सके स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर, नसके तिरस्कार नगर

स्वास्थ्यकर्मीप्रति सरकार र समाज दुवैकोे भेदभाव
देशमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ को संक्रमण र जटिलता निरन्तर बढिरहेको छ। संक्रमितको उपचार व्यवस्थापनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र नर्सिङ भाइरसबाट संक्रमित हुने घटना पनि अस्वाभाविक रूपमा बढिरहेको छ।

नागरिकको जीवन रक्षाका लागि खटिएका स्वास्थ्यकर्मीहरू अर्थात् मानवीय सेवाका क्रममा संक्रमित हुन पुगेका स्वास्थ्यकर्मीमाथिको भेदभाव निकै चुनौतीपूर्ण छ।

सर्वसाधारणको सेवामा लागिपरेका स्वास्थ्यकर्मी संक्रमित हँुदा स्वास्थ्यकर्मी स्वयंलाई त समस्या हुन्छ नै अन्य बिरामीलाई समेत समस्या भएको छ।

स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम बढ्दै गएको भए पनि सरकारले रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा ठोस काम गर्न सकेको छैन। न त स्वास्थ्यकर्मीले समाजबाट नै यो विपत्तिमा काम गरेको भनेर प्रोत्साहन र कृतज्ञता पाएको छ।

कृतघ्न सरकार
संविधानले ग्यारेन्टी गरेको मौलिक हक र अहिले महामारीको समयमा आफैंले प्रतिवद्धता गरेको स्वास्थ्यकर्मीको उपचारसहित जोखिम भत्ता र अन्य संक्रमितको उचित व्यवस्थापन हुन नसक्नु निकै दुःखद अवस्था हो।

महामारीमा सरकारको व्यवहार कृतघ्न अर्थात स्वास्थ्यकर्मीले गरेको सेवाप्रति सम्मान दर्शाउने खालको छैन।

पालिकाहरुमा प्रशासनमा काम गर्ने कर्मचारीले कोरोना संक्रमणको समयमा कामको जोखिम भत्ता लिइरहेका छन्। तर वास्तविक जोखिम मोलेका स्वास्थ्य सेवा प्रवाहमा खट्ने स्वास्थ्यकर्मी ‘घर न घाटका’ बनेका छन्। अर्थात् न जनताको सद्भाव र माया पाएका छन् न त सरकारको सुविधा र सुरक्षा। भत्ता पाए ।

विश्वमा कोरोना संक्रमित स्वास्थ्यकर्मीका लागि छुट्टै र अन्य बिरामीका लागि छुट्टै व्यवस्थापन गर्ने चलन छ। तर, हाम्रोमा सबैलाई एउटै घानमा हाल्ने काम भएको छ।

विश्वमा कोरोना संक्रमित स्वास्थ्यकर्मीका लागि छुट्टै र अन्य बिरामीका लागि छुट्टै व्यवस्थापन गर्ने चलन छ। तर, हाम्रोमा सबैलाई एउटै घानमा हाल्ने काम भएको छ।

जसका कारण स्वास्थ्यकर्मी मात्रै नभई कोरोना समुदायस्तरमा पुगिसक्यो। स्वास्थ्यकर्मीका लागि परीक्षण, उपचार, ड्युटी र सुविधामा ‘सकारात्मक विभेद’ गरिनु भनेको समग्र नियन्त्रण अभियान प्रभावकारी पार्नु अन्तर्गतकै काम हो।

सरकार कोरोना संक्रमण न्यूनीकरण र स्वास्थ्यकर्मीको सेवासुविधा, मानसम्मान र जीवनरक्षाका सम्बन्धमा मौनसरह छ कुनै काम नै गरिरहेको छैन।

महामारीका बेला निजी अस्पतालसँग समन्वय र सहकार्य गरी जोखिम कम गर्नेतर्फ लाग्नुभन्दा सरकार निजी अस्पताललाई धम्क्याउने हतोत्साही गर्न अग्रसर छ।

सरकारले त स्वास्थ्यकर्मीलाई भेदभाव गरी काम गर्न निरुत्साहित गरेकै थियो, समाजले पनि नपच्ने मानवीयताविरुद्धको काम गरिरहेको छ।

कृतज्ञ बन्न नसकेको समाज
स्वास्थ्यकर्मीका बारेमा न सरकारले सोचेको छ न त समाजले। समाज भनिरहँदा चिकित्सक र स्वास्थ्यकर्मीको कामलाई सम्मान गर्ने र सदभाव दर्शाउने समुदाय पनि नभएको होइन।

तर विभिन्न व्यक्ति, परिवार र समुदाय स्वास्थ्यकर्मीप्रति कृतज्ञ अर्थात् सेवा पुर्याएको धन्यवाद भन्ने भन्दा भेदभाव र अपहेलनामै उत्रिएका छन्।
सरकारले निरुत्साहित गरेको अवस्थामा नागरिकका पीडा र समाजको राम्रो व्यवहारले स्वास्थ्यकर्मीको घाउमा महम लगाउन सकेको छैन। अर्थात् स्वास्थ्यकर्मी समाजबाट समेत अपहेलना, भेदभाव बहिष्कारदेखि भौतिक आक्रमण र घरबाटै निकालिरहनुपर्ने अवस्था छ।

बाटोमा हिँड्दा नमस्ते डा.साब भन्ने सम्मान दर्शाउने समुदायका केही व्यक्तिहरू अहिले फर्केर हेर्दैनन्। ‘यो त कोरोना भाइरस हो। यो घर त संक्रमितको हो भनेर ट्याग भिराई तनाव दिने काम गरिरहेका छन्।’

संक्रमण हुँदैमा मान्छे मर्दैन भनेर सम्झाउन बुझाउन सकेन। जसका कारण आज स्वास्थ्यकर्मीका साथै संक्रमितले सरकार र समाज दुवैको अपमान सहनुपरिरहेको छ।

त्यतिमात्रै होइन, स्वास्थ्यकर्मीलाई कोरोना भाइरस भन्दै जिस्क्याउने, घरबाट निकाल्ने, हातपात गर्ने, अस्पताल तोडफोड गर्ने, गालीगलौच गर्ने जस्ता तुच्छ व्यवहार गरिरहेको छ समाज।

समाजले स्वास्थ्यकर्मी आफ्नै स्वास्थ्यका खातिर काम गरिरहेका छन् भनेर सोच्दैन वा थाहा छैन। यस्तो बेला उनीहरूलाई सहयोग प्रोत्साहन दिनुको सट्टा तनाव दिई बदनाम गराउन तल्लीन छ। जसका कारण स्वास्थ्यकर्मीको मनोबल गिरेको छ।

भेदभावको जड

सरकार तथा सम्बन्धित निकायले समाजलाई कोरोनाबारे सही र समयमै सूचना दिन सकेन। कोरोना भाइरसको संक्रमण हुँदैमा मान्छे मर्दैन भनेर सम्झाउन बुझाउन सकेन। जसका कारण आज स्वास्थ्यकर्मीका साथै संक्रमितले सरकार र समाज दुवैको अपमान सहनुपरिरहेको छ।
कोरोना संक्रमित र स्वास्थ्यकर्मी पनि मान्छे हुन्, संक्रमितको उपचार गर्दागर्दै संक्रमित भएका हुन् भनेर कसैले सोच्दैनन्। संक्रमण देखिएपछि त के के न हुन्छ भनेर दानव जस्तो व्यवहार गर्छन्।

संक्रमित पनि निको हुन्छन् र निको पार्न सकिन्छ भनेर कहिल्यै सोच्दैनन्।

सरकार आन्तरिक खिचातानीमै रुमल्लियो। आन्तरिक शक्तिसंघर्षमै व्यस्त भयो। न कुनै त पूर्वतयारी गर्न सक्यो न त अहिले संक्रमणको प्रभाव बढेपछि प्रभावकारी भूमिका र निर्णय लिन सकिरहेको छ।

स्वास्थ्यकर्मी दिनरात ज्यानको बाजी लगाएर काम गरिरहेका छन्। तर सरकार उनीहरूको स्वास्थ्य सेवा सुविधालाई लिएर मौन छ। सरकारले न कुनै पूर्वतयारी ग¥यो, न त परीक्षणमा ध्यान दियो।

लकडाउनको खाका तयार गरी कोरोना संक्रमण घटाउनेतर्फ पनि ध्यान दिन सकेन। सरकार जनस्वास्थ्यलाई लिएर कहिल्यै गम्भीर बनेन। स्वास्थ्यकर्मी कहिल्यै प्राथमिकतामा परेनन्।

स्वास्थ्यकर्मीका लागि समयमै सुरक्षा सामग्रीको व्यवस्था गर्न सकेन। उनीहरू बिना उपकरण काममा खटिए, जोखिम मोले तर अहिले के पाए आफ्नो ज्यानको बाजी लगाउँदा समेत सरकार टुलुटुलु हेरेर बसेको छ।

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले कोभिड र नन–कोभिड अस्पतालको व्यवस्था गर्नुपर्थ्यो, तर गरेन।

समाज तथा सरकारले सक्छ भने प्रोत्साहन उत्प्रेरणा, सहानुभूति देओस, सक्दैन भने बदनाम, तिरस्कार र बहिष्कार गर्नेसम्मको व्यवहार नगरोस्।

एकै अस्पतालमा संक्रमित र अन्य बिरामी राख्दा झन कोरोना संक्रमण फैलियो।

अहिलेको अवस्था हेर्ने हो भने कोभिडका लागि छुट्याएको अस्पतालभन्दा अन्य अस्पतालमा संक्रमण बढी देखिएको छ।

अरुको सेवा गर्दागर्दै संक्रमण हुन पुग्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनुपर्नेमा हमला गर्ने, कुटपिट गर्ने घरबाट निकाल्ने र बदनाम गरी संक्रमितको ट्याग भिराउनाले स्वास्थ्यकर्मीको मनोबल घट्नुका साथै डिप्रेसनमा जाने अवस्था आएको छ।

स्वास्थ्यकर्मीले सेवासुविधा र जोखिम भत्ता पाएनौं भनेर कहिल्यै सेवा रोकेका छैनन्। उनीहरू संयमित र धैर्यशील छन् सधैं सेवामै लागिपरेका छन्। तर स्वास्थ्यकर्मीका दुःख पीडा न सरकारले बुझ्यो न त समाजले नै। जनता पनि सरकारविरुद्धको आक्रोश स्वास्थ्यकर्मीमाथि पोख्छन्।
उपचार र जनस्वास्थ्यकै खातिर काम गर्न खोज्दा पनि अस्पतालले व्यापार गर्न खोज्यो लुट्न खोज्यो भन्ने आरोप लाग्छ। सरकारकै कमी कमजोरीले यस्तो दिन आएको हो र कोरोना समुदायसम्म फैलिएको हो।

सरकारले कुशल अभिभावकको जिम्मेवारी निभाउन सकेन। न वचनप्रति कटिबद्ध भयो न त स्वास्थ्यप्रति। जनस्वास्थ्यमाथि जहिल्यै लापरबाही गरिरह्यो र गरिरहेको छ पनि।

स्वास्थ्यकर्मीले सरकारबाट त सेवासुविधा र प्रोत्साहन पाएन र समाजबाट समेत तिरस्कृत र बर्हिगमन हुनुपर्ने अवस्था आएको छ। यो सबै चेतनाको कमीले भएको भनौं भने पढेलेखेका र जानेबुझेकै बाट त्यस्तो व्यवहार हुने गरेको छ। सर्वसाधारणबाट के अपेक्षा गर्नु ?

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै ठाउँठाउँमा स्वास्थ्य सहयोगी राख्ने संक्रमित भएपछि उपचारमा गर्न सकिने सहयोग र सेवा सम्बन्धमा उचित व्यवस्था गर्न पहल गरिरहेको छ।

स्वास्थ्यकर्मी जोखिममा भएकाले उनीहरूको स्वास्थ्यका खातिर उपचार, आइसोलेसन र यातायातको व्यवस्थासम्बन्धी चिकित्सक संघले छलफल गरिरहेको छ। उनीहरूको स्वास्थ्यका लागि सक्दो सहयोग गर्छौं।

सरकारले अभिभावक बनी आफ्नो जिम्मेवारी पूरा गर्नुप¥यो। स्वास्थ्यकर्मी समाज र उनीहरूको सेवाका खातिर सधैं तत्पर थिए र रहिरहने नै छ।

समाज तथा सरकारले सक्छ भने प्रोत्साहन उत्प्रेरणा, सहानुभूति देओस, सक्दैन भने बदनाम, तिरस्कार र बहिष्कार गर्नेसम्मको व्यवहार नगरोस्।

(नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. अनिल कार्कीसँग हेल्थपोस्ट नेपालका अंगदबहादुर सिंहले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय