नलेखिएको ‘बाथ मुटु’ रोगीको कथा : न सरकारलाई दुख्यो, न कसैले बुझे

ज्ञान र सीप सिकाउनभन्दै नेपालमा भत्ताको ब्यवस्था गरिएका थुप्रै कार्यक्रम छन्। वर्षेनी सरुवा रोग नियन्त्रणमा ठूलो राशिको बजेट खर्च गरिन्छ।

सित्तैमा ज्ञान कसले लिने अनी कसले दिने? त्यो सम्भव पनि देखिन्न। मलाई भने बाथ मुटु रोगले निकै आकर्षित गरिरहेको हुन्छ। तर, यसको ट्रेनिङका लागि कतै बजेट छुट्याइएको भए पनि मलाई आजसम्म थाहा छैन।

बाथ मुटु रोगको सुरुआत घाँटी दुखाइबाट हुनेगर्छ। घाँटी दुखेको १ हप्तामा सन्चो हुन्छ र ३/४ हप्तामा ज्वरो आउने गर्छ। कट्कटी घूँडा दुख्नु, छाती दुख्नु पनि यसका लक्षण हुन्।

यस प्रकारको बाथ रोग ‘ग्रुप ‘ए’ स्ट्रेप्टोकोक्कस’ नामक ब्याक्टेरियाको संक्रमणबाट हुनेगर्छ। जसले गर्दा घाँटी दुख्ने हुन्छ। शरीरमा बनेका ‘एन्टिबडिले’ गर्दा बाथ रोगका लक्षण देखापर्छन्। समयमा उपयुक्त एन्टिबायटिकको प्रयोग गरेमा धेरै हदसम्म रोक्न सकिन्छ।

यसले बिशेष गरी हाम्रो जस्तै बिकासोन्मुख मुलुकका ५ देखी १५ वर्ष उमेरका बच्चाहरूलाई समाउने गर्छ। अन्त्यमा मुटुका भल्बहरू बिग्रिने उच्च जोखिम हुन्छ। जुन स्थायी रुपमा बिग्रिन्छन्।

‘डाक्टर साप! बाथ रोगको जस्तै लक्षण देखिएको बच्चा आएको छ। हजुर कता हुनुन्छ?’, यस्तो भन्दै बेला-बेला मलाई स्वास्थ्यसंस्थाबाट साथीहरूले फोन गर्नुहुन्छ। ठाउँ-ठाउँबाट परामर्शकै लागि पनि फोन आउँछ।

यसरी फोन आउँदा मलाई निकै खुशी लाग्नेगर्छ। यस बारेमा जनस्तरमा चेतना निकै कम छ। यस बारेमा चेतनामुलक कार्यक्रम पनि प्रभावकारी रुपमा हुन सकेका छैनन्।

सरकारले आफै कर लगाएको र जानीजानी चुरोट खानेहरूलाई हानिकारक चुरोट खान हुन्न भन्नलाई नियमित बजेट होला। तर, न्युन आय भएका विपन्न बिरामीलाई यो रोगबाट बच्ने उपाए बारेमा जानकारी दिने कुनै कार्यक्रम छैन। मलाई जानकारी नभएको यो विषयमा कसैलाई जानकारी भए सु्झावको अपेक्षा छ। तर, मुटु रोग लागिसकेपछि उपचार गर्न निशुल्कका कार्यक्रम भने छन्।

मेरो पहिलो सेवा गुल्मी जिल्ला अस्पातलबाट सुरु भएको हो। म जागिरीको सुरुआति चरणमै थिए। मलाई अझै सम्झना आइरहन्छ। गुल्मी स्याउवा भन्ने ठाउँकी १४ वर्षीया एउटा किशोरी थिइन्। रातो बिट हरियो कुर्ता सुरुवाल लगाएकी उनी खोक्दै आइन्। र, लजाउँदै अस्पतालको कुर्सीमा टुसुक्क बसिन्। उनका आँखा रसिला थिए। सबैले उनीलाई भाइरल ज्वरो भएको अनुमान गरे। उनी निकै आत्तिएकी जस्ति थिइन्। मैले सोधेको उत्तर चाँडोचाँडो दिन्थीन्।

बाथ मुटु रोगको सुरुआत घाँटी दुखाइबाट हुनेगर्छ। घाँटी दुखेको १ हप्तामा सन्चो हुन्छ र ३/४ हप्तामा ज्वरो आउने गर्छ। कट्कटी घूँडा दुख्नु, छाती दुख्नु पनि यसका लक्षण हुन्।

घरमा जती चकचके भए पनि अस्पतालमा बोल्न धक मान्ने ग्रामीण क्षेत्रका बच्चाहरूको बानिले पनि उनलाई अप्ठ्यारो भएको हुन सक्छ।

उनलाई खोकी लागेको केही दिन भएको रहेछ। पहिला घाँटी दुख्दा अदुवापानी जडिबुटी खाएर ठीक भएको रहेछ। बेला-बेला भाइरल भनेर औषधी पनि सेवन गरेकी रहिछन्।

बिरामीको भिड थियो। ति नानीको बोल्ने जाँगर थिएन। मलाई भाइरल भनेर उनलाई फिर्ता गर्न मन लागेन। अनि जाँचेर हेर्दा बाथ मुटु रोग लागिसकेको रहेछ। र, त्यसलाई प्रमाणित गर्न र कति असर गरेको रहेछ भनेर पत्ता लगाउन बुटवल पठाएको थिएँ। फर्केर एक हप्तापछि उनी आउँदा मैले शंका गरेको मिलेछ। उनलाई बाथ मुटुरोग लागेको रहेछ। हरेक एक्काइस दिनमा ‘पेनिसिलिन’ सुई लगाउनुपर्ने भएछ।

ती १४ वर्षीया ती किशोरीको एकदिन बिहे हुनेछ। त्यतिखेरसम्म मुटु रोगको अवस्था पनि अहिलेको भन्दा जटिल हुनेछ। बिहेपछि आमा बन्ने रहर अवस्य हुनेछ। आमा बन्नुपूर्व सहि चिकितसकिय सल्लाह नभएमा धेरै जटिलता आउने जोखिम उच्च हुन्छ।

तर, सामान्य अवस्था जस्तो सजिलो भने पक्कै हुनेछैन उनलाई। जोखिमपूर्ण अवस्था हेरेर गर्भ नबोक्न पनि सल्लाह दिनुपर्ने हुन सक्छ। कस्तो बिडम्बना। यति सोच्दै उनलाई बिदा गरेको थिएँ मैले ।

बाथ रोग पत्ता लगाउन र यही क्षेत्रमा सेवा दिन त्यो घटनाले मलाई झनै उद्दत गर्यो। समयमा पत्ता लगाउन सके जटिल अवस्थामा पुग्नबाट बचाउन सकिन्छ।

बुझ्दै जाँदा मैले आशा गरेभन्दा जटिल रहेछ हाम्रो देशमा यसको अवस्था। यसको बारेमा सामान्य जानकारी हुनुपर्ने ब्यक्तिमा समेत जानकारी नभएको पाए मैले। त्यसैले पहिले मेडिकल बिधा पढ्नेहरूमा यस बारेमा जानकारी गराउनु पर्ने देखिएको छ। अनि नजिकको सिएमए पढाई हुने कलेजमा समय मागेर १ घन्टामा अहेव/अनमीकोको मस्तिष्कमा यस बारेमा केही जानकारी भर्नुपर्ने पनि देखिन्छ।

अरु ट्रेनिङहरू चलिरहेको समयमा बिचमा केही समय निकालेर यसको बारेमा भन्ने गरेको छु मैले। त्यसैले म बेला-बेला कहि कतै बोल्ने अवसर पाउने वित्तिकै यसको बारेमा जानकारी दिने गर्छु।

शायद त्यसैको परिणाम होला। अहिले समय-समयमा फोन आउँछ बिभिन्न स्वास्थ्यसंस्थाहरूबाट। जे होस् यसरी फोन आउँदा बालबच्चाहरूमा बिशेष देखिने यो बाथ रोग समयमा नै पत्ता लाग्न थोरै भए पनि टेवा पुगेको छ भन्ने महसुस हुन्छ। तर, यो प्रयाप्त भने होइन।

यसबारे चेतनामूलक जानकारी स्कुलका शिक्षकमा ८, ९ कक्षामा पढ्ने विद्यार्थीमा गराउन जरुरी छ। यसो गर्ने सके यो निकै प्रभावकारी हुने थियो। निशुल्कको आदेशमा सुन्य जागर नहोस्। यस क्षेत्रमा पनि सरकारले केही गरोस्। केही बजेट छुट्यावस्।

One thought on “नलेखिएको ‘बाथ मुटु’ रोगीको कथा : न सरकारलाई दुख्यो, न कसैले बुझे

  1. Dear Dr. Shambhu Khanal. I liked your article very much. Where are you working now a days? Nepal heart foundation is raising this issue for last 20 years. I wish to talk to you and need your involvement in this issue. Please give me your email address and mobile. My number is 9851051170. [email protected]
    Dr. Prakash Raj Regmi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय