स्वास्थ्यकर्मी बस्न दिएको भन्दै ज्यान मार्ने धम्की दिए

शनिबार बिहान ६ बज्दै थियो। गेटबाहिर केही खैलाबैला भएजस्तो आवाज आयो।

कोही बोल्यो ‘छिट्टो बाहिर निस्की, के चोर जस्तो भित्र लुकेर बस्याछस्?’

उनी बाहिर नस्किए।

गेटमा ५०–६० जनाको हुल रहेको थियो।

त्यो हुलबाटै कोही ठूलै स्वरमा करायो ‘कोरोना लागेका डाक्टर, नर्सलाई ल्याएर राख्ने?’

अर्काे बोल्यो ‘तुरन्तै यहाँ बाट निकाल्…।’

बानेश्वरको लर्ड बुद्ध बोइज एण्ड गल्र्स होस्टल।

जहाँ सिभिल अस्पतालका स्वास्थ्यकर्मी होम क्वारेन्टाइन गरिएको छ।

स्वास्थ्यकर्मी बसेको घरमा स्थानीयले घेराउ गरे। त्यसको नेतृत्व गरेका थिए, बुद्धभूमि टोलका अध्यक्ष सुर्दशन गौतमले।

उनीहरुले होस्टेल सञ्चालक रोहित रानालाई ति डाक्टर, नर्सलाई नहटाए ‘ज्यानै मार्ने’ धम्की पनि दिए।

राना आफै पनि स्वास्थ्यकर्मी हुन्, ल्याव टेक्निसियन।

उनी आफैं संक्रमितको स्वाब परीक्षणका लागि फ्रन्टलाइनमै छन्।

कोरोनाको आंशका गरेका व्यक्तिहरुको नुमना संकलन र परीक्षण उनको काम हो।

‘बिहान आफ्नो ज्यान जोगाउनै गाह्रो भएको’ उनले सुनाए।

‘बिहान टोल विकास समितका अध्यक्ष सुर्दशन गौतम, दिनेश खड्का लगायतका ५०–६० जनाको मलाई घेरा हाल्नुभयो’, रानाले भने, ‘स्वास्थ्यकर्मीलाई ननिकाले हात–खुट्टा भाँच्ने सम्म धम्कीको भाषा प्रयोग गर्नुभयो।’

बिहानको यो डरले उनी साँझैसम्म काँपिरहे।

‘अब त भाइरससँग भन्दा पनि यो समाज अनि यहाँका मान्छेसँग पो डराउनुपर्ने भयो’ उनले भने ‘भोलि तपाइँहरुलाई भाइरस लाग्यो भने उपचार गर्ने त हामी स्वास्थ्यकर्मी नै होला नि।’

बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनका लागि दिएका थिए।

उनीसँग स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नको लागि अस्पतालले सहमति गरेको छ।

सोही अनुसार भदौं ४ गतेदेखि केही स्वास्थ्यकर्मी होस्टल बस्न थालेका छन्।

रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक तनावमा रहेको बताउँछन्।

‘दलाल, को–सँग कति खाएर यहाँ लेराएर आइस भन्ने प्रश्न समेत गर्नुभयो’, उनी भन्छन्, ‘समाजसेवा गर्दा दलालको नाम पाए, मन त अझैं दुखिरहेको छ।’

मानिसको भीड देखिएपछि प्रहरी आइपुगे पनि भीड केही पातलो भयो।

प्रहरीले रानालाई पनि ढाडस दियो। तर, पनि उनको मन बिचलित भइरहेको छ। यस्तै भइरहे कानुनी बाटो नै लिने सोचमा उनी पुगेका छन्।

अस्पताल प्रशासन भन्छ– संक्रमित त राखेका होइनौँ  नि !
अस्पतालमा केही स्वास्थ्यकर्मी तथा बिरामीमा संक्रमण देखिएपछि उनीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा लागि होस्टलमा राखिएको अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसी बतताउँछन्।

कोरोना परीक्षणको रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइनमा राखेको डा. आरसीले बताए।

‘यस्तो महामारीको बेला फ्रन्टलाइनमा रहेर काम गर्ने समुदायको सेवामा स्वास्थ्यकर्मी दिन–रात खटिने गरेका छन्’, डा। आरसीले भने, ‘तर, जनताले नै विरोध जनाएपछि उहाँहरूलाई स्वास्थ्यकर्मीले कहाँ बसेर सेवा दिने, कसरी विरामीको जीवन रक्षा गर्ने? ’

स्थानीयले गरेको यस्तै व्यवहारले स्वास्थ्यकर्मीको मनोबल घट्दै गएको उनले बताए।

‘घरमा बस्ने ठाउँ नभएका स्वास्थ्यकर्मीलाई हामीले केहि समयका लागि होम क्वारेन्टाइनमा राखेका हौं’, उनले भने, ‘उहाँहरू संक्रमित पनि हुनुहन्न, अस्पतालमा सुरक्षित साथ ड्यिुटी गरेर फर्किनु भएको छ। तर, स्थानीयले स्वास्थ्यकर्मीको पीडा बुझ्नसक्नु भएन।’

‘आज उहाँहरूले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई बस्ने नदिए भोलि आफै संक्रमित भए कसले उपचार गर्छ ? ’, उनले भने।

2 thoughts on “स्वास्थ्यकर्मी बस्न दिएको भन्दै ज्यान मार्ने धम्की दिए

  1. स्वास्थ्यकर्मीहरूसंग यस्तो पाशविक घटिया दुर्व्यवहार गर्ने कसैलाई नि छोड्नु हुदैन। अब आयन्दा कसैले यस्तो दुस्साहस नगरोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय