अस्पतालमै नाच–गान गरेर नर्सहरूले मनाए तीज ( भिडियोसहित)

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सहरूले अस्पतालमै गीत गाएर तीज मनाउँदै सन्देश बाँडेका छन्।

कोरोनाबाट बच्ने सन्देशमूलक गीत गाउँदै उनीहरूले तीज मनाएका हुन्। कोरोना महामारीमा दिनरात जनताको उपचारमा खटिरहेका नर्सहरूले चाडपर्वमा पनि जनतालाई सचेत गराउने गरी तीज गीत गाएर महामारीविरुद्ध सन्देश छरेका हुन्।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले नर्सहरूलाई जनचेतनामूलक गीत गाएर सन्देश दिन आग्रह गरे अनुसार उनिहरुले उक्त गीत तयार गरेका हुन्।

तीज गीत गाउँदा अस्पतालमा कार्यरत नर्सहरू टीका भट्टराई, जमुना पन्थी, माधुरी ज्ञवाली, कमला कार्की, मीना पौडेल लगायत १२ जना नर्सहरूको सहभागिता रहेको बताइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ इन्चार्ज ज्योति पौडेलले कोरोना भाइरसको बढ्दो संक्रमणका बेला घरमै बसेर तीज पर्व मनाउन सन्देश दिन र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई उत्प्रेरणा दिने दिनका लागि तीज गीत गाइएको बताइन् ।

सोही आग्रह बमोजिम नर्सहरूले गीत गाएर रेकर्ड गरिएको भिडियो सामाजिक विकास मन्त्रालयले कोरोना लाइभ अपडेट प्रेस मिटबाट प्रशारणसमेत गरिएको थियो ।

बिना काम बाहिर नडुलौं, हिँड्न परे मास्क लगाउन कहिल्यै नभुलौं, भिटामिन सी र डी पौष्टिक आहार लिनुहोस्, खाना खाँदा सरसफाइमा ध्यान दिनुहोस्, मनोबल उच्च राखौं, नकारात्मक भगाऔं, आफू सुरक्षित भई, अरु बचाउ भन्ने सन्देश गीतमा रहेका छन्।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नर्सहरुले गीतबाट सन्देश बाडेको बताए। हामीले बोल्ने र प्रेस विज्ञप्ति जारी गर्ने कामलेभन्दा कोभिड १९ को रोगविरुद्दमा खटिने नर्सहरूले उक्त गीत कैयन गुणा सन्देशमूलक र प्रभावकारी भएको आफुलाई लागेको बताए।

यस्तो छ गीतको शब्द

तीज तीज आयो नाच्ने गाउने रहर छ
के गर्नु र कोरोनाको ठूलो कहर
सधैंजस्तै तीज पर्व घुम्दै फिर्दै आको छ
विश्वभरि कोरोनाले सातो खाको छ

स्वदेशबासी विदेशबासी सबैको नाममा
७७ साल तीजको शुभकामना

कति भा’छन् संक्रमित कति मृत्युवरण
अझैसम्म पत्तो छैन के हो कारण

फैलिन त कोभिड-१९ विश्वभरी फैलिएछ
पाँच नम्बर प्रदेशको चासो लाइरा’छ

एक दुई जना भन्दा भन्दै समुदायमा आ’को छ
अझै कति फैलिने हो डर ला’को छ

नौ सय ६० सक्रिय संक्रमित १६ मृत्यु भएको
भदौ ३ सम्मको रिपोर्ट आएको

थुकका छिटा हाच्छिँउ गर्दा यो रोग सर्दछ
सामाजिक दुरीको खाँचो पर्दछ

बिनाकामले लखर-लखर बाहिर-बाहिर नडुलौं
हिड्नँ परे मास्क लाउन कहिले नभुलौं

यति कुरा ख्याल राखौं बाहिर गई आएर
राम्रोसँग हात धुनु साबुन लाएर

भिटामिन सी र डी पौष्टिक आहार लिनुहोस्
खानपिन सरसफाइमा ध्यान दिनुहोस्

मनोबल उच्च राखौं नकारात्मक भगाऔं
आफू पनि सुरक्षित भई अरु जोगाउँ

यसपालि भोज भतेर माइत पनि नजाउँ है
बाहिरको जे पायो त्यही कोही नखाउँ है

रोक्नु पर्‍यो सारा इच्छा यी मनका भावना
स्वास्थ्य नै हो जीवनको ठूलो गहना

तीज आयो भनेर मनपरी नगरौं
आफ्नो आनीबानीलाई आफैं सुधारौं

जबसम्म जनताको भित्री भाव जाग्दैन
सरकारको प्रयासले छेउ लाग्दैन

हामी एकजुट हुनुपर्छ यो कोरोना भगाउन
सरकारलाई मात्र हुन्न दोष लगाउन

समयमै सजग भए बल्ल हामी बाँचिन्छ
अहिलेको मेख मारेर आइसाल नाचिन्छ

कति छन् नि मनका इच्छा कति थिए भावना
कोभिड मुक्त विश्व बनोस् शुभकामना!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय