भरियो बुटवल कोरोना अस्पतालको आइसियु बेड
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष -अस्थायी अस्पतालको आईसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन्। अस्पतालमा रहेका १६ वटा बेड बिरामीले भरिएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले जानकारी दिए।
डा. खनालका अनुसार १६ वटा बेडमा रहेका ८ जना बिरामीलाई अक्सिजन दिई उपचार गरिरहिएको छ भने २ जना बिरामी भेन्टिलेटरमा रहेका छन्।
अब आईसियुमा राख्नुपर्ने बिरामी भए अवस्था जटिल बनेको डा. खनालले बताए।
कोरोना बिशेष अस्पतालको आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम जारी छ।
३६ बेडको आइसोलेसन कक्षमा २१ जना भर्ना भएर बसेका छन्। अर्कोतिर लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा पनि बिरामी भरिएको डा। खनालले जानकारी दिए।
बुटवलमा लक्षण नदेखिएका संक्रमितहरुलाई सामुदायिक आइसोलेसन र होम आइसोलेसनमा राख्ने गरिएको छ।
उनका अनुसार सामान्य लक्षण देखिएका कोरोनाका बिरामीहरुलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ। तर तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आइसियुमा भर्ना गर्ने गरिएको छ।
अस्पतालका अनुसार बुटवलको कोरोना अस्पतालमा आइसियुमा रहेका अधिकांश बिरामी कपिलवस्तु जिल्लाका हुन्।
बाँकी रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी र दाङका छन्। आइसियुमा रहेकाहरुमा खोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ। कडा खालको निमोनिया देखिएको छ।
बुटवलको बिशेष कारोना अस्पतालको संचालन लुम्बिनी प्रादेशिक अस्पतालले गरिरहेको छ।
लुम्बिनी प्रादेशिक अस्पतालसँगै प्रदेश ५ मा हाल कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल भैरहवा, दाङ बेलझुण्डीमा रहेको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन्।
भीम अस्पतालले कोरोना संक्रमित बिरामी सबैलाई डिस्चार्ज गरेपछि अस्पतालले पुनः सेवा सुरु गरिसकेको छ। त्यहाँ कोरोनाका बिरामी भर्ना छैनन्।