तिलोत्तमाका संक्रमितलाई आयुर्वेदिक औषधी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस संक्रमितलाई आयुर्वेदिक औषधी वितरण सुरु गरेको छ। शंकरनगर स्थित आइसोलेसन सेन्टर र घरमैं आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरेको हो।

नगरपालिकामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ९९ जना रहेकोमा ५३ जना आइसोलेसनबाट निको भएर घर फर्किएका छन्। हाल आइसोलेशनमा ४६ जना मात्र रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा शुक्रबार बिहान आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका सिअहेव अधिकृत गणेश गौतमले जानकारी दिए।

यस्तै घरमैं आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् घरमैं पुगेर आयुर्वेदिक औषधि वितरण सुरु गरिएको गौतमले बताए।

आयुर्वेदिक औषधी रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ। नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार औषधी प्रयोगमा ल्याएको हो।

गुर्जो, अश्वगन्धा चूर्ण, तुलसी चिया, चेवनप्रास लगायतका आयुर्वेदिक औषधीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधी प्रयोग गर्न प्रोत्साहन गर्नेगरी वितरण गरिएको करहिया आयुर्वेदिक औषधालयका इञ्चार्ज प्रकाश ज्ञवालीले बताए।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार–विहार तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधीको सेवनमा प्रोत्साहित गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय