फोनकै भरमा घरै बस्छन् संक्रमित, के छ कस्तो छ, बुझ्न जाँदैनन् कोही

कपिलवस्तु प्रदेश ५ मा सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित जिल्लाका रूपमा देखिएको छ।

यहाँ कोरोना संक्रमितको संख्या १ हजार ७४ जना पुगिसकेको छ। स्वास्थ्य कार्यालय, कपिलवस्तुका अनुसार जिल्लामा अहिले पनि २ सय १ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये १७० जना होम आइसोलेसनमा छन् भने ३१ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन्।

पालिकागत रूपमा हेर्दा जिल्लाको सदरमुकाममा रहेको कपिलवस्तु नगरपालिका बढी प्रभावित भएको स्वास्थ्य कार्यालय कपिलवस्तुको कोरोना फोकल पर्सन कुमार थापाले जानकारी गराए।

तर पछिल्लो पटक सरकारले लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमै बस्ने व्यवस्था गरेपछि कपिलवस्तुमा पनि १७० जना बसिरहेका छन्। तर उनीहरूको स्वास्थ्य परीक्षण र निगरानी भने फितलो देखिएको छ।

स्वास्थ्यका कर्मचारीहरू उनीहरूलाई फोन सम्पर्ककै भरमा होम आइसोलेसनमा बसिरहेको मानिरहेका छन्।

कोरोना फोकल पर्सन थापाले होम आइसोलेसनमा रहेका संक्रमितको रेखदेख पालिकाबाट भइरहेको बताउँछन्। तर के कसरी रेखदेख भएको छ भन्ने विषयमा भने उनी अनभिज्ञ छन्।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले पनि फोनकै भरमा उनीहरूलाई होम आइसोलेसनमा छाडिएको बताए।

‘स्वास्थ्य शाखामा दुईजना कर्मचारी छौं,’ उनले भने, ‘हामी संक्रमितको घरमा पुग्न सकेका छैनौं, फोनबाटै उनीहरूसँग सम्पर्कमा छौं।’

त्यसो त कपिलवस्तु नगरपालिकामा आइसोलेसन नभएको पनि होइन। नगरपालिकाले साबिकको महिला विकास शाखामा ५० बेडको आइसोलेसन सञ्चालन गरिरहेको छ। जहाँ २७ संक्रमित छन् भने २३ बेड खाली छ। जहदी स्वास्थ्य चौकीमा रहेको ५० बेडको आइसोलेसन पनि पूरै खाली छ।

सबैभन्दा बढी संक्रमित प्रहरी

कपिलवस्तु नगरपालिकाभित्र मात्रै २३३ जना संक्रमित भएकोमा अहिले १३२ जना सक्रिय संक्रमित छन्। त्यसमध्ये १०६ जना होम आइसोलेसनमा छन्। नगरपालिकामा १२ वटा रहेकोमा सबैभन्दा प्रभावित वडा सदरमुकाम तौलिहवा रहेको वडा नम्बर १ हो।

पालिकामा तौलिहवा अस्पतालका स्वास्थ्यकर्मी २८ जना, प्रहरी २७ जना, पत्रकार ४ जना, शिक्षक ५ जना, मालपोत, विद्युत र औषधी पसलका २–२ कर्मचारीलगायतका व्यक्ति संक्रमित छन्।

एउटै एम्बुलेन्सको भर

कोरोना संक्रमितलाई स्वास्थ्यमा अप्ठ्यारो परेको अवस्थामा कपिलवस्तु नगरपालिकाले एकवटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको छ।

आँखा अस्पतालको एम्बुलेन्सलाई भाडामा लिएर नगरपालिकाले तयारी अवस्थामा राखेको हो।

नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले संक्रमितलाई अप्ठ्यारो परेको अवस्थामा एकवटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखी जिल्ला अस्पतालदेखि बुटवलसम्म पुर्याउने व्यवस्था गरिएको बताए।

एउटा एम्बुलेन्सले मात्रै थेग्ला त भन्ने प्रश्नमा उनले भने, ‘अहिलेलाई त्यसरी राखेका छौं आवश्यक परे जिल्लाका अरू एम्बुलेन्स पनि प्रयोग गर्छौं।’ उनले नगरपालिकाको स्वास्थ्य शाखामा दुईजना कर्मचारीमात्रै भए पनि पालिकाभित्रका स्वास्थ्य संस्थामा ७० जना कर्मचारी परिचालन हुने हुँदा समस्या नपर्ने दाबी गरे।

स्वास्थ्यमा समस्या आए होम आइसोलेसनमा बस्ने संक्रमितलाई सूचना गर्न भनेका छौ उनले भने, ‘खबर आएपछि उपचारका लागि तत्कालै व्यवस्था हुन्छ।’

उनले यसो भनिरहँदा कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिए तत्कालै उपचार हुने कुरामा भने प्रशस्तै शंका गर्ने ठाउँ देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय