अब भक्तपुर अस्पताल पनि कोरोना ‘डेडिकेटेड’ अस्पताल

भदौ ५–भक्तपुर अस्पताललाई पूर्णतः कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल बनाइने भएको छ । उपत्यकामा कोरोनाको बिरामी बढेपछि यो अस्पताललाई कोरोना उपचारको डेडिकेटेड अस्पताल बनाइन लागेको हो ।

अस्पतालमा भएका सबै पूर्वाधार कोरोनाका बिरामीको उपचारमा लगाउने अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले अत्यावश्यक आपतकालीन शल्यक्रिया गर्नुपर्ने अवस्थामा नजिकैको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण अस्पताललाई प्रयोग गरिने भएको छ ।

हाल अस्पतालमा रोगका लक्षण नदेखिएका संक्रमितलाई राख्नका लागि १० बेड लक्षण देखिएका बिरामी राख्न १५ बेड छुट्याइएको छ ।

‘अब अस्पतालका बेड र सुविधा पनि क्रमशः कोरोना संक्रमितको उपचारको निम्ति बन्दोबस्त गरिन्छ’ मेसु गौतमले भनिन् ।

अस्पतालमा अब सघन उपचार कक्ष (आईसीयू) सेवा पनि विस्तार गर्ने भएको अस्पतालले जनाएको छ । तत्काललाई पाँच वटा आईसीयू बेड तयारी अवस्थामा रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका पाँच वटा आईसीयू तयार रहेको अस्पतालले जनाएको छ । आइसियुका लागि आवश्यक जनशक्तिको कमी रहेको जनाइएको छ ।

आईसीयू चलाउने टोली बनाउन लागिरहेको अस्पतालले जनाएको छ । अस्पतालले नजिक रहेका सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर आईसीयू सञ्चालन गर्ने टोलीको तयारी गरिरहेको जनाएको छ ।

भक्तपुरको दूधपाटी आसपास पाँंच मिनेटको पैदलदूरीमै भक्तपुर अस्पताल, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण अस्पताल र भक्तपुर क्यान्सर अस्पताल रहेका छन् । भक्तपुर अस्पताल वीरपछि देशकै दोस्रो पुरानो अस्पताल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय