ट्रयाकमा छैन रेडक्रस, ‘खस्किँदो साख पुनः कायम गर्ने प्रतिबद्धता’

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ५ गते ८:२४

भदौ ५ – लामो समयदेखि प्रशासनिक, कानुनी र अन्य झमेलामा परेको नेपाल रेडक्रस सोसाइटी नवगठित तदर्थ समितिले छुट्टै ऐनसहित संस्थालाई ट्र्याकमा फर्काउने प्राथमिकता रहेको भन्दै कार्ययोजना तय गरेको छ ।

गठनलगत्तै कार्यसमितिले १५ दिनकै अन्तरमा दुई पटक बैठक बसेर संस्थाको वैधानिकता कायम राखिरहन दर्ता नवीकरण, मौजूदा विधानमा सुधार, रेडक्रस कानुन निर्माण तथा वैधानिक निर्वाचनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

सोसाइटीले प्राथमिकता क्षेत्रमा परेका विषयहरूमा समय तोकेरै ३ महिनाका लागि विस्तृत कार्ययोजना बनाउन र विभिन्न क्षेत्रको थप अध्ययन गर्न ९ (नौ) वटा कार्यदल बनाएर काम गरिरहेको जनाएको छ ।

बन्दाबन्दीको परिस्थितिमा पनि यथासम्भव भौतिक वा विद्युतीय सञ्जालको सहयोगमा छलफल तीव्र बनाइने छ र तोकिएको समयभित्र स्पष्ट नतिजा आउने गरी कार्य अगाडि सोसाइटीले जनाएको छ ।

निर्वाचित कार्यसमितिमाथि अनियमितताको आरोप र समयमा निर्वाचनसमेत हुन नसकेपछि साउन १२ को मन्त्रिपरिषद्ले सञ्जीव थापाको अध्यक्षताको कार्यसमिति भंग गरी नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो ।

पछिल्लो कार्यसमितिको म्याद २०७५ मै सकिएको भए पनि निर्वाचन हुन सकेको थिएन । यहीबीचमा विधानविपरीत केन्द्रीय महामन्त्रीसहित जिल्ला सभापति, मन्त्री पदमा लामो समयदेखि एउटै व्यक्ति रहँदै आएका थिए ।

तदर्थ समितिलाई तीन महिनाभित्र लेखा परीक्षण, संस्था नवीकरणसहित नयाँ निर्वाचन गरेर निर्वाचित कार्यसमितिलाई हस्तान्तरण गर्ने जिम्मेवारी सरकारले दिएको छ ।

नवगठित समितिका महामन्त्री पिताम्बर अर्यालले हेल्थपोस्टसँग कुरा गर्दै मनसुन र कोभिड–१९ बाट सिर्जित विपत्तिका कारण मानवीय कार्यसँगै संस्थागत काम पनि एकैसाथ अगाडि बढाउनुपर्ने चुनौती रहेको बताए ।

‘जसका कारण रेडक्रसका मानवीय सहयोगसम्न्धी जिम्मेवारी रक्तसञ्चार सेवा, एम्बुलेन्स र प्रकोप व्यवस्थापनजस्ता सेवा छायाँमा परेका छन्।’

अर्यालले तदर्थ समितिलाई तीन महिनाको मात्रै समय दिइएको भन्दै यहीबीचमा कोभिड १९ र मनसुनले निम्त्याएको मानवीय विपत्तिका कारण रेडक्रस अभियानलाई त्यतै फोकस गर्नुपर्ने अवस्था आएको बताए ।

‘यस्तो अवस्थामा संस्थाको पुनरुत्थान र सुधारको काम केही ढिलाइ हुनसक्छ,’ उनले भने, ‘जहिले पनि रेडक्रसको पहिलो पहिलो प्राथमिकता मानवीय जीवनको सुरक्षा नै हो।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लामो समयसम्म काम गरेर प्राविधिक र व्यवस्थापकीय अनुभव बटुलेका अर्यालले रेडक्रस अहिले अवैज्ञानिक व्यवस्थापन र अधिक स्टाफका कारण आर्थिक संकटमा रहेको भन्दै यसलाई आगामी दिनमा कर्मचारी र कार्यक्रमयको व्यवस्थापन निकै कठिन हुनेसमेत बताए ।

‘यो संस्था दर्ता नवीकरण लामो समयदेखि गरिएको छैन, जुन कर फस्र्योटसँग सम्बन्धित छ,’ उनले भने ।

प्रशासनिक झमेलाले संस्थाको दु्रत कार्यमा बाधा पुर्याएको पदाधिकारी एवं सदस्यहरू बताउँछन् । अर्यालका अनुसार अन्तर्राष्ट्रिय अभ्यासमा रेडक्रस सोही सम्बन्धी कानुनबाट सञ्चालित हुनुपर्नेमा जिल्ला प्रशासनमा दर्ता भएर अन्य गैसस र क्लब जसरी नै चलिरहेको छ ।

‘आफ्नै आदर्श कानुन नहुँदा यो मानवीय संस्था पनि अन्य क्ब जसरी चलिरहेको छ,’ महामन्त्री अर्यालले भने, ‘जसका कारण रेडक्रसका मानवीय सहयोगसम्न्धी जिम्मेवारी रक्तसञ्चार सेवा, एम्बुलेन्स र प्रकोप व्यवस्थापनजस्ता सेवा छायाँमा परेका छन्।’

उनले रेडक्रमसम्बन्धी छुट्टै कानुन निर्माणको आवश्यकता रहेको र जुन आफैंमा लामो समय लाग्ने बताए । ‘हामीले दिइएको ३ महिनाको समय अवधिमा सबै दिइएको जिम्मेवारी पूरा गर्न पर्याप्त नहुन सक्छ, तर अधिकतम प्रयत्न गर्छौं,’ उनले भने ।

देशव्यापी सञ्जाल भएको मानवीय संस्थाको धेरैजसो शाखाको नियमित स्रोत नहुँदा सनवीय सेवा प्रवाहमा अप्ठ्यारो आएको समेत उनले बताए । ‘हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको ‘फन्डिङको ग्याप’ कसरी पूर्ति गर्ने भन्ने हो, तदर्थ समिति सरकार र जनता दुवैको अपेक्षा छ तर अहिले छनोट भएका सदस्यसँग सीमितता छन् ।’

 

खस्किँदो साख पुनः कायम गर्ने प्रतिबद्धता

महामन्त्री पिताम्बर अर्याल

संस्थाको कार्यकारी अधिकारप्राप्त पदमा महामारीका बेला जिम्मेवारी सम्हालेका डा. अर्यालले पछिल्ला वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खस्किँदै गएको रेडक्रसको साख पुनः कायम गर्ने प्रतिबद्धता साथ आकर्षक अवसर त्यागेर नेतृत्वमा आएको बताए।

‘तदर्थ समिति सरकारी निकाय र नागरिकका नजरमा पनि गुमेको विश्वास फर्काउने गरी काम गर्न दत्तचित्त छ,’ उनले भने । उनले आफूले झन्डै तीन दशकसम्म मानवीय अनुभव हासिल गरेको बताए ।

अर्यालले त्रिवि र विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट स्वास्थ्य शिक्षा, जनस्वास्थ्य र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् ।

‘मैले आकर्षक तलबसहितको अवसर छाडेर रेडक्रसलाई नयाँ उचाइ दिने प्रण गर्दै आएको हुँ,’

उनले विपद व्यवस्थापनमा पोस्ट ग्य्राजुयट र कानुनमा समेत स्नातकसहित विभिन्न अन्तर्राष्ट्रिय कोर्ससमेत गरेका छन् ।

‘रेडक्रस सोसाइटी, क्यानेडियन रेडक्रस, युएनडिपी जस्ता मानवीय र विकास संस्थामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्यवस्थापन र प्राविधिक क्षेत्रमा तीन दशक काम गरें,’ उनले भने, ‘अब अन्त अवसर नपाएर यहाँ आएको होइन, एउटा मानवीय संस्थालाई थितिमा फर्काउन केही योगदान गर्ने प्रतिबद्धता लिएर आएको हुँ।’

उनले आफूले स्वादेशी र विदेशी स्टेकहोल्डर सम्बन्ध बलियो बनाउने फन्ड विविधिकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नसक्ने दाबी गरे । ‘मैले आकर्षक तलबसहितको अवसर छाडेर रेडक्रसलाई नयाँ उचाइ दिने प्रण गर्दै आएको हुँ,’ उनले प्रतिबद्धता जनाए।

कसरी आयो तदर्थ समिति गठन अवस्था
सरकारले पछिल्लो पटक रेडक्रसमा नयाँ समिति गठनको प्रयास गरेको दोस्रो पटक हो ।

जग्गा खरिदमा अनियमिततादेखि १६ अर्ब विदेशी सहायता सरकारलाई जानकारीबिनै लिएको, समयमा निर्वाचन गर्न नसकेको, सरकार र समाज कल्याण परिषद्को निर्देशन नटेरेको लगायत आरोप रेडक्रसविरुद्ध सरकारको छ । त्यसअघि सरकारले पदाधिकारीसँग स्पष्टीकरण सोधेको थियो ।

मन्त्रिपरिषद् अघि २०७६ जेठ ६ मा जिल्ला प्रशासन कार्यलयले नै समिति विघटन गरेर डा. विश्वकेशर मास्केको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो ।

जिल्ला प्रशासन निर्णयविरुद्ध कार्यसमितिका अधिकारी अदालत गएपछि सर्वोच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । अहिले सरकारले छानबिन, स्पष्टीकरणलगायतको प्रक्रिया पूरा गरेर समिति भंग गरेको थियो ।

One thought on “ट्रयाकमा छैन रेडक्रस, ‘खस्किँदो साख पुनः कायम गर्ने प्रतिबद्धता’

  1. महाभूकम्प विसं. २०७२ पछि २०७२ सालकै फागुन २ गतेको कान्तिपुर दैनिकको पेज नं. २ मा अखण्ड प्रसाद भण्डारीले लेखे, ‘दाताकाे सहयाेगमा रेडक्रसका नाइकेहरूको हनीमुन’ । त्यो बेला त्यस्तो खालको समाचार पढ्दा केही तिक्तता महशुस भयो कारण भूकम्पको चपेटामा परेको मुलुकलाइ सेवा गरिरहेको रेडक्रस जस्तो संस्थामाथिको त्यो आलोचना तत्कालिन समयमा असान्दर्भिक नै लाग्यो । उक्त लेखभित्रका आन्द्राभुँडीहरु त के के थिए, यहाँ लेख्न नै आवश्यकता नहोला । उक्त लेख पढेपछि पंक्तिकार भण्डारीको सोंच नै धमिलो जस्तो लाग्यो तर जब गत साउन १२ गते नेपाल सरकारबाट नेपाल रेडक्रसको तत्कालिन समितिमाथि कू गरेर नयाँ तदर्थ समिति मनोनयन गर्‍यो तबमात्र अखण्ड प्रसाद भण्डारीको लेख मेरो मानसपटलमा घुम्न थाल्यो फन् फन् फन् ।
    रेडक्रस धरासायी भएको कुरा पिताम्बर अर्यालको भनाई वा कुनै स्तम्भकारको लेखबाटमात्र अनुमान लगाएको हैन कि सरकारको कू ले नै स्पष्ट पारेको छ । यदि एउटा वैधानिक संस्था विधिवत, पारदर्शी र अद्यावधिकरुपमा चलिरहेको छ भने त्यसमाथि कसैको वक्रदृष्टि वा कुदृष्टि पर्दैन, चाहे त्यहाँ हरेक रंग, क्षेत्र, जातजाति र पृष्ठभूमिका मान्छे नै किन नहोउन्, अन्यथा जे पनि हुन सक्छ भन्ने कुराकाे उदाहरण हो नेपाल रेडक्रसमाथि सरकारको कू । र अर्कोतिर सधैभरी कसैलाई कसैले साथ दिदैंन, न समय, न न्याय, न अदालत र न त सरकार । प्रतिक्षा र धैर्यता निकै सामान्य लाग्ने कुराहरु हुन् तर यिनीहरुको सिमा र बाँध फुटेपछि निकै खतरनाक हुन्छन् भन्ने कुराको प्रमाण हो सरकारको कू । जसरी विसं २०७६ जेठ ६ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्कालिन समिति विघटन गरेर डा. विश्वकेशर मास्केको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो तर सायद सम्मानित सर्वोच्च अदालतले ‘पर्ख र हेर’ को सिध्दान्तलाइ मध्यनजर गर्दै जिल्ला प्रशासनको सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो हाेला । गत साउन १२ सम्म पनि अवस्था जस्ताको तस्तै र जहाँको तहीँ रहनु तत्कालिन समितिको अकर्मण्यता पक्कै हो । तर यति बेला सरकारले छानबिन, स्पष्टीकरणलगायतको प्रक्रिया पूरा गरेर समिति भंग गरेको छ, अब कुनै पनि अदालतले बचाउन सक्नेवाला छैन ।
    नेपाल रेडक्रसलाई एउटा झोले एनजीओ जस्तो बनाएर जिल्ला प्रशासन कार्यालयबाट नविकरण वा अद्यावधिकसम्म नगरिनु, विसं २०७५ मा कार्यसमितिको म्याद सकिदा पनि निर्वाचन हुन नसक्नु यी पक्कै पनि अकर्मण्यताका चरणहरु हुन् । निश्यच पनि रेडक्रसको चुनाव गराउँदा देशको राजनीतिक चुनाव जस्तो विषम वा असहज परिस्थिति र मतपेटिका वा बुथ क्याप्चरको जस्तो संभाव्यता रहदैन होला ।
    निश्चितरुपमा नेपाल रेडक्रसले आफ्नो लिक वा ट्रयाक छाडेको छ साख गिरेकाे छ, घटनाक्रले स्पष्ट देखायो नै । सबैभन्दा पहिले सम्पूर्ण प्रकृयाहरु पुरा गरेर अबका चुनौति र अवसरसँग लड्दै र रमाउँदै अन्तर्राष्ट्रिय दाता र दानको ओइरो प्रवेश गराई रेडक्रसलाइ सही मार्गमा ल्याउन, गुमेको साख फर्काउन र देश विकासमा सरकारलाइ सघाउन तदर्थ समिति सफल रहोस् । हामी विश्वस्त छौं, यो समिति सफल रहने छ ।
    श्री नेत्रप्रसाद तिमल्सिना ज्यूको अध्यक्षतामा बनेको यो तर्दथ समितिलाई सफलताको शुभकामना साथै अब हुने निर्वाचनमा पनि अहिलेकै तदर्थ समितिका पदाधिकारीहरु रहेको सशक्त र सफल
    टीमले नै विजयश्री हासिल गर्न सकोस्, अग्रिम शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय