बारा र धनगढीमा गरि एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु

बारामा एकै दिन कोरोनाभाइरस संक्रमणका कारण चारजनाको मृत्यु भएको छ। वीरगञ्जमा सञ्चालित दुई कोभिड विशेष अस्पतालमा भदौं ९ गते मंगलबार बिहानदेखि रातिसम्मको अन्तरालमा चार व्यक्तिको ज्यान गएको हो।

मृत्यु हुने सबैजना बारा जिल्लाका नागरिक रहेका छन्। बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ज्यान गएको हो।

वीरगन्जस्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा दुईजना पुरुषको मंगलबार राति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए।

विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजेको कोभिड अस्पतालमा मृत्यु भएको हो। मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए।

यसैगरी कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो। गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको डा. चौरसियाले बताए।

यसअघि मंगलबार बिहान बाराकै दुईजना संक्रमितको नारायणी अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको थियो।

मंगलबार बिहान मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुष रहेका छन्।

धनगढीमा थप एक संक्रमितको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

केही दिनदेखि धनगढीमै रहेको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका ति पुरुषमा मंगलबार बेलुका कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार राती नै सेती प्रादेशिक अस्पतालमा लगिएको थियो।

उपचारका क्रममा संक्रमण पुष्टि भएपछि निसर्ग अस्पतालको मंगलबार रातिदेखि नै आइसियु वार्ड सिल गरिएको छ। ति मृतकको शव नेपाली सेनाले ब्यबस्थापन गर्ने त्यसका लागि नेपाली सेनाको टोली सेती अस्पताल पुगिसकेको छ।

यससँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ११ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय