प्लाज्मा थेरापी प्रयोग गरिएका एक कोरोना संक्रमितको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

धरान १५ निवास ६७ वर्षीय वृद्धको आज निधन भएको हो। मृतकको स्वास्थ्य अवस्था सिकिस्त भएपछि हिजो प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो।

तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकिएन। उनी बिपीमा प्लाज्मा थेरापी गरिने दोस्रो संक्रमित हुन्। उनीभन्दा अघि प्लाज्मा थेरापी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ।

प्रतिष्ठानका अनुसार उनको आज मध्याह्न सवा १२ बजे निधन भएको हो। उनलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएको थियो। साथै मृतक उच्च रक्तचापको दीर्घ रोगी भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो। उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो।

मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए। यसअघि पनि धरान -१५ की कोरोना संक्रमित ७१ वर्षीय वृद्धाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय