तेस्रो वर्षका चुनौती र सन्तोष

प्रकाशकीय
प्रकाशित
२०७७ भदौ ९ गते १०:५९

हेल्थपोस्टनेपाल तेस्रो वर्षमा प्रवेश गरिरहँदा कोरोना भाइरस महामारीका कारण संसारको गति नै खल्बलिरहेको छ।

विश्व स्वास्थ्य संकट हरेक दिन चुलिँदै गइरहेको बेला परेको यो वार्षिकोत्सवसँग धेरै चुनौतीका चिन्तन जोडिएर आउँछ। र, पक्कै केही खुसी पनि छौं, जुन सबै सरोकारवाला महानुभावसँग साझेदारी गर्न चाहन्छौं।

तीन वर्ष पहिले आजैका दिन हामीले एउटा प्रण गरेका थियौं– स्वास्थ्य क्षेत्रलाई सूचनाको जंगलबाट निकाल्छौं एवं सूचना, कर्म, पात्र र प्रवृत्तिलाई एउटै प्लेटफर्मबाट वस्तुगत, सकारात्मक ढंगबाट पस्कन्छौं।

आजको परिस्थिति ज्ञातै छ, पूरै संसार मानव स्वास्थ्यमा घुमिरहेको छ। सन् २०२० जीवनरक्षाको चुनौतीसँग मात्र खेल्नुपर्ने वर्ष साबित हुँदै छ। र, त्यो अझ लम्बिन सक्छ। कहिलेसम्म भन्ने कुरामा कोही प्रष्ट छैन। कोरोना भाइरससामुन्ने सबै सिकारु छन्।
यो संगिन घडीमा हेल्थपोस्टनेपालको उद्देश्य झनै पेचिलो बनेको छ। हेल्थपोस्ट नेपालमा ज्यान भर्ने क्रममा हामीले सधैं भन्दै आएका छौं– ‘हेल्थ फस्ट’।

‘विद्याम् धनम् सर्व धनम् प्रधानम्’ भनेर सांस्कृतिक चिन्तन विकास गर्दै आएका हामी आज ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने बुझाइलाई पनि सँगसँगै लानुपर्ने अवस्थामा छौं।

स्वास्थ्य प्रधानताको यो आमचिन्तनलाई हेल्थपोस्टनेपालको मूल–दर्शनका रूपमा उजिल्याउन यो तीन वर्षमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै सरोकारवालाले अमूल्य योगदान पु-याउनुभएको छ।

आज देशभर फ्रन्टलाइनरका रूपमा खटिएका उहाँहरूले हेल्थपोस्टनेपालमा निरन्तर लेखरचना, विश्लेषण पठाउनसमेत समय निकाल्नुभएको छ। यो नै हामीले पाएको दुलर्भ पहिचान हो।

यही सन्दर्भमा निजी क्षेत्रले जनस्वास्थ्य क्षेत्रमा देखाएको उत्कट अभिरुचिलाई हामी स्वागत तथा प्रशंसा गर्न चाहन्छौं। अबको लगानी आफू र समाजलाई स्वस्थ राख्न केन्द्रित गर्नु नै वास्तविक सुरक्षा हो भन्नेमा निजी क्षेत्र विश्वस्त भएको देखिन्छ।

हेल्थपोस्टनेपालले सधैं उद्यमशीलतालाई प्रोत्साहित गरेको छ, गरिरहने छ। विज्ञापनदाताहरूले यसबीचमा हेल्थपोस्टनेपालप्रति स्वतःस्फुर्त रूपमा देखाएको विश्वास सराहनीय छ।

हाम्रो प्राण नै सूचना हो। जुन सत्य, तथ्य र उत्तरदायित्वमा आधारित हुनेछ।

अनलाइन अबको युगको अकाट्य माध्यम हो। हामीले पाठकको स्तर पर्गेल्ने अद्भूत क्षमतामा निरन्तर विश्वास गरेका छौं। पाठककै भरोसाबाट हामी निरन्तर अग्रगतिमा रहने छौंं।

यहाँहरू सबैप्रति हार्दिक साधुवाद! सधैं सुसूचित हुनुहोस् अनि स्वस्थ रहनुहोस्!

सुन्दर खनाल
अध्यक्ष/प्रधानसम्पादक

One thought on “तेस्रो वर्षका चुनौती र सन्तोष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय