‘भजनमण्डली’ भरले महामारीमा चुकेको सरकार

नेपालमा कोरोना भाइरसको संक्रमणदर अत्यासलाग्दो गतिमा बढ्न थालेको छ। पहिला विदेशबाट आउनेमा सीमित संक्रमण समुदायस्तरमा नै फैलिइसकेको छ। अहिले अस्पतालका बेड भरिएका छन्।

गम्भीर खालका बिरामी बेड अभावले मृत्यु भइरहेको घटना हाम्रासामु घटिरहेका छन्।

सरकारले लक्षण नभएका वा माइल्ड केसलाई होम आइसोलेसनमा बस्न निर्देशन गरेको छ। तर, हाम्रोजस्तो मुलकमा सबैको घरमा व्यवस्थित रूपमा बस्नसक्ने क्षमता रहेको छैन।

यस्ता गलत नीतिगत निर्णयले भोलिका दिनमा यो महामारीले अझै भयावह अवस्था निम्त्याउने पक्का नै छ।  लक्षण नभएका संक्रमितलाई स्थानीय रूपमा बृहत आइसोलेसन सेन्टर बनाएर स्वास्थ्यकर्मीको निगरानीमा उपचार सेवा दिनुपर्ने हो तर, दिन सकिरहेको छैन।

फेजआउट कानुन र समन्वय अभाव
स्थानीय सरकारले प्रदेश सरकारको मुख ताक्ने, प्रदेशले केन्द्र सरकारको भरपर्ने अवस्था सिर्जना भएको छ।

प्रदेश तथा स्थानीय सरकारसँग जति समन्वय भएर काम हुनुपथ्र्यो त्यो अभाव झल्किरहेको छ।

सन् २०२० संक्रमण ऐन र हालको संविधानमा महामारी केन्द्रीय सरकारको जिम्मेवारीमा पर्छ। त्यसकारण पनि केन्द्र सरकारले आफ्नो मातहतमा रहेर तलका सरकारलाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो। यो विषयमा सरकार चुकेकै हो।

कमजोर कन्ट्रयाक ट्रेसिङ
संक्रमण रोकथामका लागि कन्ट्रयाक टे«सिङ एकदमै महत्त्वपूर्ण हुन्छ। जसका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने हो। नीतिगत रूपमा सरकारले यस्तो कार्यविधिसमेत बनाएको छ।

संक्रमितको सम्पर्कमा आएका मानिसको कन्ट्रयाक ट्रेसिङ गर्न सकिरहेको छैन।

संक्रमितलाई चाँडै पहिचान नहुँदा समस्यासँगै रोग समुदायमा फैलिने क्रम बढिरहेको छ। त्यस्ता स–साना कुुराले संक्रमण फैलिन मदत गरिरहेको छ।

महामारी नियन्त्रणको नेतृत्व
संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भूमिका त सबैको हुने गर्दछ। तर, स्वास्थ्य मन्त्रालयले फ्रन्टलाइनमा भएर काम गर्नुपर्छ। स्वास्थ्य नेतृत्व विज्ञका सुझाव ग्रहण गर्ने र सो आधारमा नागरिकको जीवन रक्षामा लाग्नुको सट्टा विज्ञलाई गाली गर्नमा व्यस्त छ।

आफूले चाहेजस्तै बोलिदिने विज्ञलाई मात्रै मन्त्रालयमा ठाउँ दिएको छ। महामारी नेतृत्वको भजन गाएर जितिन्न। भजनमण्डलीकै गलत सुझाव र नेतृत्वको गलत ग्रहणले अहिले जटिल परिस्थिति आइपरेको हो।

यस्ता कुराले जनतालाई निकै क्षति पुर्याएरहेको छ। आफूले चाहेको मान्छेको कुरा सुन्ने तर अन्य विज्ञले दिएका सुझावको कुनै उपयोग हुन सकेको छैन।

सरकारको भजनमण्डलीमा काम गरेको मान्छे शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका त होलान्। तर, व्यवस्थापनको क्षेत्र वा समुदायको गएर काम नगर्ने मान्छेको सुझावले के नै प्रतिफल पाउन सकिन्छ र!

व्यावहारिक रूपमा काम गरेको मान्छेसँग सल्लाह लिन सकेको भए बढी सफलता लिन सकिन्थ्यो। यस्तै अव्यावहारिक कुराले सरकार कोरोना नियन्त्रणमा चुकिरहेको छ।

नेपालमा पनि धेरै विज्ञहरूले यो कुरा धेरै अगाडिदेखि भन्दै आएका छन्। विज्ञ कराएको ६ महिना बितिसक्दा पनि सरकार कानमा तेलमा हालेर बसेको छ।

भारतबाट फर्केकाको व्यवस्थापन
रोजगारीका लागि लाखौं नेपाली भारतमा थिए र छन्। महामारीमा उनीहरू जन्मभूमि सम्झिए र अझै पनि फर्किन चाहनेहरू छन्।

उनीहरूले गर्दा हाम्रो देशको अर्थतन्त्र चलिरहेको छ भन्ने सरकारले सम्झिएन।  भारतबाट आउने नेपालीलाई आफ्नो जस्तो नभई भारतीय नागरिकजस्तै व्यवहार गरियो।

सबैभन्दा दुःखलाग्दो भारतबाट फर्किने नेपालीलाई पनि विदेशी शरणार्थी हुनुमा थियो।

एयरपोर्टबाट आएकाको व्यवस्थापन गरे पनि भारतको सीमाना र स्थलमार्गबाट आएकाको मापदण्ड विपरीतका क्वारेन्टाइनमा अमानवीय व्यवहार गरेर राखियो। त्यो रोग फैलाउने र कतिपय मृत्युको कारण पनि बन्यो।
उपचारको कमजोर तयारी
सरकारले एउटा राम्रो काम पनि रहेको छ। जुन हो, सही समयमा लकडाउन। तर, लकडाउनको समयमा महामारीको आँकलन गरेर उपचारको पाटोमा गर्नुपर्ने तयारी खासै देखिएन।  लकडाउन गरेको समयमा आइसोलेसन सेन्टरको व्यवस्थापन तयारी एकदमै चुस्त रूपमा गर्नुपर्थ्यो।
कोरोना संक्रमित ८० प्रतिशतलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने जरुरी हुँदैन। तर, स्वास्थ्यकर्मीको निगरानी भने चाहिँ चाहिन्छ। सामान्य लक्षण भएका मानिसहरूले अस्पतालका बेड भरिरहेका छन्।

गम्भीर खालका संक्रमितले बेड नपाएर ज्यान जाने अवस्था छ। पहिलादेखि नै यस्तो व्यवस्थापन कमजोरीका कारणले सरकार असफल बन्दै गइरहेको छ।

प्रदेश सरकारले नेपाली सेना वा प्रहरीको सहायता लिएर सुविधाजनक आइसोलेसन सेन्टर बनाउन सक्थ्यो। यस्ता थुप्रै उदाहरण छन्। भारतमा दिल्ली रहेको स्थानीय सरकारले १० हजार बेडको आइसोलेसन एकै ठाउँमा व्यवस्थापन गर्न सक्यो। पार्टी प्यालेस वा भजनकीर्तन गर्ने ठाउँमा आइसोलेसन बेडको व्यवस्था गर्यो।

नेपालमा पनि धेरै विज्ञहरूले यो कुरा धेरै अगाडिदेखि भन्दै आएका छन्। विज्ञ कराएको ६ महिना बितिसक्दा पनि सरकार कानमा तेलमा हालेर बसेको छ।

मध्यम खालका लक्षण भएका जसलाई सामान्य ज्वरो, रुघाखोकी वा केही सामान्य श्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई आइसोलेसन सेन्टरमा अक्सिजन दिएर उपचार गर्न सकियो भने धेरै संक्रमित जटिल अवस्थासम्म पुग्दैनन्।  निमोनियाको पहिलो चरणमा उनीहरूले सही उपचार पाउन सके भने मृत्यु हुने सम्भवना एकदमै कम नै हुन्छ।

आइसियु र भेन्टिलेटर जस्ता उपकरण एकै दिनमा निर्माण गर्न सकिने कुरा होइन। हामीसँग सीमित रूपमा आइसियु, भेन्टिलेटर रहेका छन्। अहिले भेन्टिलेटरमा जोड दिनुभन्दा पनि जटिल अवस्था नआउनका लागि अपनाउने पर्ने कुरामा विशेष ध्यान दिनुपर्छ।

६ महिनादेखि सरकारसँग कति आइसियु, भेन्टिलेटर रहेका छन्। कति कोरोनाका लागि, कति ननकोभिड बिरामीलाई छुट्याउन सकिन्छ भन्दै आएका थियौं। यसबीचमा केही उपकरण पनि थप भयो होला र तर महामारीलक्षित गरेर जति काम हुनुपर्ने थियो त्यो हुन सकेन।

नेतृत्वविहीन लडाइँ
यति भयावह महामारीसँग लड्नका लागि जिम्मेवारी र समन्वय एकदमै कमजोर छ। सरकारले एकैठाउँमा दाल, भात र तरकारी मिसाएर खाएजस्तो काम गरिरहेको छ।

व्यवस्थित रूपले कसलाई कुन–जिम्मेवारी दिएर काम गर्ने भन्ने परिपक्व निर्णय गर्न सकेको छैन। स्वास्थ्य मन्त्रालय हतारको निर्णयको भरमा चलिरहेको छ।

आज एउटा निर्णय गरेको हुन्छ। भोलि त्यसलाई सच्याएर अर्को निर्णय गर्छ। यस्ता निर्णयले नै के प्रष्ट हुन सकिन्छ भने एकमतले काम भइरहेको छैन। र, निर्णयकर्तालाई म किन र केका लागि यो निर्णय गर्दैछु भन्ने ज्ञान छैन।

सरकारले उपचारको व्यवस्थापन त्यत्तिकै महत्वसाथ हेरर जनचेतनालाई व्यापक बनाउनुपर्छ। सरकार पैसा खर्च गरेर मात्रै प्रतिफल आउँछ भन्ने सोचमा छ। यो सोच, शैली र तरिकाबाट कोरोना महामारी नियन्त्रण सम्भव छैन।

आँकलनमा चुकेको सरकार
सरकारले यस्तो भयावह अवस्था आउँछ भनेर आँकलन गर्न सकेन। पहिला यो रोग नेपालभित्र नै प्रवेश गर्दैन भने दाबी भएको थियो। संक्रमण देखिएपछि फैलिन दिँदैनौ भन्ने आश्वासन पनि सुनियो। तर, महामारीले मेरो र तेरो भन्दैन रहेछ।

अन्य देशमा भएका घटना देख्दा पनि देशको स्वास्थ्य क्षेत्र हाँक्ने नेतृत्ववर्ग स्वास्थ्यमन्त्री संवेदनशील भएर अघि बढ्नुपर्नेमा यस्तो हुन सकेन।

मन्त्रालयको गतिविधि हेर्दा मन्त्रीज्यू बच्चाबच्ची जस्तो निर्णय गर्ने र बढी बोल्ने गर्नुहुन्छ। मन्त्रालयले फेरि पनि आदेशात्मक बोली बोल्दै आएको छ।

यो अर्थमा सरकार समन्वयको सन्दर्भमा पूर्ण रूपमा चुकेको छ। निर्णय लिने समयमा उचित खालेको निर्णय लिन सकिरहेको छैन।

अब महामारीमाथि नियन्त्रणका लागि विगतका गल्तीको मूल्यांकन गर्ने र त्यस अनुसारका काम र त्यसको नेतृत्व जिम्मेवारीमा पनि पुनर्विचार गरेर अगाडि बढ्नुपर्छ।

अब गर्नुपर्ने काम
अहिलेको भयावह परिस्थिति आउनुमा स्वास्थ्य नेतृत्वकै असफलता हो। विशेषगरी अस्पताल व्यवस्थापन, उपचार तथा जनसमुदायमा रहेर कसरी काम गर्ने अनि सही नेतृत्वको पहिचान गर्न जरुरी छ।

दोस्रो काम भनेको सरकारले महामारीमा मिडियाको भूमिका र परिचालनको महत्वलाई बुझ्न सकेन। अझै पनि जनतामा कोरोनाका बारेमा कमजोर बुझाइ हुनु त्यसको प्रमुख उदाहरण हो।

अझै पनि कतिपय मानिसलाई माक्स लगाउनुपर्छ, सामाजिक दुरी कायम गर्नुपर्छ, हात धुनुपर्छ भन्ने ज्ञानको नै अभाव छ।

मिडियाको प्रचारबाट नै जनचेतना बढाउनका लागि सरकारले रेडियो, टेलिभिजन, छापामाध्यम वा अनलाइनबाट प्रचार–प्रसार व्यापक बनाउनै पर्छ।

जबसम्म जनताको दिमागमा माक्स लगाउने, ६ फिटको दुरी व्यवस्थापन गर्ने, साबुन पानीले हातधुने भन्ने तीन मन्त्र दिमागमा घुसाउन सकिन्न, तबसम्म कोरोना नियन्त्रण गर्न सकिन्न।

अहिले संक्रमणलाई समाजका केही शिक्षित मानिसले पनि छुवाछुत रोगका रूपमा हेरिरहेका छन्। भेदभाव गरिरहेका छन्। तर, यसबाट बच्ने कसरी हो भनेर शिक्षित मानिसले अरुलाई बुझाउन सकेका छैनन्।

अहिले कुनै मान्छेलाई संक्रमण भयो भने समाजले अभिश्रापको रूपमा हेरिरहेको हुन्छ। यस्ता भ्रम चिर्नका लागि राजनीतिक दलको परिचालन गरिनुपर्छ।

यसका लागि धेरै पैसा पनि खर्च हुँदैन। जबसम्म जनतालाई शिक्षित बनाउन सकिँदैन, कोरोना नियन्त्रण गर्न सकिन्न।

सरकारले उपचारको व्यवस्थापन त्यत्तिकै महत्वसाथ हेरर जनचेतनालाई व्यापक बनाउनुपर्छ। सरकार पैसा खर्च गरेर मात्रै प्रतिफल आउँछ भन्ने सोचमा छ। यो सोच, शैली र तरिकाबाट कोरोना महामारी नियन्त्रण सम्भव छैन।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. ठाकुरसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय