इटहरीमा १ सय ३० जनाको स्वाब नै हरायो

सुनसरीको इटहरी उपमहानगरपालिकामा १ सय ३० सर्वसाधारणबाट लिइएको स्वाबको नमूना हराएको छ।

साउन ३० गते स्वाब लिएर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइए पनि हालसम्म उक्त नमूनाको नतिजा आएको छैन।

इटहरीका जनप्रतिनिधिनिले भने उक्त नमूना सोही दिन बिपी प्रतिष्ठानको कोभिड ल्याबमा कर्मचारीले पुर्याएको दाबी गरेका छन्।

उपप्रमुख लक्ष्मी गौतमले आफ्नो नगरका कर्मचारीले जिम्मेवारीपूर्वक काम गरे पनि ल्याबमा नमूनाको चाप रहेका कारण आफ्नो नगरका नागरिकको नमूनाको रिपोर्ट दिन ल्याब सक्षम नभएको गुनासो गरिन्।

उनले ल्याबले जिम्मेवार ढंगले जवाफ दिन नसकेको भन्दै गल्ती ल्याबबाटै भएको जिकिर गरिन्।

‘साउन ३० मा दिएको नमुुनाको रिपोर्ट किन आएनभन्दा बिपीको ल्याबले जवाफ नै दिन सकेन,’ उनले भनिन्, ‘हामीले आजै सबै व्यक्तिको नमूना संकलन गर्न भनेका छौं, यसको रिपोर्ट २४ घण्टा भित्रै आओस् भनेका छौं।’

साउन ३० मा नमूना दिएका सर्वसाधारणले ५ दिनपछि मात्र आफ्नो नमूना हराएको थाहा पाएका थिए। भदौ ३ गते नमूना हराएको थाहा पाएपछि शुक्रबार मात्र ती सर्वसाधारणलाई पुनः नमूना दिन खबर गरिएको थियो।

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीले बिपीमा पुर्याइएको स्वाबको नमूना प्राविधिक कारणले मिसप्लेस भएको जानकारी दिए।

उनले साउन ३० गते लिइएको नमूनाको पुनः स्वाब लिने काम भइरहेको बताए। ‘हामी अझै स्वाव लिँदै छौं,’ उनले हेल्थपोस्टसँग भने ‘स्वाब दिनले गल्ती मोबाइल नम्बर दिँदा समस्या भइरहेको छ, ३० गते दिनेले तुरुन्त हामीलाई सम्पर्क गरिदिनुुहोला।’

साउन ३० गते नै स्वाबको नमूना पठाएको सुनसरीको हरिनगर गाउँपालिकाको अहिलेसम्म रिपोर्ट आएको छैन। यी दुुवै पालिकाको एकैसाथ बिपीमा नमूना पठाइएको थियो।

इटहरीमा हालसम्म २ सय ७ सय ९० जनाको पिसिआर परीक्षण गरिएको छ। त्यसमध्ये ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २४ जना निको भएका छन्।

भदौ ३ र ४ गतेको नजिता आउन बाँकी रहेको चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय