छन् ।

बिहानैको सुर्योदयसँगै शुरु हुने योगअभ्यास र गीतको धुनमा एकनासले उफ्रिरहेका सबैको एउटै चाहना हुन्छ जतिसक्यो छिटो कोरोना नेगेटिभ देखियोस र घर फर्किऊँ ।

कोरोना संक्रमण फैलिएसँगै बुटवलको एन्फा एकेडेमीको भवनलाई बुटवल उपमहानगरपालिकाले आइसोलेसनको रुपमा विकास गरेको छ । उक्त आइसोलेसनमा नियमित योगअभ्यास र आयुर्वेदिक औषधिको नियमित सेवनपछि धेरै संक्रमित निको भई घर फर्किएका छन् ।

नेपालमा उपलब्ध जडिबुटीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुण भएका कारण संक्रमितलाई योग, ध्यानसँगै आयुर्वेदिक औषधिहरुको सेवन गराइरहेको योगीराज बताउँछन् ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रदेशका आइसोलेसन तथा क्वारेन्टाइनमा रहेकालाई योग, ध्यान तथा मनोसामाजिक परामर्श गर्ने निर्णय गरेको छ ।

त्यसमा रुपन्देहीका लागि योगीराजलाई जिम्मेवारी तोकिदिएको छ । झण्डै ५ महिनाको अवधिमा आचार्य बुटवलसँगै तिलोत्तमा, कोटहीमाई, समरीमाई, मर्चवारी, मायादेवी, गैंडहवा, सुद्दोधन, सैनामैना लगायतका पालिकाहरुमा रहेका आइसोलेसन र क्वारेन्टिनमा उनि पुगेका छन् ।

नेपालमा प्रशस्त मात्रामा पाईने चिनीलहरोमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुण प्रयाप्त हुने हुँदा यसको नियमित प्रयोग गर्न सके कोरोना संक्रमण मात्र होइन अरु धेरै रोग लाग्नबाट बच्न सकिने उनले बताए ।

चिनीलहरोमा पाइने औषधीय गुणसँगै अरु जडिबुटीका बारेमा भारतको साथै चीनले निर्देशिका नै जारी गरेको हुँदा नेपाल सरकारले पनि नेपालमा उपलब्ध जडिबुटी सम्बन्धी निर्देशिका बनाएर त्यसको उपयोगलाई बढाउनुपर्ने उनको सुझाव छ ।

नेपाली भान्सामा प्रयोग हुने बेसार, अदुवा, ज्वानो, टिमुर, मरौठी, पुदिना जस्ता मसलाजन्य बस्तुमा औषधीय गुण पाइन्छ उनले भने पुर्खाले परम्पराकालदेखि नै प्रयोग गर्दै आएकाले त्यसमा जोड दिनु आवश्यक छ ।

उनका अनुसार नियमित रुपमा योग, ध्यान र प्रणायामले शरीरमा विकारयुक्त पदार्थको वृद्धि हुन नपाउने र योग र ध्यानसँगै आयुर्वेदिक औषधिको प्रयोगले लागेको रोग छिटो निको हुन सघाउने उनी बताउँछन् ।

उनका अनुसार क्वारेन्टाइन र आइसोलेसनमा प्रदेश ५ को कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन निर्देशिका अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचारको लागि अश्वगन्धा पाउडर, मुलेठी पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण तथा च्यवनप्रास लगायतका औषधि वितरण गर्ने गरिएको छ ।

आइसोलेसन र क्वारेन्टिनमा बस्नेहरुलाई विहानै योग र व्यायाम गर्नुपर्छ भन्ने शिक्षाले उनीहरुको दैनिकीमा सकारात्मक प्रभाव पारेको र शरीर स्वस्थ राख्न मद्दत मिलेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् ।

संक्रमितलाई हौसला दिन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा लगायत आइसोलेसनमा पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय