लकडाउनको सदुपयोग, सरस्वतीले सिकिन जीवन धान्ने सीप

सामान्य अवस्था हुँदो हो त इटहरी ५ की सरस्वती बिक यतिबेला अरुको घर बनाउने काममा मजदुरी गरिरहेकी भेटिन्थिन्।

इँटा बनाउने सिजनमा इँटाभट्टामा आंशिक काम गरे पनि उनको मुुख्य काम घर बनाउने ठाउँमा लेबर काम गर्नु नै हो।
तर, चैतदेखि सुरु भएको लकडाउनले निर्माणको काममा बाधा पुग्यो। उनले काम गुमाइन्।

विद्युतीय रिक्सा चलाउने श्रीमान पनि कामविहीन भए। दिनभर रिक्सा चालाएवापत भाडा तिरेर अरुको विद्युतीय रिक्सा चलाउने विक परिवारमा संकट आयो।

दुई छोरी र एक छोरा पाल्ने थप जिम्मेवारी त छँदै छ। सरस्वतीले सोचिन् यही बेला हो रिक्सा सिक्ने। उनले श्रीमानसँग रिक्सा सिकिन्।

पहिले सामान्य चलाउने सरसस्वतीले सडकमा रिक्सा निकाल्न सक्ने भइन्।

लम्बिएको लकडाउनले सुनसान बनेको राजमार्गमा रिक्सा गुुडाउन उनको हिम्मत बढ्यो। शुक्रबार इटहरी ५ को पूर्वपश्चिम राजमार्ग पचरुखी चौकमा भेटिएकी बिकले भनिन्, ‘अहिले त राजमार्गमा रिक्सा चलाउन हिम्मत बढेको छ। यात्रुु राखेर राम्रोसँग कुदाउन सक्छु।’

ट्राफिक र सडक नियमको ज्ञान उनलाई श्रीमानले सिकाएका हुन्। जोखिम र भीडभाडयुक्त ठाउँमा कम जाने उनले लकडाउनले उपलब्धि भएको सुुनाइन्। ‘अरु बेला भए त म कहिले यो हाइवेमा कुदाउन सक्दिन थिएँ होला,’ उनले भनिन्, ‘यो लकडाउनले फाइदै भयो नि।’

उनले यो रिक्सा साहुुमार्फत लिएकी हुन्। उनले दैनिक ५ सय अनिवार्य साहुलाई बुझाउनुपर्छ। बाँकी पैसा आफ्नो हुन्छ। यदि ५ सय नै कमाइ भएन भने पनि गोजीको पैसा हालेर साहु बुझाउनुपर्छ।

बिहीबारदेखि उनले ५ वर्षे कान्छी छोरीलाई साथै लिएर रिक्सा कुदाइरहेकी छन्। ‘यस्की दिदी र दाजु मावल गएका छन्। श्रीमान पनि अर्को रिक्सा कुदाइरहेका छन्,’ सरस्वतीले भनिन्, ‘घरमा कोही नभएकाले साथै लिएर हिँड्नुपरेको हो।’

संखुवासभा थातथलो भएका सरस्वती दम्पती सन्तानलाई राम्रो शिक्षा दिन तराई झरेका हुन्। आफ्नो शिक्षा राम्रो नहुुँदा भनेजस्तो जागिर खान नसकेको बताउने सरवस्वतीले छोराछोरीलाई मजदुरी गरेरै बोर्डिङमा पढाइरहेको सुनाइन्।

ठूलो छोरा ९, ठूली छोरी ८ र साथमा भएकी कान्छी छोरी नर्सरी कक्षामा पढिरहेकी उनले जानकारी दिइन्।

अर्काको देशमा दुःख गर्न जानुभन्दा आफ्नै देशमा काम गरे कमाइ र इज्जत हुने उनको बुझाइ छ। हाल लकडाउनका बेला दैनिक कम्तीमा ५ सय बचत गर्ने उनले बजार खुला भए एउटा रिक्सा चलाउँदा मासिक ३० हजारसम्म कमाउन सकिने बताइन्।

इटहरीमा डेरा लिएर बसेकी उनले परिवारमा श्रीमानकाे मात्र कमाइले घर धान्न मुस्किल भएको हुँदा बिहान बेलुका घरधन्दा सकेर आफू पनि कामका निस्कने गरेको बताइन्। ‘अहिले ठूला छोराछोरीले घरको काममा सघाउँछन् र बेलैमा निस्कन पाउँछु,’ उनले भनिन्।

रिक्सा चलाएर हिम्मत बढिरहेको बताएकी सरस्वतीले अरु महिलालाई समेत आफ्नो कमाइ बढाउन सुझाव दिन्छिन्। दिनभर घरमा बस्नुभन्दा सानो भए पनि केही न केही काम गरेर आफ्नो खर्चका लागि श्रीमानको मुख ताक्नुपर्ने बाध्यता नहुने उनको भनाइ छ।

सरस्वतीको रिक्सामा चढेर कार्यालय हिँडेका इटहरी ५ का प्रमोद भट्टराईले हाइवेमा जोखिम मोलेर काम गर्ने महिलाको कार्य प्रशंसनीय रहेको प्रतिक्रिया दिए।

उनले भने, ‘त्यसै पनि यस्ता जोखिमपूर्ण काममा कमै महिलाहरू आउँछन्। हामीले भरसक उहाँहरूको रिक्सामा चढेर प्रोत्साहन गर्नुुपर्छ,’ भट्टराई भन्छन्, ‘राज्यलाई दोषमात्र दिइरहनुुभन्दा आफूले कसरी अवसर सिर्जना गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय