उपत्यका नगरपालिका फोरमको दैनिक २० हजार कोरोना परीक्षण गर्ने तयारी

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ७ गते १९:०८

नगरपालिका फोरमले उपत्यकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने तयारी गरेको छ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्ञणका लागि फोरमले दैनिक २० हजारको कोरोना परीक्षण गर्ने गरि तयारी गरेको हो।

आइतबार नगरपालिका फोरमका पदाधिकारी काठमाडौं महानगरका मेयर तथा फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य ललितपुर महानगरका चिरिबाबु महर्जन र मध्यपुर ठिमी नगरपालिकाका मदनसुन्दर श्रेष्ठले उपत्यकामा कोरोना भाइरसको जोखिम कम गर्न परीक्षणको दायारा बढाउने बताएका हुन्।

‘पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ, यो प्रक्रिया निरन्तर रहने हो भने समुदायस्तरमै पुग्ने खतरा हुन्छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगर प्रमुख शाक्यले भने ,‘संघीय राजधानी समेत रहेको र अत्यन्त घनावस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ । त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने भएका छौँ।’

मेयर शाक्यले त्यसका लागि व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको तयारी गरेको उनले बताए।

‘कोरोना संक्रमण बढ्दै गएपछि केही दिनदेखि उपत्यकामा निषेधाज्ञा जारी भएको छ।

‘हामी निषेधाज्ञाको अवधीलाई पूर्ण सदुपयोग ‘हटस्पट’ मा व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णयमा पुगेका छौँ, परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका सबैको उपचारको व्यवस्था गर्ने गरी अघि बढ्छौँ,’ उनले भने।

यसबारे थप छलफल गर्न सोमबार फोरमको बैठक बोलाएको छ।

सोमबारको बैठकले निर्णय गरी उपत्यकाका सबै पालिकामा जानकारीका लागि माइकिङ गर्नेलगायतका कार्यलाई पनि अघि बढाउने फोरमले तयारी गरेको छ।

शाक्यले कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरुलाई सम्पर्क गर्न समेत आह्वान गरुेका छन्।

नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले तालिका बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताए।

‘उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना छ, श्रेष्ठले भने,‘ सोमबार नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढछौँ।’

उनले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको भन्दै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दुबैलाई निरन्तर अघि बढाउने जानकारी दिए।

‘निषेधाज्ञामा हामीले उपत्यकावासीलाई घरमा बस्नु भनेका छौँ, यो अवधीमा केही पनि प्रयास नगर्ने र उहाँहरु घरमा मात्रै बस्ने हो भने समस्या समाधान हुँदैन,’ उनले भने,‘विदेशतिरको प्रयोगलाई हेर्ने हो भने पनि निषेधाज्ञाको समयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्दै आइसोलेट गर्दै जानुपर्छ, हामी त्यही बैज्ञानिक विधि अपनाएर अघि बढ्ने निर्णयमा पुगेका छौँ’

उनले यस्तो नगरे स्थिति भयावश हुन सक्ने बताउँदै उपत्यकाका सबै ‘हटस्पट’मा कन्ट्राक्ट ट्रेसिङका आधारमा टेस्टिङलाई अभियानकै रुपमा अघि बढाउने जानकारी दिए।
फोरमका पदाधिकारीले बैठक अघि विज्ञहरुसँग छलफल गरेका थिए। छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलगायतको सहभागिता रहेको थियो।

‘हामीले आज उपत्यका नगरपालिका फोरमका पदाधिकारीसँग कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङकै विषयमा बढी केन्द्रित रहेर छलफल गरेका छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठलेभने, ‘कन्ट्राक्ट ट्रेसिङमा कोही पनि नछुटोस भनेर सुझाव दिएका छौँ।’

उनले बैठकमा उपत्यकामा परीक्षणको दायरा बढाउन सुझाव दिएको पनि जानकारी दिए।

‘अहिले उपत्यकामा परीक्षणको दायरा बढाउनुको अर्को विकल्प छैन,’ तर, परीक्षण बढाउने नाममा अनावश्यक व्यक्तिको टेष्ट नगर्न पनि सुझाव दिएका छौँ।’

उनले प्रोटोकललाई ध्यानमा राखेर टेष्ट गराउन सुझव दिएका छन्। ‘अब उपत्यकामा ठूलो संख्यामा टेष्ट हुने उनले बताए। यस अघि बसेको नगरपालिका फोरमको बैठकले उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गर्नुका साथै बैठकले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन रसञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न पनि संघीय सरकारसँग माग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय