‘स्वास्थ्य विभाग नै ‘माफिया’ले चलाए’

‘कोरोना महामारीमा उपचार नपाएर प्रदेशका नागरिकहरू ज्यान गुमाइरहेका छन्, महामारीको ५ महिनाको अवधिमा प्रदेश सरकारले के के काम गर्‌यो ?’

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको यो प्रश्न थियो मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई।

‘कोरोनाकै बहानामा अस्पतालहरूले बिरामी जाँच्न मानिरहेका छैनन्, यहाँसम्म कि तपाईंहरूकै मातहतमा रहेको प्रादेशिक अस्पतालमा बिरामीले उपचार पाउन छोडिसके, के हेरेर बस्नुभएको छ तपाईंहरूरु’ यादवले फेरि अर्को प्रश्न तेस्र्याए।

संसदीय दलका नेता यादव र कोरोना महामारीमा समन्वय गर्न स्थानीय युवाहरूले सञ्चालन गरेको स्कुल अफ डेमोक्रेसीका सदस्यहरूले शुक्रबार मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री साहसामु यी प्रश्नहरू राखेका थिए।

मुख्यमन्त्री राउतले कोरोना महामारी नियन्त्रण र रोकथामका साथै सर्वसाधारणलाई सहज तरिकाले उपचार उपलब्ध गराउन प्रदेशभित्र प्रशासनिक सुधार आवश्यक रहेको प्रष्टीकरण दिएका थिए।

कोरोना नियन्त्रणका लागि आफूहरूले प्रयास गरे पनि कतिपय ठाउँमा त्रुटि भएको उनको भनाइ थियो ।

‘संक्रमण न्यूनीकरण गर्न स्वाब परीक्षण बढाउनेतर्फ हामी लागिपरेका छौं, चाँडै प्रदेशको आठवटै जिल्लामा पिसिआर मेसिन जडान हुन्छ,’ राउतले भने।

सुरुमा अन्योलताका कारण मेसिन खरिद गर्न ढिलाइ भएको भन्दै राउतले अब त्यो अन्योल हटिसकेको र गुणस्तरीय मेसिन खरिद गर्न सामाजिक विकासमन्त्री साहलाई निर्देशन दिएका थिए।

लगत्तै टोलीमा सहभागी कांग्रेस नेता जीवनाथ चौधरीले ‘प्रदेश अस्तव्यस्त भएजस्तो तपाईंलाई लागेको छैनरु’ भन्दै राखेको जिज्ञासामा मुख्यमन्त्री राउतले भने, ‘प्रदेश अस्तव्यस्त भएको कुरालाई म स्वीकार गर्छु । सुधारतर्फ हामी लागेका छौं।’

स्वास्थ्य विभाग नै माफियातन्त्रबाट सञ्चालन भइरहेकाले आफूहरूलाई कोरोना महामारीमा काम गर्न समस्या भइरहेको मुख्यमन्त्रीको जिकिर थियो।

मुख्यमन्त्री राउतले प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको काम गर्ने शैलीबाट आफू सन्तुष्ट नरहेको सुनाए । ‘उहाँ ९मेसु० को काम गर्ने शैली ठीक भएन, मैले पटक–पटक भनिसकेको छु, विकल्प खोज्ने बेला आएको छ,’ राउतले भने।

‘काम नगर्ने मेसु नभएपछि कारबाही किन गर्नुहुन्नरु तपाईंहरूकै अधिकार क्षेत्रभित्रको यो अस्पताल होइन र?,’ तरुण दल धनुषाका उपसभापति राकेशविक्रम साहले सोधे, ‘तपाईंहरूकै पार्टीको एकजना अध्यक्षको भाइ रहेकाले मेसुलाई कारबाही नगरी आमजनताको जीवनसँग खेलवाड गरिरहनुभएको छ ?’

तरुण दलका उपसभापति साहको प्रश्नमा सामाजिक विकासमन्त्रीले भने, ‘मैले हिजै फोन गरेर उहाँलाई बिदामा बस्न भनिसकेको छु । अस्पतालमा केही सुधारै भएको छैन भन्ने कुरालाई चाहिँ मान्न सकिन्न, विगतभन्दा सुधार त भएकै हो।’ अस्पतालहरूमा जनशक्ति नहुँदा समस्या खेप्नुपरेको उनले बताए।

जनशक्ति आपूर्ति गर्ने काम सरकार हो । सरकारले नै गर्नुपर्छ, बहाना बनाएर पन्छिने समय अहिले होइन भन्दै टोलीका सहभागीहरूले मन्त्री साहलाई सुझाए।

पाँच महिनाको अवधिमा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि के–कस्तो तयारी भएको छ भन्ने टोलीका सदस्यको जिज्ञासामा सामाजिक विकासमन्त्री साह मौन रहे।

तर, कोरोना संक्रमित र संक्रमण नरहेका बिमारीको उपचारका लागि सरकारले व्यवस्था गर्न लागेको मन्त्री साहले जानकारी गराए। ‘हामी जानकी मेडिकल कलेजसँग आजै सम्झौता गरिरहेका छौं,’ उनले भने, ‘सम्झौता भइसकेपछि कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल र संक्रमण नरहेका अन्य बिरामीको उपचार जानकी मेडिकल कलेजमा हुनेछ । सकभर आजै सम्झौता हुन्छ।’

मन्त्री साहले यस्तो भनेपछि महामारीले प्रदेश नै आक्रान्त भइसकेको अवस्थामा पछिल्लो ४ महिनादेखि सरकारले जानकी मेडिकल कलेजसँग किन सम्झौता नगरेको टोलीका सदस्यहरूले आक्रोश पोखेका थिए।

टोलीमा सहभागी तत्कालीन जनकपुर अञ्चल अस्पतालका मेसु एवं वरिष्ठ फिजिसियन डा।गौरांग मिश्रले प्रदेशमा कोरोना नियन्त्रण र रोकथाम गर्न जाँचको दायरा बढाउनुका साथै चाँडै नतिजा आउने गरी पिसिआर मेसिनको व्यवस्था गर्न सुझाए।

‘गुणस्तरीय र न्यूनतम चार घण्टाभित्र नतिजा दिनसक्ने पिसिआर मेसिन जडान गर्न सकिए धेरै हदसम्म संक्रमण रोक्न सकिन्छ,’ डा।मिश्रले भने, ‘पाँच दिनपछि नतिजा दिने हो भने मृत्युपछि बिरामी संक्रमित रहेको बुझ्न सकिन्छ।’

महामारीको बेला खरिद ऐन संशोधन गरेरै भए पनि तत्काल गुणस्तरीय र चाँडै नतिजा दिनसक्ने पिसिआर मेसिन खरिद गर्नुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री साहसँग भेट गर्न पुगेको टोलीमा नेपाली कांग्रेसका नगर सभापति मनोज साह, स्कुल अफ डेमोक्रेसीका निर्मल चौधरी, दीपक ठाकुर, शोभाकान्त पाण्डेयलगायतका व्यक्तिहरू सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय