माननीयज्यु! १० हजार भेन्टिलेटरसहितको आइसियु चलाउन के/के चाहिन्छ थाहा छ?

भदौ ६  -संघीय संसदको कानून, न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरसका संक्रमितको उपचारका लागि तत्काल १० हजार भेन्टिलेटर र आइसियु थप्न सरकारलाई निर्देशन दियो ।

सभापति कृष्णभक्त पोखरेल अध्यक्षताको भर्चुअल बैठकले शुक्रबार स्वास्थ्य अधिकारीसँग छलफलपछि समितिले यस्तो निर्देशन दिएको थियो ।  निर्देशनअघि समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीसँग कोभिड १९ उपचार र रोकथामका कार्यबारे छलफल गरेका थिए ।

कोरोना महामारी बढेको, होमक्वारेन्टाइनमा संक्रमितको मृत्यु हुन थालेको अवस्थामा समितिको निर्देशनले वाहवाही पाएन । किनकी, यसको कार्यन्वयन कठीन र असंभव थियो ।
क्रिटिकल केयर स्पेसियालिस्ट एवं त्रिवि शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा. सुवास आचार्यले हचुवाको निर्देशन भने ।

यसअघि एसोसियसन अफ प्राइभेट हस्पिटल एण्ड नर्सिङ होम (अपीन) अध्यक्ष वसन्त चौधरीले त ट्वीटमार्फत् नै समितिको निर्णय कार्यन्वयन गर्न संभव नभएको टिप्पणी गरेका थिए ।
चौधरीले समितिको निर्णयलाई सपनाको संज्ञा दिँदै १० हजार आइसियु भेन्टिलेटर थप्न लाग्ने स्रोत र समयबारे उल्लेख गरेका छन् ।

चौधरीले ट्वीटमा १० हजार आइसियु र भेन्टिलेटर थप्न कम्तिमा ३० अर्व आश्यक पर्ने उल्लेख गरेका छन् । समयमा आधारमा पनि यति संख्यामा आइसियु तयार पार्न कम्तिमा १ वर्ष लाग्ने र अहिले संसारका कुनै पनि मुलुकले आजको अवस्थामा उपलब्ध गराउन नसक्ने टिप्पणी गरे ।

भौतिक निर्माण र उपकरण व्यवस्थापनका आधारमा चौधरीले एक वर्ष लाग्ने बताए ।

तर, डा. आचार्यले सरकार र सासंदले अहिले पनि आइसियुलाई भेन्टिलेटर र बेडको रुपमा मात्रै बुझेको बताए । ‘उपकरण र अन्य संरचना पनि संभव होला रे!, तालिम प्राप्त जनशक्ति कहाँबाट ल्याउने’ डा. आचार्यले भने, ‘सक्ने र चाहिने कुरा नगर्ने तर, हावा कुरा गर्ने ?’

‘आँटिला प्रधानमन्त्री भएको देश हो, दश हजार बेडको आइसियु बनाएरै छाड्छौं, भन्नुभयो भने, के/के चाहिएला त ?’

आइसियुमा कहलिएका विज्ञ डा. आचार्यलाई हामीले सोध्यौं । ‘आँटिला प्रधानमन्त्री भएको देश हो, दश हजार बेडको आइसियु बनाएरै छाड्छौं, भन्नुभयो भने, के/के चाहिएला त ?’

हाम्रो प्रश्नसँगै अविश्वास मिश्रित शैलीमा आचार्यले भने, ‘कम्तिमा पनि ४० हजार आइसियुमा काम गर्न ट्रेन नर्स चाहिन्छ, १ हजार क्रिटिकल केयर स्पेसियालिस्ट, २ हजार मेडिकल अफिसर/रेजिडेन्ट चाहिन्छ’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि आइसियु भेन्टिलेटर बेडमा एक बेडको अनुपातमा एउटा नर्स हुनुपर्छ ।

आठ घण्टा ड्युटी, सातामा एक दिनमात्रै विदा बसेर पनि २४सैं घण्टा नर्सिङ केयरका १० हजारका लागि कम्तिमा ४० देखि ५० हजारसम्म नर्स चाहिन्छ । जब कि नेपालमा आइसियुमा ट्रेन नर्सको संख्या नै हजार हाराहारीमा छन् ।

एउटा विशेषज्ञले १० बेडलाई हेर्दा पनि १ हजार क्रिटिकल केयर स्पेसियालिस्ट चाहिन्छ । नेपालमा क्रिटिकल केयर स्पेसियालिस्टको संख्या ३० हाराहारीमा छ ।

विशेषज्ञ नभएका ठाउँहरुमा केयरमा एनेस्थेसियोलोजिस्ट हेर्नसक्छन् । त्यस्तो अवस्थामा एनेस्थेसियोलोसिस्टको संख्या पनि ५ सय हाराहारीमा छन् ।

यी विशेषज्ञहरु अझै बढी संलग्नता शल्यक्रियामा पनि हुने भएकोले आइसियु केयरमा लगाउन संभव छैन् ।

आइसियुमा गम्भीर अवस्थाका बिरामी हुने भएकोले तोकिएको मापदण्डअनुसारका संरचना र संक्रमण नफैलियो भन्नका लागि विशेष सावधानी चाहिन्छ ।

उपकरणका आधारमा पनि विशेष बेड, भेन्टिलेटरबाहेक, मोनिटर, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, ब्लड ग्याँस मेसिन, डाइलासिस मेसिन, इन्डोस्कोप, ब्रोङ्कोस्कोप, अल्ट्रासाउन्डलगायतका उपकरण चाहिन्छ ।

एकै ठाउँमा यति धेरै आइसियु भेन्टिलेर बनाउन आवश्यक नहुने र धेरै ठाउँमा बनाउँदा यस्ता अन्य उपकरण पनि सोहीअनुसार जोहो गर्नुपर्ने हुन्छ ।

गर्न सक्ने चाँही के छ ?
उल्लेखनीय रुपमा भेन्टिलेटरसहितको आइसियु थप्न त्यति सहज छैन् भने बढ्दो महामारी र गम्भीर अवस्थाका बिरामीको व्यवस्थापनको विकल्पै छैन् त ?

डा. अचार्यले तत्काल कम्तिमा ५ सय बेडको कोभिड डेडिकेटेड अस्पताल तयार गरेर सबै अस्पतालमा भएका उपकरण, जनशक्तिलगायतका संभावनालाई एकीकृत गरेर ‘रोटेसन’मा कोभिड १९ उपचारको प्रवन्ध गर्न सकिन्छ ।

‘५/५ सय बेडको दुई वटा अस्पतालको योजना बनाउँदा योभन्दा जटिल अवस्था आउँदा पनि व्यवस्थापन गर्न सकिन्छ’ डा. आचार्यले भने ।

पहिलो चरणमा ५ सय बेडको अस्पताल बनाउँदा ५० बेड हाराहारीमा भेन्टिलेटर र त्यतिकै संख्यामा मोनिटरसहितको बेड हुँदा उपचार व्यवस्थित गर्न सकिने बताए ।

जनशक्ति व्यवस्थापन गर्दासमेत त्यही अस्पतालमा एक समय एउटा र अर्को समयमा अर्को अस्पतालको जनशक्ति लगेर संचालन गर्न सकिन्छ । ‘एक महिना टिचिङ अस्पतालको जनशक्तिले चलाउँछ, अर्को महिना अर्को गरेर ६ महिना त यसरी नै धान्न सकिन्छ’ डा. आचार्य भन्छन् ।

‘सबै स्रोत, साधन र जनशक्तिलाई एकिकृत गरेर सेवा दिँदा महामारी धान्न सहज हुन्छ’

त्यस्तो अवस्थामा तत्काल आवश्यक पर्दा विभिन्न अस्पतालमा रहेका मोनिटर भेन्टिलेटर जुटाउन पनि संभव हुन्छ । यसले भेन्टिलेटर आइसियु खोजीमा घुम्दाघुम्दा बिरामीको ज्यान जाने अवस्था पनि कम हुने चिकित्सकहरु बताउँछन् ।

‘सबै स्रोत, साधन र जनशक्तिलाई एकिकृत गरेर सेवा दिँदा महामारी धान्न सहज हुन्छ’ डा. आचार्यले थपे ।

सरकारले यस्तो विषयमा विशेषज्ञ बोलाएर छलफल गरेको आफूलाई जानकारी नभएको बताए । ‘सार्वजनिक रुपमा यस्तो सुझाब दिँदा इगोको रुपमा लिइन्छ, तर काम भएको छैन, हामी विशेषज्ञलाई यस्ता विषयलाई राजनीतिककरण गर्नु पनि छैन’ उनले भने ।

कति छ आइसियु र भेन्टिलेटर?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर ९ सय ४६ आसियु बेड रहेकोमा ४९६ वटा भेन्टिलेटर रहेको जनाएको छ ।

जसमा प्रदेश १ मा ४४ आइसियु १९ भेन्टिलेटर, प्रदेश २ मा ४८ आइसियु र १७ वटामा भेन्टिलेटर, प्रदेश ३ मा ६३० आइसियुमा ३६१ भेन्टिलेटर, गण्डकीमा १ सय ३७ आइसियुमा ५९ वटा भेन्टिलेटर छन् ।

त्यसैगरी प्रदेश ५ मा २९ आइसियु बेड रहेकोमा १३ वटा भेन्टिलेटर, कर्णालीमा ४० आइसियु बेडमा १७ भेन्टिलेटर र सुदूरपश्चिममा १८ वटा आइसियु बेडमा १० वटा भेन्टिलेटर छन् ।

डा. गौतमले केही आसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको बताए पनि महामारी यता कति आइसियु भेन्टिलेटर थपिए र अब कति थप्ने तयारी भइरहेको छ भन्ने खुलाएनन् ।

आइसियु संरचना बनाउँने र भेन्टिलेटर थप्ने क्षमता सरकार र निजी क्षेत्रसँग भएपनि आइसियु सेवा संचालन संसदीय समितिले निर्देशन दिएजस्तो सहज छैन् ।

One thought on “माननीयज्यु! १० हजार भेन्टिलेटरसहितको आइसियु चलाउन के/के चाहिन्छ थाहा छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय