के चिया पनि ‘टेक अवे’ हुन्छ र?

ग्राहक : भाइ, चिया पाउँछ?

व्यवसायी : पाउँछ सर!

ग्राहक : ल दुई कप खाउँ न।

व्यवसायी : यहाँ बसेर खान मिल्दैन सर ‘टेक अवे’ मात्रै हो।

ग्राहक : चिया पनि बसेर खान मिल्दैन र?

व्यवसायी : मिल्दैन सर के गर्नु बाहिर लेखेकै छ।

ग्राहक : लेखेको पढ्न त हामीलाई पनि आउँछ भाइ।

ग्राहक : चिया पनि टेक अवे हुन्छ र? चिया त प्याकिङ हुँदैन होला नि?

व्यवसायी : हुन्छ सर, सबै हुन्छ।

यो संवाद अनामनगरस्थित मुडअन क्याफे एन्ड किचेनको हो।

हेर्दा निकै भलाद्मी देखिने टाइसुटमा ठाँटिएका ग्राहकको सोधपुछ थियो यो।

उनले होटलभित्रै बसेर चियाको चुस्की लिन चाहेका थिए। तर, त्यो पुरा हुन सकेन।

व्यवसायीले रेस्टुरेन्टभित्रै बसेर खान नमिल्ने भनेपछि उनी केही बिच्किए र बाहिर निस्के।

देख्नुभयो त सर कुनै–कुनै ग्राहकले यस्तै जिद्दी गर्छन्।

‘कति न हामीले नै बस्न नदिएजस्तो गरी रिसाउँछन्,’ मुडअन क्याफेका उज्ज्वल अधिकारीले गुनासो गरे।

मन्त्रिपरिषदको साउन २६ गते बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै होटल तथा रेस्टुरेन्टमा बसेर खान नमिल्ने गरी ‘टेक अवे’ सिस्टम लागू गर्‌यो। 

त्यसपछि व्यवसायीले होटल तथा रेस्टुरेन्टमै बसेर खान दिँदैनन् तर लिएर जान भने पाइन्छ।

अर्थात्, प्याकिङ गरेर लगेर जानुपर्छ।

बजारमा प्रहरीले निगरानी गरिरहेको हुन्छ।

होटलमा बसेर खाएको फेला परे प्रहरीले समाउँछ अर्थात् होटल नै बन्द गराउँछ।

टेक अवे लागु गरेपछि ग्राहक घट्नुका साथै अर्डरसमेत घटेको उज्जवल अधिकारी बताउँछन्।

अधिकांश अफिस बन्द भएपछि कर्मचारीका साथै सर्वसाधारण घरमै छन्। घरमै भएपछि त्यति अर्डर आउँदैन,’ अधिकारी भन्छन्, ‘घरमै भएपछि मगाएर त कसले खान्छ?’

सरकारले आफ्ना लागि मात्रै टेक अवे सिस्टम लागू गरेको नभई व्यवसायी, ग्राहकका साथै आमसर्वसाधारणको स्वास्थ्यका लागि गरिएको उनको बुझाइ छ।

लकडाउन अन्त्य भएपछि तङ्ग्रिन लागेको व्यवसाय फेरि धर्मराएको उनी बताउँछन्।

टेक अवे सिस्टम लागू भएपछि कुनै दिन त बोहनीसमेत हुँदैन, योभन्दा अघि १०-१५ हजारसम्मको डेलिभरी हुने गरेको थियो,’ अधिकारी भन्छन्।

टेक अवे लागू भएपछि उनले होटलको मेनु घटाएका छन्।

अर्डर कम आउने र पकाएर खेर जाने भएकाले उनले मेनु घटाएका हुन्।

घरमै मगाएर खाने त न्यूनमात्र रहेछन्, ग्राहकले बसेरै खान रुचाउँदा रहेछन्,’ उनी भन्छन्, ‘कुनै ग्राहक त जबरजस्ती पनि बसेर खान्छु भन्छन्।’

टेक अवेले ठूला व्यवसायीलाई त्यति ठूलो समस्या नपारे पनि स–साना व्यापारीलाई भने तनाव छ।

चिया, चुरोट, चाउमिन बेचेर गुजारा गर्नेलाई बसेर खान नदिँदा खर्च उठाउन धौंधौ भएको छ।

चिया, चुरोट, चाउमिन मगाएर कसले खाने? अर्डर गर्न नम्बर पनि त सबैसँग हुँदैन।

मध्यमदेखि ठूला व्यवसायको इन्टरनेटमा सबै सूचनाका साथै मेनु उपलब्ध हुने र डेलिभरीको समेत व्यवस्था हुन्छ।

तर, एकैजनाले चलाइरहेका साना व्यवसायको भने न इन्टरनेटमा सूचना जानकारी हुन्छ, न डेलिभरी गर्ने मान्छे न मगाएर खाने नै।

यस्तै समस्या परेको छ, पुतली सडकमा चिया पसल सञ्चालन गरेकी सुनिता लामालाई।

लामाले चिया पसल सञ्चालन गरेको बल्ल एक महिना पुग्दै छ।

लकडाउनका कारणले त्यत्तिकै पनि व्यापार घटेको थियो अहिले त झन बेहाल भएको छ।

‘चिया कसैले पनि घरमा मगाएर खाँदैनन्, भएका धेरैजसो अफिसले पनि आफैं पकाउने गरेका छन्। चिया त कसले मगाएर खान्छन् र?,’ लामाले दुःखेसो पोखिन्।

चिया सबैले पसलमै गएर खाने हो।

चिया गफ चुट्दै साथीभाइको जमघटमा खाइन्छ।

तर, अहिले कोरोना भाइरस महामारी तथा टेक अवे सिस्टमले चिया व्यवसाय चौपट पारेको उनको अनुभव छ।

उनले पसलभित्र बसेर चिया खान नदिने गरेकी छिन्।

बाहिर दुई–तीनजना बसेर चिया पिइरहेका हुन्छन्।

पूर्णरूपमा लकडाउन हुनुभन्दा टेक अवेले लामालाई केही राहत महसुस गरेकी छिन्।

‘पूर्णरूपमा बन्द हुनुभन्दा त यतिको ठिक छ, नत्र त कसरी खाने कसरी भाडा तिर्ने?,’ उनी भन्छिन्।

उनले चिया, चाउमिन, चाउचाउ, चना, आलु पकाउने गरेकी छिन्।

तर, अधिकांशले ती सामान्य खानेकुराका परिकार घरमै मगाएर खान त्यति रुचाउँदैनन्।

‘नजिक–नजिक रहेका सर्वसाधारण फाट्टफुट्टमात्र चिया खान आउँछन्। आलु, चना, चिया त कसले अर्डर गरेर मगाएर खानु?,’उनी भन्छिन्।

अनामनगरको बोताको अवस्था पनि उस्तै सुनसान छ।

ढोकाको बाहिर ‘टेक अवे एन्ड डेलिभरी’ लेखिएको छ।

भित्रका सोफा सेट र कुर्सीहरू खप्ट्याएर एक कुनामा राखिएको छ।

अर्डर आएपछि मात्रै किचेनमा आगो बल्छ, अन्यथा बसिरहनुको विकल्प हुँदैन।

‘अर्डर पनि पहिलेको जस्तो आउँदैन, मान्छे घरमा बसेपछि बाहिरको खाना खाँदैन रहेछन्,’ बोताका निराजन नगरकोटी भन्छन्।

बोताले टेक अवेपछि आफ्नो मेनु बदलेको छ।

‘दैनिक १९-२० हजारको मेनु डेलिभर हुने गरेकोमा अहिले अधिकतम चार–पाँच हजारको मात्रै हुन्छ, कोरोनाले सबैलाई समस्यामा पारेको छ,’नगरकोटी भन्छन्।

टेक अवेमा कोरोना भाइरस संक्रमणको जोखिम नहुने र सामाजिक दुरीसहित बसेर खाँदा हुने भन्ने त होइन। तर भिडभाड नियन्त्रण गर्ने मुख्य हतियार भने टेक अवे हो।

जसका कारण ग्राहकले मन परेको परिकार मगाएर खान सक्छन् भने व्यवसायीलाई पनि राहत हुन्छ।

जोखिम त डेलिभरी गर्दा समेत हुन्छ। नगरकोटी भन्छन, ‘डेलीभर ब्वाइलाई संक्रमणको जोखिम नहुने होइन, तर हामिले सुरक्षासहित पठाउने व्यवस्था गरेका छौं।’

उनले डेलिभर ब्वाइलाई स्यानिटाइज गर्न लगाउने, आइसकेपछि साबुनपानीले राम्ररी हात धुने र जाँदा पनि स्यानिटाइज गर्न लगाउने बताए।

उनको पनि ग्राहकले बसेर खान मन पराउने कुरा महसुस गरेका छन् र देखेका समेत छन्।

तर, सरकारले टेक अवे सिस्टम लागू गरेको छ, बसेर खान मिल्दैन।

धेरैले घरमा अर्डर गरेर खान सक्दैनन् र धेरैले बाहिरको खाना खान छोडिसकेका छन्।

जसका कारण होटल व्यवसाय सुक्न थालेका छन्।

भीडभाड हुने चिया पसल फास्ट फुडदेखि स्तरीय क्याफे हाउस र होटलसमेत सुनसान बनेका छन्।

त्यस्तै अवस्था छ पुतली सडकस्थित सहारा तन्दुरी क्याफेको।

भएका कुर्सी टेबल एकमाथि अर्को गर्दै थन्क्याइएको छ।

भित्र बसेर खान मिल्दैन। बसेर न त खान मिल्छ न व्यवसायीले अनुमति दिन्छन्।

टेक अवेले झन् समस्यामा पारेको क्याफेका सञ्चालक शैलेन्द्रविक्रम थापा बताउँछन्।

बन्द गरौं भने पनि नहुने खोलौं भने पनि नहुने, के गरौँ के गरौं भएको छ उनलाई। खोल्नुभन्दा त बन्द गरौं जस्तो लागेको छ।

‘बन्द गरौं भने पूर्णलकडाउन होइन, खोलौं भने स्टाफलाई तलब दिनुपर्छ तर आफ्नो लागतसमेत उठ्दैन,’ थापा भन्छन्।

बसेर खान नमिल्ने भएपछि व्यापार घटेको र घरमै बसेकाहरूले होटलबाट मगाएर खाने नगरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय