विराटनगरको कोसी अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सुरु

प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सेवा सुरु भएको छ।

कोरोनाका लक्षणसहितका संक्रमितको उपचार गर्ने गरी आइसियु र भेन्टिलेटर सेवा सुरु गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताएका छन्।

उनले भने, ‘लक्षण भएकालाई विराटनगर ल्याइने छ।’ क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने मन्त्री घिमिरेको भनाइ छ।

कोसी कोभिड उपचार केन्द्रमा १० वटा आइसियु वेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए। आइसियुमा हाल तीन व्यक्ति उपचाररत रहेका छन्।

आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोसी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताए।

उनका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।

चैत २१ गतेदेखि सञ्चालनमा ल्याइएको कोरोना उपचार केन्द्रमा वैशाख ५ देखि कोरोना संक्रमितलाई भर्ना सुरु गरिएको थियो। उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन्।

भर्ना भएकामध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरी २ सय ७४ जना डिस्चार्ज भएका छन्। संक्रमित एक जनाको मृत्यु भएको छ। उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले बताए।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामीसम्मिलित विशेषज्ञ टिम छ।

अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय