गर्भावस्थामा अस्पतालको भर, अस्पतालमा कोरोनाको डर

वसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ भदौ ९ गते ८:२१

भरतपुर ११ की यमकुमारी थापा भरतपुर सामुदायिक अस्पतालमा नियमित गर्भ परीक्षण गराउँदै आएकी थिइन्। चिकित्सकले थापालाई भदौ ६ गते प्रसूति हुने समय दिएका थिए।

तर, सेतो पानी बग्ने समस्या आएपछि साउन ३२ गते उनी नियमित परीक्षण गराउन भरतपुर सामुदायिकमा पुगिन्। चिकित्सकको अभाव देखाएर अस्पतालले भर्ना लिन मानेन।

बच्चा जन्मने समयमा हुने पीडासँगै उनी भरतपुर अस्पताल पुगिन्। त्यहाँ टिकट लिइन्। तर, लाइनमा बस्ने समयमा प्रसूति विभागका प्रमुख डाक्टर सुनिलमणि पोखरेललाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकाएक सेवा अवरुद्ध हुनपुग्यो।

‘भरतपुर सामुदायिकले भर्ना लिनै मानेन। भरतपुर अस्पतालमा टिकट काटेर वेटिङ रुममा बसे पनि डाक्टरलाई भेट्न पाइनन्,’ उनले सुनाइन्, ‘पछि डाक्टरलाई संक्रमण भएको भन्दै सेवा नै दिन मानेनन्।’

उनको नर्मल डेलिभरी हुने सम्भव थिएन। पहिलो बच्चा जन्माउन अप्रेशन गर्नुपरेको थियो। अहिले पनि अप्रेशन गर्नुपर्ने बाध्यता अवस्था थियो। अस्पतालले भर्ना लिन मानेन।

प्रसूति व्यथा लागिसकेको छ। उनी श्रीमानसँगै चितवन मेडिकल कलेज पुगिन्। त्यहाँ अस्पतालले कोरोना नेगेटिभ भएको कार्ड खोज्यो। धन्न उनले यसअघि नै कोरोना परीक्षण गराएकी थिइन्। नेगेटिभ आएको कार्ड देखाएपछि कलेजले भर्ना लिन मान्यो। साउन ३२ गते नै उनले छोरीलाई जन्म दिइन्।

यो त एउटा प्रतिनिधि घटना भयो। कोरोनाको जोखिम त जति छ। गर्भवती महिलामा त्यसको डर अझ बढी छ। त्यसमा पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालहरुमा सेवा नियमित रुपमा सञ्चालन हुन सकेका छैनन्। त्यसको प्रत्यक्ष मार गर्भवती महिलामा परेको छ।

‘भरतपुरका अस्पतालमा कोरोनाको त्रास छ। त्यही भएर श्रीमतीलाई प्रसूतिव्यथा लागेपछि हेल्थपोस्ट लगेको थिएँ। भर्ना लिन नै मानेन,’ खैरहनीका राम महतोले भने, ‘कोरोनाको डर भए पनि निषेधाज्ञाको समयमा एम्बुलेन्स खोजेर भरतपुर अस्पतालमा ल्याउनुप-यो।’

भरतपुर अस्पतालमा नर्स र चिकित्सकमा कोरोना संक्रमण हुँदा बिरामीमा पनि त्रसित छन्। अहिले भरतपुर अस्पतालमा प्रसूति हुन आउने महिलाको संख्या घट्दै गएको छ।

लकडाउनसँगै कारोनाको त्रासका कारण प्रसूति हुन आउने गर्भवतीको संख्या घटेको भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर युवानिधि बर्सौला बताउँछन्।

‘भरतपुर अस्पताल मोफसलको सबैभन्दा ठूलो प्रसूति सेवाप्रदायक अस्पताल हो। यहाँ टाढा–टाढाका महिलाहरु पनि प्रसूति गराउन आउँछन्,’ डा. बर्सौलाले भने, ‘अहिले लकडाउनका कारण यहाँ आउन सम्भव नभएका कारण प्रसूतिलाई आउने संख्यामा घटेको छ।’

भरतपुर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्म दिनेको संख्या पनि घट्दै गएको छ। लकडाउनको अवधिको चार महिनाको तुलना गर्दा १ सय ६६ जना कमी आएको छ।

लकडाउन अवधिमा मात्र चितवनमा ५ हजार ८ सय ८१ जनाले सेवा लिएका छन्। गत आर्थिक वर्ष लकडाउन अवधिको समयमा ७ हजार १ सय ११ जनाले प्रसूति सेवा लिएका थिए।

यसरी तथ्यांक केलाउँदा यस अवधिमा १ हजार २ सय ३० जनाले घटेको देखिन्छ। प्रसूति गराउन अस्पतालसम्म नआउनु कोरोनाकै कारण भएको डा.बर्सौलाको बुझाइ छ।

अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा भरतपुर अस्पतालबाट १३ हजार ५ सय ४५ जनाले प्रसूति सेवा लिएका थिए। गत आर्थिक वर्षमा ९ सय ३ जना घटेर १२ हजार ८ सय ४२ जनाले प्रसूति सेवा लिएका छन्।

शल्यक्रिया गरेर बच्चा जन्माउने घटे

भरतपुर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्म दिनेको संख्या पनि घट्दै गएको छ। लकडाउनको अवधिको चार महिनाको तुलना गर्दा १ सय ६६ जना कमी आएको छ।

यो लकडाउन अवधिमा १ हजार १ सय ११ जनाले शल्यक्रिया गरेका थिए भने अघिल्लो वर्षको यस अवधिमा १ हजार २ सय ६६ जनाले शल्यक्रियामार्फत बच्चालाई जन्म दिएका थिए।

लकडाउन अवधिमा नर्मल प्रसूति हुनेको संख्या २ हजार ९ सय ६४, गम्भीर प्रकृतिको अप्रेसन ५६ वटा भएको छ।

नवजात शिशुको मृत्युदर बढ्यो
भरतपुर अस्पतालमा शिशुको मृत्यु हुनेक्रम पनि बढिरहेको छ। अस्पतालमा लकडाउन अवधिमा मात्र ७० जना शिशुको मृत्यु भएको अस्पतालको तथ्यांक छ।

अघिल्लो वर्षको यो अवधिमा ५८ जना शिशुको मृत्यु भएको थियो। यस्तै, यो अवधिमा अस्पतालमा प्रसूति सेवा लिन आएका एकजना आमाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

अस्पतालको तथ्यांकअनुसार ५ हजार ८ सय ८१ शिशुको जन्म हुँदा १३ को मृत्यु भएको हो। त्यसमध्ये जन्मेपछि उपचारक्रममा १३ र गर्भमै ५७ शिशुको मृत्यु भएको अस्पतालका तथ्यांक रहेको डा.बर्सौलाले जानकारी दिए।

कोरोनाको असर शिशु मृत्युदरमा पनि देखिएको छ। कम्तीमा ३, ६ र ९ महिनामा गर्भ परीक्षण गराउनुपर्नेमा दुर्गमका गर्भवती अस्पतालसम्म पुग्नसक्ने वातावरण नभएको उनले बताए। ‘जताततै कोरोनाको डर छ।

स्वास्थ्यकर्मीमा अझै बढी देखिन लागेको छ। महिलाहरु गर्भ परीक्षण गर्न जान डराउने गरेका छन्,’ उनले भने, ‘त्यसको असर अहिले शिशु मृत्युदरमा देखिएको छ।’

लकडाउनमा सहज रुपमा यातायातका साधन नपाइदा पनि गर्भवतीलाई समस्या भएको छ। ‘तीनवटा शिशुको बाटोमा ल्याउँदा ल्याउँदै एम्बुलेन्सभित्र जन्म भएको छ।

यो अवधिमा सबैभन्दा बढी महिना नपुगी जन्मेका शिशु छन्। कम तौलका शिशु बढी पाइएको छ, डा.बर्सौलाले भने, ‘स्वास्थ्य संस्थामा गएर नियमित परीक्षण गराउने वातावरण नहुँदा पनि यस्तो अवस्था आउन सक्छ।’

२०७६ चैतमा ५९३, वैशाखमा ३२१, जेठमा ९९८ र असारमा २३०० महिला गर्भजाँचका लागि अस्पताल पुगेमा अहिले औसतमा ५० प्रतिशतले कमी आएको तथ्यांक छ ।

कोरोनाका कारण अस्पतालमा जनशक्ति कम हुँदा पनि सेवामा केही प्रभाव परेको उनले बताए। ‘बिरामीको चाप उच्च छ। हाम्रो जनशक्ति कम छ।

यसअघि हेल्थका विद्यार्थी आएर सहयोग हुन्थ्यो। अहिले उनीहरु पनि आएका छैनन्, उनले भने, ‘जसले गर्दा काममा केही प्रभाव परेको छ।’

कोभिड–१९ जस्ता महामारी जोखिम नियन्त्रण गर्दै उपचार दिनका लागि विभिन्न संघसंस्थाले तालिम प्रदान गरेका छन्। तर, भरतपुर अस्पतालले कोरोना जोखिमको अवस्था हेरेर प्रसूतिका लागि छुट्टै वैकल्पिक व्यवस्था भने गरेको छैन।

शिशु मृत्युदर घटाउनका लागि अस्पतालले नवजात शिशु सघन उपचार कक्ष र नवजात शिशु उपचार कक्ष गरी २७ शैय्याको उपचार कक्ष बनाएको छ।

त्यसका साथै मायाको न्यानो अँगालो सेवा (कंगारु मदर केयर) पनि गोल्डेन कम्युनिटी संस्थाको सहयोगमा सञ्चालनमा भएको छ। अहिले सघन उपचार कक्षमा राखिएका अधिकांश शिशु कम तौलका रहेको उनले बताए।

लकडाउन अवधिमा मात्र ३ सय ५२ जना शिशुले सेवा पाएका छन्। त्यस्तै, कंगारु मदर केयरबाट ५८ जनाले सेवा लिएको जनाइएको छ।

विशेषगरी कम तौलको शिशु, अक्सिजन लिन नसक्ने, कुनै संक्रमण भएका शिशु, दिसा निलेका शिशु, निमोनिया, महिना नपुगी जन्मिएका शिशु, नवजात शिशुलाई सघन उपचार कक्षमा राखेर उपचार गर्ने गरिएको छ।

यहाँ नवजात शिशु सघन उपचार कक्ष १२ बेडको छ। यस्तै, उपचार गरेर सुधारोन्मुख भएका शिशुलाई नवजात शिशु विशेष उपचार कक्षमा राखिन्छ।

अहिलेसम्म ७ सय ५० ग्रामतौल भएको शिशु पनि सफल उपचार भएर गएको अस्पतालले जानकारी दिएको छ। सामान्यतया २ किलोभन्दा कम तौल भएका शिशुलाई एनआइसियूमा राख्ने गरिन्छ।

नेपाल सरकार, गोल्डेन कम्युनिटी सेन्टर, युनिसेफ र लायन्स क्लवको सहयोगमा नवजात उपचार कक्षमा शिशुको उपचारका लागि आवश्यक पर्ने उपकरण राखिएको हो।

साथै, सोसम्बन्धी स्वास्थ्यकर्मीलाई समय समय तालिमसमेत प्रदान हुने गरेको छ। जसले गर्दा शिशुको उपचारमा सहज भएको मेटनिटी वार्ड इन्चार्ज हीरादेवी सुवेदीले बताइन्।

कोभिड–१९ जस्ता महामारी जोखिम नियन्त्रण गर्दै उपचार दिनका लागि विभिन्न संघसंस्थाले तालिम प्रदान गरेका छन्। तर, भरतपुर अस्पतालले कोरोना जोखिमको अवस्था हेरेर प्रसूतिका लागि छुट्टै वैकल्पिक व्यवस्था भने गरेको छैन।

एकजना चिकित्सकलाई कोरोना संक्रमण हुँदा काठमाडौं बाहिर सवैभन्दा बढी प्रसूति हुने विभाग नै बन्द गर्नुप-यो।

त्यसका लागि चिकित्सकको पनि बैकल्पिक व्यवस्था गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। महामारीको समयमा कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा हेल्थ सर्भाइस जस्ता संघसंस्थाले पनि सहयोग गर्दै आएको बताइएको छ।

नवजात शिशु बाँच्ने र स्वस्थ जीवनको सम्भावना जन्मेको पहिलो घण्टाभित्र दिइने स्याहारमा भरपर्ने डा. बर्साैलाले बताए।

यसमा आमालाई सुत्केरी अवस्थामा दिइने स्याहारको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने उनी बताउँछन्।

भरतपुर अस्पतालले मासिक रूपमा निकाल्ने बुलेटिनअनुसार अस्पतालमा सरदर दैनिक ३० शिशु प्रसूति कक्षमा र १० जना अप्रेशन कक्षमा जन्मन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय