‘मैले गरेका काम हेर्नुहोस् सय भन्दिनँ ८० चाहिँ जरुर ल्याउँछु’

गत वर्ष माघ ९ गते चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भयो। नेपालमा संक्रमणको यो पहिलो केस थियो।
चैत ११ गते ‘लकडाउन’ को घोषणा हुँदै गर्दा भारत तथा अन्य देशबाट आएकामा संक्रमण पुष्टि भइरहेको थियो।

लगभग चार महिनापछि साउन ६ मा सरकारले लकडाउन अन्त्यको घोषणा गर्दै गर्दा संक्रमण हुने र संक्रमितको मृत्यु हुने क्रम झनै बढिरहेको थियो।

लकडाउन अन्त्यसँगै संक्रमण र मृत्यु दर झन् झन् बढ्दै जान थालेको छ। सरकारले देशभर लकडाउन अन्त्यको घोषणा गरिरहँदा स्थानीय तहमा भने ‘सिल’ र निषेधाज्ञा जारी गर्ने क्रम सुरु भइसकेको थियो।

र, त्यो सिलसिला अन्ततः काठमाडौं उपत्यकासम्मै आइपुग्यो। लकडाउन अन्त्य भइसके पनि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी भइसकेको छ।

मुख्यतः कोरोना संक्रमण र अब सरकारका रणनीतिमा केन्द्रित रहेर आयोमेलका गजेन्द्र बोहरा र पुष्पराज चौलागाईंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमसँग कुराकानी गरेका छन्–

कोरोना भाइरस संक्रमणबारे सरकारको आधिकारिक धारणा राख्ने तपाईंलाई आमनेपालीको स्विकार्यता कस्तो लाग्छ?
म एक डाक्टर हुँ। त्यसमा पनि विशेषज्ञ डाक्टर। नेपालको स्वास्थ्य सेवामा लामो समयदेखि काम गरेको छु। मैले व्यवस्थापक भएर पनि धेरै वर्ष काम गरेको छु। प्रसुती गृहमा नै ६ वर्ष काम गरेँ। व्यवस्थापनमा एउटा सिद्धान्त हुन्छ, जुन परिर्वतन हो। केही पनि परिवर्तन गरिएन भने त त्यो व्यवस्थापक नै भएन।

तर, जहिले पनि परिवर्तन गर्न खोज्यो भने, त्यो सुरुमा अस्विकृत नै हुन्छ। यो प्राकृतिक स्वभाव नै हो। उदाहरणका लागि, तपाईंले घरमा एकातिर सिरानी राखेर सुत्नुभएको छ भने बेडलाई अर्कोतिर सिरानी पार्न मन पराउनुहुन्न।

पाँचतारे होटलमा गएर सुत्दा पनि तपाईंले आफ्नो बेडमा पाउने सन्तुष्टि जति अन्त पाउनुहुन्न। त्यो किन भएको भन्दा परिर्वतन मान्छेले स्विकार गर्दैन, यो स्वाभाविकै हो।
तर, परिर्वतन नगरी त उन्नति हुँदैन। त्यसकारण कहिलेकाहीँ व्यवस्थापकहरू आउट अफ बक्स गएर काम गर्छन्।

सुरुमा मन्त्रालयमा प्रवक्ता भएर आउँदा मानिस अलि नेगेटिभजस्तो देख्नुभएको थियो। कोरोना भाइरस (कोभिड–१९) ब्रिफिङबारे पाँच दिनजतिको पूरै कमेन्ट पढेको छु। अहिले त म पढ्न भ्याउँदिन। अहिले जिम्मेवारी बढ्दै गयो। मानिसले कसरी पर्सिभ गरे भन्ने मलाई राम्रोसँग थाहा छ। जसमा दुई कुराले काम गरेको थियो।

मअघिका प्रवक्ता डा. विकास देवकोटा प्लिजेन्ट हुनुहुन्छ। प्रष्ट बोल्नुहुन्छ। धेरै मानिसलाई कडा जवाफ दिनुहुन्न। उहाँको र मेरो चिनजान २०४१ सालदेखिको हो। ३६ वर्षसम्म हामी कहिले कता–कहिले कता सँगसँगै छौं। उहाँ कलेजमा पढ्दा मेरो जुनियर पनि हो।

मैले बहुत माया गर्ने भाइमध्येको उहाँ एक हो। उहाँको र मेरो जहिले पनि सम्बन्ध सुमधर छ। हिजो पनि थिथो, आज पनि छ र भविष्यमा पनि हुन्छ। हाम्रो बीचमा केही पनि त्यस्तो समस्या छैन।

तर, मानिसले यो विषयलाई इस्यु बनाएर कुरा गरे। जुन कुरा नगरेको भए हुन्थ्यो जस्तो लाग्छ। यो कुरा मेरो हातमा थिएन।

म विगत ६ वर्षदेखि प्रसुती गृहको निर्देशक थिएँ। मैले काम गरेँ, गरिनँ। खुला पुस्तक छ। तपाईं सात वर्षदेखि अगाडि गएर हेर्नुभएको थियो र आज गएर हेर्नुभयो भने त्यही अस्पताल हो भनेर ठम्याउन गाह्रो छ।

त्यति परिर्वतन भयो। धेरै मेहनतसाथ काम गरेर आएको मान्छे हुँ। मन्त्रालय आउँदा पनि मन पराउने वा नपराउने कुरा हुन्छ। त्यही भएको हो, त्यसभन्दा बढी केही भएको होइन।

आमनेपाली जनताले कोरोना महामारीलाई कसरी बुझेका छन् जस्तो लाग्छ?
कोरोना महामारीलाई नेपालको जनसंख्याको उल्लेख्य प्रतिशतले बुझेका छैनन्। नौ महिनाअघि हामी स्वास्थ्यकर्मीले नै बुझेका थिएनौं। मानिसले सार्स, इबोलाजस्तै अलि दिन आउँछ अनि जान्छ, भनेर बुझेका थिए। कतिपयले ‘चीन’ मा बनाएको भाइरससम्म भनेका थिए। अमेरिकाले त त्यही भनिरहेको छ।

पहिला यो भाइरसकबारे कसैलाई पनि थाहा थिएन। तर, भाइरसबारे हामी त अध्ययन गरेर आएका हौं नि। सबै कोरोना भाइरस कोभिड–१९ होइन। कोभिड–१९ चाहिँ कोरोना भाइरस हो। यो एक अलि फरक जातको भाइरस हो। यो संसारभर फैलियो। २ सय १५ बढी देशमा फैलिएको अवस्था छ।

जुन देशका मानिस अनुशासित छन्, त्यहाँ भाइरसले कम क्षति गरेको छ। जहाँ प्रजातन्त्र भनेर उत्ताउलोपन छ, त्यो ठाउँमा भाइरसले धेरै असर गरेको छ। जुन कुरा हामी सबैलाई थाहा छ।

सात–आठ महिनादेखि पनि मैले भाइरसले ठूलो असर गर्नेवाला छ, भनेर भन्दै आएको थिएँ। मैले सात महिनाअघि अन्तर्वार्तामा भनेको कुरा आज हेर्दा, अहिले भन्ने कुरामा धेरै फरक छैन। मैले त्यसको अध्ययन गरेको थिएँ। त्यसकारण बोलेको थिएँ।

मानिस कतिले त भाइरोलोजिस्ट पनि होइन, इपिडिमियोलोजिस्ट पनि होइन, किन बोलिरहेको छ, भन्थे। म मेडिकल डाक्टर हुँ। मेरो विषयको अलि दक्खल राख्ने मान्छे हो म।

सरकारमा मेरो विषयको सबैभन्दा सिनियर मान्छे हुँ। त्यसकारण म बोल्न जरुरी थियो र बोलेँ। त्यतिबला गर्भवती डेलिभरीसँग सम्बन्धित कुरा गर्थें। अहिले मेरो भूमिकामा परिवर्तन भएको छ। त्यति बेलादेखि अहिलेसम्म आइपुग्दा मानिसले कोरोनालाई अलि हल्का रूपमा र राजनीति मिसाएर बुझेका छन्। जुन गलत हो।

गएको सय वर्षयता यति ठूलो हिसाबमा देशभित्र रोग कहिले पनि फैलिएको छैन। सन् १९१८ देखि १९२० सम्म स्पेनिस फ्लु फैलिएको थियो, विश्वयुद्धको अन्तिम तिर। त्यो बेला संसारभर ६ करोड ५० लाख मानिसको मृत्यु भएको थियो। त्यो बेला भारतको कूल जनसंख्याको २० प्रतिशतको मृत्यु भएको थियो। हरेक घरमा कम्तिमा एकजनाको मृत्यु। त्यति बेला ठूलो पीडादायी अवस्था थियो।

अहिले ७ लाखहाराहारीमा मृत्यु भएको छ। यो कहाँसम्म जान्छ भन्न गाह्रो छ। म बाटो हिँडिरहेको बेला मानिसले मास्क लगाएको हेर्छु। ७२ प्रतिशत मानिसले मास्क लगाएका छन्। ९० प्रतिशतलाई मास्क लगाउनुपर्छ भन्ने थाहा छ। यो मैले आँकलन गरेर भनेको होइन, अनुसन्धानले देखाएको हो। १८ प्रतिशत मानिस बेपरवाह छन्।

काठमाडौं उपत्यकामा ९ लाख मानिसले मास्क लगाउनुपर्छ भन्ने थाहा पाएर पनि लगाएका छैनन्। १० प्रतिशत अर्थात ५ लाख मानिसलाई मास्क लगाउनुपर्छ भन्ने नै थाहा छैन। उपत्यकामा ३२ लाख मानिसले मात्र मास्क लगाएर पुग्दैन। सबैले लगाउनुपर्छ। यो रोगलाई मानिसले चिनेकै छैनन्, त्यसकारण लगाएका छैनन्।

उपत्यकाका मानिसलाई के लागेको थियो भने हिजो पर्सा, रौतहट र उदयपुरमा मृत्यु हुँदा यहाँका मानिसमा लागेको थिएन कि यो रोग यहाँ पनि आइपुग्छ। काठमाडौंका मान्छेलाई लागेको थियो कि, यो त काठमाडौं बाहिर बस्ने गरिबगुरुवाको रोग हो। तर, जब काठमाडौंका एलिटहरूको ढोकासम्मै कोरोना आइपुग्यो अनिमात्रै यहाँ यत्रो हल्लीखल्ली भयो। काठमाडौं बाहिर बस्नेको रोगमात्र भनेर बुझेका थिए। मैले त्यति बेला नै भनेको थिएँ– यो भ्रम हो, रोग यहाँ आउँछ। जुन संसारभर फैलिरहेको छ।

नेपाल कुन चाहिँ ठूलो राम्रो सिस्टम भएको देश हो र! अब यो नजिकै आइपुग्यो। काठमाडौंमा नै संक्रमण देखियो, मृत्यु हुन थाल्यो। काठमाडौंमा संक्रमितको संख्या बढेकोले दुई दिनयता मानिसहरू अलि सतर्क भएको देखिन थालिएको छ। काठमाडौंको (आउट स्कर्ट) क्षेत्रतिर हेर्दा हेलचेक्र्याँइ अलि बढी रहेको छ।

मानिसले अझै रोगका रूपमा बुझेका छैनन्। जबसम्म यो रोग हो, समस्या हो भन्ने बु्झिँदैन नि, तबसम्म यसबाट बच्ने उपाय मानिसले फलो गर्दैन। स्कुल वा कलेज पढ्ने विद्यार्थीले यो लेभल पास नगर्ने हो भने मेरो जीवनमा अप्ठ्यारो पर्छ भन्नेले पढ्दैनन्। त्यस्तै काठमाडौंका जनताले त्यही व्यवहार गरिरहेका छन्।

२ सय रुपैयाँको मास्क किनेर लगाउन नसक्ने, अनि सरकारले लाखौं खर्च गरेर उपचार गरिदिनुपर्ने? भनेर थर्काउनुहुन्छ, तर पाँच रुपैयाँ पनि नहुने जनताका लागि सरकारले के ग-यो त?
हो, मैले भनेको थिएँ। जुन बेला हाम्रा स्वास्थ्यकर्मी डाइपर लगाएर आइसियुमा काम गरिरहेको रिपोर्ट भएको थियो। हो, आज पनि डाइपर नै लगाएर काम गरिरहेका छन्। जुन मानिसहरुले आत्मबोध गरेकै छैनन्। हुन त राज्यले गरेको खर्च जनताको पैसा हो। तर, त्यसमा राज्यले यति ठूलो काम ग-यो भन्नु त कति सापेक्ष हुन्छ। एउटा मानिस कोरोना भाइरस परीक्षण गर्न ५ हजार ५ सय रुपँया खर्च गरेको छ। जस्तो कि केही समय अगाडि काठामाडौं उपत्यका भित्रिने १० हजार ५ सय मानिसको परीक्षण गरियो । यसमध्ये ४४ जना मानिसमा संक्रमण पुष्टि भयो।

एकजना पत्ता लगाउन लाखौं खर्च भएको छ। त्यो सरकारको खर्च भने पनि जनताको खर्च हो, जुन बेला मैले कुनै प्रसंगमा भनेको थिएँ। हरेक दिन मास्क किनेर लगाउनुपर्छ भन्ने मेरो धारणा छैन। मैले भन्ने कुरा तपाइँले याद गर्नुभएको छ भने अन्य कमन डाक्टरले प्रयोग गर्न भाषा मैले बोलेको हुँदैन किनभने केही दिनअघि एकजनाले सोध्नुभएको थियो– तपाइँ कहिले जुत्ता लगाउनुभयो? म १६ वर्ष भएपछि चप्पल लगाएको र जुत्ता लगाउन १८ वर्षको हुनुपरेको भनेको थिएँ। म त्यो एंगलबाट सोच्ने मानिस हुँ।

अहिले यही मन्त्रालयमा हेर्दा पनि अहिले सबै कोठा खाली छन्। तर, डाक्टर जागेश्वर गौतम कति बेला फर्किन्छ थाहा हुँदैन। मलाई ५ बजेपछि बस्नु कसैले भनेको छैन। तर, म बस्छु। मेरो काम गरिरहेको हुन्छु। कसले के भन्छन् सँग मतलब राख्दिनँ। म देशलाई बहुत माया गर्न मान्छे हो। विदेशमा धेरै अवसर छोडेर नेपालमा बसेको हुँ किनभने नेपाली जनता जे खान्छन्, जे लगाउँछन्, म त्यस्तै गरी नै बसिरहेको हुन्छु। २ सय खर्च गरेर एउटा कटन कपडाको तीनपत्री भएको मास्क बनाएर लगाए हुन्छ। जुन नयाँ पनि चाहिँदैन। पुरानो कपडाको भए हुन्छ। फाटेको सिरकको खोलको बनाएको भए पनि हुन्छ। तर, तीनपत्री हुनुपर्छ। जसलाई हातले सिलाउन सकिन्छ।

म आफ्नै हातले कट्टु, टिसर्ट, सिलाएर लगाएको मान्छे हुँ। म त अहिले डाक्टर हुँ। तर, पहिला त डाक्टर भएको होइन। यति कुरा गर्न सबै नेपालीले जान्दछन्। दुना–टपरी बनाउन सिकाउनुपर्छ। एउटा कपडाको मास्क बनाउन सिकाउनुपर्छ। जुन हरेक मानिसले गर्न सक्छन् नेपालमा। नेपालमा जति घर रहेका छन्। ती सबै घरका एक न एक मानिसले मास्क बनाउन सक्छन्। मैले किनेर लगाउनु भनेको छैन। जुन ५ रुपैयाँ पनि पर्दैन। प्रयोग नहुने भएको छेउमा फाटेको सिरकको काटेर तीनपत्री बनाएर दुईवटा सिलाउनुहोस्। एउटा आज लगाउनुहोस, बेलुका धुनुहोस र भोलि अर्को लगाउनुहोस्। पाँच पैसा पनि खर्च हुँदैन।

नेपालजस्तो गरिब देशमा बसेर विदेशबाट सामान ल्याएर लगाउने भन्ने कुराको म विरोधी हुँ। मैले लगाएको लुगा पनि विदेशमा नै बनेको होला। तर, मैले नेतृत्व गर्न पाउने हो भने विदेशबाट आउने सबै सामान बन्द गरेर नेपालमा कोरा सिलाई बनाउन लगाउँछु। २ सय वर्ष अगाडि हाम्रो नेपालमा बस्ने मानिस नाङ्गै हिँडेका थिए। के बाहिरबाट लुगा आउँथ्यो? होइन, नेपालकै तानमा बुनेर लगाइन्थ्यो, त्यति बेला। तानमा बुन्न सकिन्छ भने सानो–टुक्रा मास्क बनाउन सकिँदैन।

अहिले आइसियुमा मानिसको उपचार भइरहेको छ। सरकारले एकजना मानिस एक महिना बसेको ४ लाख ५० हजार तिरिरहेको छ। पैसा छ भनेर बालुवामा पानी हालेको जस्तो हाल्न मिल्छ? नेपालले नसकेर विदेशसँग ऋण लिन्छ। नेपालमा हामी चाहिँ बालुवामा पानी हालेको जस्तो पैसा बगाइरहेका छौं भन्ने प्रसंगमा मैले भनेको थिएँ। जुन भनाइसँग अहिले पनि सतप्रतिशत नै सहमत छु। मसँग कोही मानिसले प्रतिवाद गर्छ भने तयार छु। जुन कुरामा अहिले पनि ठिङ्ग उभिएको छु। आज पनि त्यस कुरामा पुनर्विचार गर्नुपर्छ भन्ने कुरा म मान्दिनँ।

कोरोना महामारीले कुन रूप लिनसक्छ? सरकारको विश्लेषण के छ?
यो रोगको धेरै फिचर थाहा छैन। हालसम्मको तथ्यांक हेर्दा खोप नआएसम्म नियन्त्रणमा आउँदैन। दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत, रुस, भियतनामजस्ता देशमा कन्ट्रोलमा आएर पनि फेरि संक्रमण बढ्न पुग्यो। भारतमा दैनिक संक्रमित हुने संख्या बढिरहेको छ। केही दिनमा ब्राजिललाई पनि जित्छ। मेरो अध्ययनमा संसारभरका देशमध्ये धेरै मृत्यु भारतमा हुन्छ। म चाहन्छु त्यो कुरा गलत होस् तर तथ्यांकहरूले यो कुरा देखाइरहेका छन्।

भारतको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र बिहार र युपी हो। जहाँ २५ करोड जनसंख्या बस्छन्। त्यहाँ धेरै मानिसमा संक्रमण भएको छ। जबसम्म उत्तर प्रदेश, बिहार, पश्चिम बंगालमा यो रोग कन्ट्रोल हुँदैन, नेपालमा पनि हुँदैन।
अहिले संक्रमणको कारणभन्दा खेतीको सिजन आयो। नेपाली जनता भेडा चराउन अरबतिर जाने। तर, बाँझो भएको जमिन भारतीय आएर कमाउने गरेका छन्।

भारतको बिहारमा लकडाउन भयो। बिहारमा स्वास्थ्य सुविधा नेपालको जतिको पनि छैन। जब मानिसहरू त्यहाँ बिरामी परे। ती मानिस नेपाल छिरे। उनीहरू आउँदा रोग पनि लिएर छिरे। त्यसबेला हाम्रो चिकित्सकको पनि कमजोरी रह्यो। जुन बेला यथेष्ठ सुरक्षा–सामाग्री प्रयोग गरेनन्, मास्क लगाउने, कम्तिमा चस्मा लगाउने र एउटा वाटर प्रुफ गाउन लगाइदिएको र हात राम्रोसँग धोएको भए वीरगन्जको अवस्था यो हुने थिएन। चिकित्सकले पनि संक्रमण सारेका छन्। मलाई रिपोर्ट आएको छ। अस्पतालमा चिकित्सकले पिपिई भनेर मागेर लगाए पनि तर, क्लिनिकमा लगाएनन्। त्यो कुरा कति सत्य हो।

भारतमा संक्रमण रहेसम्म नेपालमा संक्रमण शून्य भए पनि जोखिम बाँकी रहन्छ। त्यतिमात्र होइन, संसारभर अहिले गाउँजस्तो भएको छ। संसारभरबाट उडेर आउन एक दिन पनि लाग्दैन। जबसम्म बाहिर संक्रमण रहेको छ भने नेपालमा संक्रमण हुने चान्स रहिरहन्छ। संसारभर कोरोना उन्मुलन नभएसम्म नेपालमा उन्मुलन होला भनेर आसा गर्नु दिवास्वप्नमात्र हो। त्यो सम्भव छैन। तर, त्यसो भन्दै गर्दा पनि कन्ट्रोल चाहिँ गर्न सकिन्छ।

अहिलेभन्दा ३५ दिन अगाडि नेपालको संक्रमण दर आठदेखि नौ प्रतिशत थियो। आजभन्दा १५ दिन अगाडि संक्रमण दर २.४ प्रतिशत थियो। तर, बढेर संक्रमण चारदेखि ६ प्रतिशतसम्म पुगेको छ। अहिले पनि हामी ३५ दिन अगाडिको खराब अवस्थामा पनि छैनौं। तर, मानिसलाई किन यस्तो लागिरहेको छ भने अहिले रोग काठमाडौंमा आएको छ। काठमाडौंमा मिडिया छन्। काठमाडौंका मान्छे, सिंहदरबार नजिकै, सरकारको नजिकै बस्छन्। सरकारको विरोध गर्ने पनि धेरै छन्।

काठमाडौंमा धेरै एलिटहरू बस्छन्। काठमाडौंमा पाँच–सातजनामा संक्रमण हुँदा मानिस धेरै डराए। वीरगन्ज, धनगढीतिर सयौं हुँदा डराएनन्। उपत्यकामा बस्ने केही मानिसले तराईमा गरिब मर्दै गर्छन् भन्ने हिसाबले सोचेका थिए। तर, यस्तो होइन। मानवको मूल्य काठमाडौंमा बस्ने र रौतहटमा बस्ने एउटै हो। उनीहरूको भ्यालु एउटै हो। अझ त्यहाँ बस्नेको मूल्य बढी हुनसक्छ किनभने तिनीहरू कमाएर खाने मानिस हुन्। उनीहरूले कमाएर हामीले खान्छौं यहाँ। यो काठमाडौं केन्द्रित मानसिकताको उपज हो। तर, यसो भन्दै गर्दा पाँच–सात दिनयता संक्रमितको संख्या बढिरहेको छ।

पहिला म प्रवक्ता भएर आउँदा दैनिक २ हजार पिसिआर हुने गरेको थियो। २ हजार भएको संख्यालाई हामीले मेहनत गरेर आज ११–१२ हजार गरिरहेका छौं। अहिले दैनिक गर्न सक्ने क्षमता २२ हजारसम्म रहेको छ। मानिसले भन्ने गरेका छन्– २२ हजार छ भने किन ११ हजार गर्नुहुन्छ? किनभने यसमा पैसा लाग्छ। परीक्षण गर्ने पनि केही मापदण्ड रहेका छन्। जसलाई पनि परीक्षण गर्दा केस भेटिँदैन। १० हजार ५ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण भेटियो। जुन कस्ट इफेक्टिभ भएन। यतिको संख्यामा गर्दा १ हजार भेटिनुपर्ने हो। १० प्रतिशतमा संक्रमण भेटियो भने परीक्षण संख्या बढाउनुपर्ने हुन्छ।

अहिले नेपालमा पाँच–६ प्रतिशतमा संक्रमण देखिएको छ। काठमाडौंमा दुई कारणले कोलाहल भएको छ। एउटा नजिकै घर छेउमा आइपुगेको मानसिकता छ। अर्को संक्रमण संख्या काठामाडौंमा धेरै हुने सम्भावना छ किनभने उपत्यकाको जनसंख्या धेरै छ। ५० लाख जनसंख्या भनेको एकदम धेरै हो। मैले पहिलादेखि नै भनेको थिएँ– काठमाडौंमा संक्रमण छिरेपछि निस्कन गाह्रो छ। धेरै मानिसको मृत्यु हुन्छ किनभने यहाँ बुढापाकाको जनसंख्या धेरै रहेको छ। जसलाई यसले असर गर्छ। प्रेसर, मधुमेह, श्वासप्रश्वास समस्या, मिर्गौला, क्यान्सर भएका मानिस धेरै रहेका छन्। ती मानिसलाई संक्रमण भए मृत्यु हुने चान्स धेरै हुन्छ। यही कारणले भनेको थिएँ। जुन मैले गलत भएको भए धेरै खुसी हुन्थेँ। जुन कुरा मैले तीन महिना अगाडि भनेको थिएँ आज त्यही भइरहेको छ।

पहिला संक्रमित २० देखि ५० वर्षका थिए। जुन भारतमा कमाउन गएका मानिस थिए। बलिया थिए। क्वारेन्टाइनमा बसेका थिए। भलै, क्वारेन्टाइन व्यवस्थापन भएन कतिपय ठाउँमा। क्वारेन्टाइनमा एकापसमा स¥यो होला। क्वारेन्टाइनमा दुःख पाएर १४ दिन बिताएर निस्किए। उनीहरूले रोग सर्नबाट बचाए। क्वारेन्टाइनमा संक्रमित भएर पनि खानपिन व्यवस्थापन राम्रो नभएर मानिसहरू त्यहाँ बसेर जुन त्याग गरे।

उनीहरूलाई सलाम गर्नुपर्छ। उनीहरूले संक्रमण सारेनन्। तिनीहरू दिन–उमेरका मानिस थिए। उनीहरूलाई लक्षण पनि देखिएन। तर, अहिले त्यस्तो छैन। जो भारतमा लकडाउन खुलेपछि भागेर काठमाडौं आए। तिनले संक्रमण सारिरहेका छन्। रोग त बलिया मान्छेलाई मात्र त सर्दैन नि! उनीहरूले सबैलाई सार्छन्। रोगी, बुढाबुढी, बच्चाबच्ची, गर्भवती, सबैखालका मानिसलाई सारे। अब मानिसहरू मर्न थाले। अहिले धेरै मानिसमा संक्रमण र मृत्यु बढेको छ, यही कारणले हो।

तपाईं आफैंले भनिरहनुभएको छ, जोखिम थियो र छ अनि रहन्छ। लकडाउन गर्दा र अन्त्य गर्दा सरकारले यस्तो जोखिमको केही विश्लेषण गरेन?


रोगको प्राकृतिक इतिहास राम्रोसँग बुझेपछि यो कुरा राम्रोसँग बुझिन्छ। धेरै जनस्वास्थ्यविद, चिकित्सक मेरा सिनियर, जुनियरले धेरै कमेन्ट गरेका छन्। त्यसमा कति मानिसले कुरा बुझेका छैनन्। कतिले बुझेर पनि बुझ पचाएका छन्। जसले बुझेका छन् उहाँहरूलाई धन्यवाद छ। यसको प्रष्ट कुरा के हो भने, नेपालले जुनबेला लकडाउन ग¥यो, एकदम ठिक समयमा ग-यो।

तर, त्यति बेला पनि विकल्प नभएको होइन। मलाई त्यति बेला सोधेको भए आज त्यो कुरा भनेर काम छैन। मैले त्यति बेला के सोच्थेँ भने जुन बेला लकडाउन भयो अन्तर्राष्ट्रिय विमानबाट आएका मानिसलाई सबैलाई क्वारेन्टाइनमा राख्ने र साउथ बोर्डर चाहिँ सिल गर्ने।

लुकीछिपी आएको मानिसलाई क्वारेन्टाइनमा राखेको भए, त्यतिबेला लकडाउन गरिहाल्नुपरेको अवस्था त्यति थिएन। तर, जो मानिस लुकिछिपी काठमाडौं आए नि, त्यो कुरा उपयोगी हुँदैन थियो भन्ने कुरा अहिले तथ्यांकले देखाएको छ। जुन बेला नेपालले लकडाउन ग-यो एकदम ठिक समय थियो।

अहिले हामी यही कोरोनाको बारेमा कुरा गरिरहेका छांै। तर, नेपालले राम्रो रिजल्ट ल्याएको छ। त्यसको तीन विश्लेषण छन्। नेपालमा अझै पनि संक्रमणको दर चार–पाँच प्रतिशत नै रहेको छ। कतिपय देशमा १८ प्रतिशतसम्म पुगेको छ। कोरोनाबाट मृत्यु भएको दर ०.३ प्रतिशत रहेको छ। जुन दक्षिण एसिायमध्ये श्रीलंकाभन्दा हामी तल छौ।

नेपालमा जुन पिसिआर परीक्षण भइरहेको छ, भुटानपछि नेपालले सबैभन्दा धेरै परीक्षण गरेको छ। आज पनि हामी प्रति १० लाखमा झन्डै १८ हजार परीक्षण गरेका छौं। यसो भन्दै गर्दा धेरै नै कान फुलाउनुपर्ने अवस्था छैन। पिसिआर धेरै गर्नु भनेको राज्यको ढुकुटी खर्च गर्नु हो। दक्षिण कोरियाले धेरै परीक्षण गरेको थियो। तर, त्यहाँ अहिले प्रश्न उठेको छ। यति धेरै परीक्षण गर्न हुँदैन थियो।

तर, नेपालमा राजनैतिक मिसिएको भएर कोरोना पोलिटिक्स भयो। मिडियाहरूलाई पनि यो राम्रो खजाना बन्यो। विपक्षी पार्टीले मानिसलाई पनि धेरै राम्रो खजाना बन्यो र रुलिङ पार्टीभित्रका मानिसलाई पनि जो विपक्षी मत राख्छन् ठूलो खजाना बन्यो। यस्तो बन्न हुँदैन थियो किनभने यो रोग हो नि त। त्यसकारण संसारभर कोरोनामात्रै नभएर कोरोना पोलिटिक्समा कन्भर्ट भएको छ। कोरोना सकिँदै गर्दा संसारमा ठूलो उथलपुथल हुनेवाला छ। हामीले स्वास्थ्यमा गरेको बारेमा पनि डिफाइन गनुपर्ने हुन्छ। यसले नेगेटिभमात्र होइन, पोजेटिभ कुरा पनि दिनसक्छ।

कोरोनामा नेपालले केही पनि गरेन भन्छन् नि। यो गलत हो। विश्लेषण गरेर भन्नुप¥यो नि। मन लागेको कुरा त भन्न पाइन्छ। एउटा पनि परीक्षण नहुने देशमा १२ हजार परीक्षण भएको छ नि। भएकोलाई त मान्नु प¥यो नि। यस विषयमा कुनै दिन मानिसले उठाएका छैनन्। मैले १० हजार परीक्षण हुन्छ भन्दा मानिसले हासेर उडाएका थिए। म त एउटा मेडिकल डाक्टर हुँ। विज्ञानबिनाको आधारमा म बोलेको हुँन्नँ। जीवनको उत्तरार्धमा स्वास्थ्य मन्त्रालयको प्रवक्ता भएको छु। कति वर्ष काम गरुँला। मलाई यसबाट वाह–वाह प्रशंसा लिनु पनि छैन।

लकडाउनले रिजल्ट पोजेटिभ नै दियो। म त्यति बेला अस्पतालको निर्देशक भएको थिएँ। कोरोना आएपछि हाम्रो स्वास्थ्यकर्मी काम नै गर्न मानेका थिएनन्। तिनीहरूलाई फर्काउन धेरै समय लागेको थियो। लकडाउन हुँदा जति स्वास्थ्यकर्मी डराएका थिए नि, त्यति अहिले डराएको भए अझै धेरै मानिसको मृत्यु हुन्थ्यो। समयमा सिक्दै, बुझ्दै गए। आइसियु, भेन्टिलेटरको व्यवस्थापन गर्न समय चाहिएको थियो। यो गर्न लकडाउनले एकदम राम्रो भूमिका खेल्यो। लकडाउन मात्र सोलुसन होइन।

लकडाउन गरेको राष्ट्रमा पनि संक्रमण बढेको छ। यो तयारीको अवस्था हो क्षणिक हुनुपर्छ। लकडाउन खोल्दा अलि केही क्षेत्रलाई परिचालन गर्नुपर्थ्यो। भारतबाट तराई वा काठमाडौं छिरे नि, त्यसमा कडाई गर्नुपर्थ्यो त्यसमा हाम्रो कमजोरी भएकै हो। लकडाउन जहिले गर्दा पनि कोरोनाले भन्दा भोकमरीले मर्ने धेरै हुन्छन्। मानसिक रोगले आत्महत्या धेरै हुन्छन् र ननकोभिड रोगले मृत्यु हुने संख्या धेरै हुनसक्छ। यसबाट मृत्यु हुने नि जनताको नै हो। त्यसलाई हेर्नुपर्दछ।

यसको मतलब अब हामी कोरोना संक्रमणसँग बाँच्न सिक्नुपर्ने हो?
कोरोनासँग हामी बाँच्नुपर्छ। तर, ट्याक्टफुल्ली बाँच्नुपर्दछ। आज पनि अनुरोध गर्न चाहन्छु– दुई वर्ष पनि मैले भनेको कुरा साँचो नै ठहरिने छ। अतिआवश्यक नपरी घरबाट ननिस्कने। कुनै मानिस कपडा किन्न बजार गएको छ। यदि नाङगै भएको छैन भने तीन महिनापछि लगाए पनि हुन्छ। लाज छोप्नलाई घरमा छ भने अहिले लुगा किन्नलाई हिँड्ने होइन। घरमा खानपिन गर्न पाइएको छ भने अहिले होटल चाहर्ने होइन।

सानो कामका लागि जाने अनि ठूलो रोग लिएर फर्किने? दिन–उमेर भएकालाई केही नहोला। हजुरआमा जति सखाप। जसको कामअनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षागार्ड निस्कनै प¥यो। तर, अरू मानिस अहिले निस्कने बेला छैन। मानिसहरू नबुझेर निस्किरहेका छन्। पल्लो–घरका लागि पो लाग्ने हो, मलाई कहाँ लाग्छ भनेर मानिसहरूले पत्याएका छैनन्।

कोरोना उपचारमा खटिएको जनशक्ति नै संक्रमित भइरहेको छ? अब जनशक्ति कसरी व्यवस्थापन गर्ने? सरकारको रणनीतिक योजना केही छ?
तपाईंले जे प्रश्न सोध्नुभयो त्यसको जवाफ सजिलो छैन। अखिर रोग नलाग्ने दिए राम्रो हो। लागिसकेपछि त अस्पताल पनि जानुप¥यो। धेरै संख्यामा मानिस बिरामी हुन पुगे भने आइसोलेसन सेन्टरमा राखौंला। जसको घरमा बस्ने छुट्टै कोठा वा बाथरुम छ, उसलाई आइसोलेसनका लागि कहीँ राख्नुपर्दैन। त्यस्ता बिरामीलाई घरमै स्वास्थ्यकर्मी गएर निगरानी गर्ने व्यवस्थापन गरेका छौं। दिनमा एक संक्रमितबराबर २ सय रुपैयाँ स्वास्थ्यकर्मीलाई दिने गरेको छांै। त्यो त्यहीँ नै व्यवस्थापन हुन्छ।

जति मानिस अस्पताल जान्छन्, बेड पाउन गाह्रो हुन्छ। लक्षण नभएका मानिसलाई आइसोलेसन राख्ने व्यवस्था गर्छौं। जो मानिसलाई लक्षण देखिन्छ त्यस्ता मानिस अस्पताल जानुपर्दछ। एकदमै ठूलो संख्यामा मानिसमा संक्रमण भयो भने अस्पतालमा भएका बेड पुग्न गाह्रो छ। जस्तो कि भारतमा रेलको डिब्बाहरू अस्पतालमा कन्भर्ट गरिए। ठुल्ठूला होटल अस्पतालमा कन्भर्ट भए। निजी अस्पताल पनि कोभिड अस्पतालमा रूपान्तरण भए। जुन हामीले यहाँ पनि गर्नुपर्ने अवस्था आउनसक्छ।

सरकारले त हात उठाउँदैन नि। तर, त्यस्तो गर्न पनि धेरै गाह्रो छ। आज जुन गतिमा संक्रमण भइराखेको छ, त्यही दरमा स्वास्थ्यकर्मी संक्रमित भएका छन्। मैले सम्पूर्ण दाजुभाइ–दिदीबहिनीलाई अपिल गर्दै आएको छु। तपाईं संक्रमित हुनुभयो भने स्वास्थ्यकर्मीलाई पनि संक्रमित बनाउनुहुन्छ। स्वास्थ्यकर्मी संक्रमित वा मृत्यु भयो भने तपाईंले उपचार पाउनुहुन्नँ। तपाईंसँग पनि मर्नुबाहेक अन्य विकल्प हुँदैन। अन्यलाई संक्रमण नसार्न पनि तपाईं सावधान हुनुहोस् र एउटा मास्क लगाउनुहोस भन्दै आएको छु।
अहिले बजारमा अलि–अलि मानिस बेरोजगार छन्। तिनीहरूलाई लिन्छौं। जो मानिस रिटायर भएका छन् तिनीहरूलाई कल गर्छौं। जहाँ नन–आकस्मिक काम गरिहेका छन् स्वास्थ्यकर्मी उनीहरूलाई आकस्मिक काममा लगाउँछौं। पित्तथैलीमा पत्थरी छ, समस्या छैन भने अप्रेसन एक वर्षपछि गरे पनि हुन्छ। कसैको पाठेघर खसेको छ, त्यो अप्रेसन केही समयपछि गरे हुन्छ। यस्ता कुरालाई हामी पछाडि लैजान्छौं र आकस्मिक कुरालाई ध्यानमा राख्ने गर्छौं। यसरी नै सेवा दिन्छौं।

कोरोनाबाहेक अरू रोगका बिरामी अब मरिरहनुपर्ने? निजी अस्पतालसँग सरकारले घुँडा टेकेको कि उत्तरदायी बनाउन नसकेको?
सरकारले निजी क्षेत्रसँग किन घुँडा टेक्थ्यो र! निजी क्षेत्रले राम्रोसँग काम गरेन भने तुरुन्तै टाइट गर्न सक्छौं। निजी क्षेत्रलाई हामीले २० प्रतिशत बेड छुट्ट्याउन आग्रह गरेका छौं। उहाँहरूले अनाकानी गर्नुभएको छ। कुनै पनि निजी अस्पतालमा उपचार गर्दा संक्रमण पुष्टि भयो भने सरकारी अस्पतालमा रिफर गर्न पाइँदैन। त्यसका लागि बेड छुट्टयाउनुपर्ने हुन्छ।

जुन निजी अस्पतालमा २० प्रतिशत बेड छुटाए त त्यहाँ आएका संक्रमितलाई राख्न सकिन्छ नि। त्यसो हुँदा स्वास्थ्य सामग्रीको जोहो गर्नुहुन्छ, स्वास्थ्यकर्मीको मानसिकता पनि पोजेटिभ बनाउनुहुन्छ। के उहाँहरू कोभिड नहटेसम्म काम गर्न हुन्न र? उदाहरणका लागि कुनै अस्पताल सय बेडको रहेको छ। १५ जना संक्रमित भेटिए भने उहाँहरूले के–के गर्नुहुन्छ? सरकारी अस्पतालमा अहिले रिफर गर्न पाइँदैन। त्यतिबेला ती मानिसको उपचार गर्नुपर्दैन? यसका लागि अहिले बेड छुट्ट्याउनु पर्दैन? हामीले हाम्रो बिरामी लगेर राखिदिनुहोस् भनेका पनि छैनौं। आफ्नै लागि व्यवस्थापन गनुहोस् भनेका हौं। उहाँहरूलाई के लागेको छ भने मेरो अस्पतालमा कोभिडका बिरामी आउँदैनन्, जसले विरोध गर्नुभएको छ। यस्तो होला? काठमाडौं सहरमा १० प्रतिशत मानिस पोजेटिभ भए भने ती बिरामी निजी अस्पतालमा जाँदैनन्? जाँदा कहाँ व्यवस्थापन गर्नुहुन्छ? आजदेखि तयारी गर्नुपरेन?

सरकारले यत्रो तयारी गर्दा केही गरेन भन्ने अनि आफ्नो तयारी के छ? अहिले विरोध गरिराख्नुभएको छ। देशलाई दःुख परेका बेला सहयोग गर्नुपर्दैन? के उहाँहरूलाई सजिलो पर्दामात्र र कमाउन परेका बेलामात्र संस्था खोलेको हो? राज्यका लागि उत्तरदायित्व पनि देखाउनुपर्छ। पर्दैन भने आउनुहोस। यस विषयमा स्वास्थ्य मन्त्रालय छलफल गर्न तयार रहेको छ।

अस्पताल खोल्ने प्रज्ञापनपत्र दार्ता गरिएको छ नि, त्यसमा लेख्नुप-यो हामी महामारीका बेला काम गर्दैनौं। तर, ठाउँ पुगेको छैन। अन्य मानिस संक्रमित हुन्छन् भन्ने लागेको छ भने त्यसको हामीसँग सोलुसन रहेको छ। कोभिड रोकिन तीन वर्ष लाग्यो भने व्यापार नगरी बस्नुहुन्छ होला? कोभिडको बिरामी उपचार गरेर व्यापार थाप्नुपरेन? अहिले तपाईंहरूलाई पनि लागेको होला, निजी स्वास्थ्य सिस्टमले काम गर्न रहेछ कि सरकारी सिस्टमले? यो ६ महिनामा नै प्रष्ट देखियो।

अस्पतालमा कोरोना संक्रमित भेटिए कि अस्पतालै सिल गर्ने? यसमा सरकारले किन एक्सन लिन नसकेको?
उपत्यकामा कुनै पनि अस्पताल सिल गरिएको छैन। अस्पतालको विभाग चाहिँ बन्द भएको छ। जुन वार्डमा काम गर्ने स्वास्थ्यकर्मी नभई वार्ड खुल्दैन। त्यसलाई व्यवस्थापन गर्न कति मानिस क्वारेन्टाइनमा जाने गर्दछन्। जसको लागि एक–दुइ दिन लाग्छ। जहाँ सिल गरिएको थियो। गलत हो।

कतिपय ठाउँमा जिल्ला प्रशासन कार्यालय, पालिकाहरू सिल गरिए तर अस्पताल सिल गर्न पाइँदैन। अस्पताल उपचार लिन जाने ठाउँ हो। सपोज, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल सिल गरियो भने दिनमा कतिको मृत्यु हुन्छ होला? जहाँ दैनिक ७५ जनाको डेलिभरी हुन्छ। २५–३० जनाको अप्रेसन हुन्छ। म त्यहाँको निर्देशक हुँदा कुनै दिन सुन्नुभयो सिल भएको? त्यहाँ पनि संक्रमित केस भेटिएको थियो। त्यो त संस्था व्यवस्थापन गर्न नेतृत्वको सीपको कुरा हो।

महामारीसँग लड्न सरकारले बनाएको संयन्त्र सिसिएमसी, स्वास्थ्य मन्त्रालय, केन्द्र, प्रदेश तथा स्थानीय सरकार छन्। यी सबैबीच समन्वय नभएको देखिएको छ नि!

ठूलै समस्या भएको हुँदा यस्तो देख्नुभएको होला। तर, यो कोरोना भाइरसको समस्या भनेको स्वास्थ्य मन्त्रालयको मात्र होइन। धेरै मानिसलाई यो समस्या स्वास्थ्य मन्त्रालयको मात्र छ भन्ने भ्रम रहेको छ। संसारभर स्वास्थ्य मन्त्रालयको समस्या होइन। यो देशको समस्या हो। स्वास्थ्य त देखिने अनुहार न हो। यो रोगबाट लड्नका लागि धेरै क्षेत्रको मानिसको जरुरत पर्दछ।

स्वास्थ्य त देखिने अनुहार न हो। स्वास्थ्यको मात्रै समस्या भएको भए त, अहिले यत्रो समस्या किन बढ्थ्यो र बढ्दैनथ्यो नि। नाकामा कडाइ भएन, धामधम मानिस भित्रिन थाले, इन्डियनहरू धमाधम आएर यहाँ रोग सार्न थाले। स्वास्थ्यको मात्रै समस्या रहेछ त? यसका लागि सबैको कुरा आउँछ, खाद्यान्नको कुरा आउँछ, यातायातको कुरा आउँछ, फ्लाइटहरूको कुरा आउँछ। त्यही भएर स्वास्थ्य मन्त्रालयलाई मात्रै जसरी हिट गरिएको छ, त्यो गलत छ।

भलै, स्वास्थ्य मन्त्रालयमा म अलि उच्च पदमा भएको मान्छेले यस्तो भन्दा अनौठो लाग्नसक्छ तर, रियालिटी त यही हो। यो महामारीसँगको लडाइँ हो, ‘वार’ (युद्ध) को अवस्थामा सबै कुरा ठिक्क र तन्दुरुस्त हुनुपर्छ। र, यो मल्टिसेक्टरल हो। त्यसो भएर सिसिएमसी बनाएको हो। त्यो एउटा संयन्त्र हो, त्यहाँ सबै महत्वपूर्ण मन्त्रालय छन्। स्वास्थ्य मन्त्रालय पनि छ।

त्यहाँ सबै क्षेत्रका प्रतिनिधि रहेका छन्। उहाँले क्वारेन्टाइनको व्यवस्थापन गरिदिनुभयो र पो त लकडाउनमा यत्रो प्रतिफल पाउन सक्यौं। एक्लै भएको भए सम्भव थिएन नि। स्वास्थ्य अलि विशेषज्ञ मन्त्रालय भएको भएर काम गर्ने तरिका अन्य मन्त्रालयको भन्दा फरक हुँदो रहेछ। जुन अस्पतालको र अन्य अफिसजस्तै हो। अन्य अफिसमा काम १०–५ को गरे हुन्छ। तर, अस्पतालमा २४ घन्टा गर्नुपर्दछ। हामी सबै समन्वयमा रहेका छौं। सरकारले सहयोग गरेन भने स्वास्थ्य मन्त्रालयले मात्र काम गरेर सक्छ? अझै पनि कतै नटबोल्ट खुकुलो भएको छ भने टाइट गर्नुपर्दछ। यो हाम्रो सुरुवातमात्र हो। यसोभन्दा धेरै मान्छे डराउँछन्। यो त कास्टिङमात्र हो, सिनारियो गेम आउन बाँकी रहेको छ। यसलाई हामीले ट्याकल गर्न बाँकी छ।

सरकारले जहिलै गर्दैछौं, गरिरहेका छौं मात्रै भनिरहने, अनि सरकारका तर्फबाट तपाईंले जनतालाई त्यही कुरा भनिदिने? छातीमा हात राखेर सोच्दा कहिलेकाहीँँ किन ढाट्नुपरेको होला जस्तो लाग्दैन?


यो धेरै नै संवेदनशील प्रश्न गर्नुभयो। सरकारले हामीले चाहेजस्तो काम गरेको–नगरेको भए तपाईंले भनेको कुरा स्वाभाविक नै हुन्थ्यो। प्रजातान्त्रिक राष्ट्रमा विरोध गर्न पाइन्छ भनेर इभिडेन्स नभई बोल्न हुँदैन। नेपालको सिनियर डाक्टरमध्ये म एक हो। विदेशका धेरै अवसर छोडेर नेपालमा केही गरौं भनेर बसेको हुँ। म जे सोच्छु त्यो बोल्छु। बोल्दाखेरी मलाई कुनै दुःख छैन।

कतिपय कुरा प्रवक्ताको कुराले बोल्न मिल्छ बोल्छु। बोल्न नमिल्ने कुरा डाक्टर जागेश्वर गौतमको हिसाबले बोल्ने गर्छु। मैले काम गरेको सबै ठाउँको रिपोर्ट पल्टाएर हेर्नुहोस्। सय नम्बर त ल्याउँदिन ८० चाहिँ ल्याउँछु। सयजनालाई सोध्नुभयो भने ८० जनाले डा. गौतम ठिक कुरा बोल्छ भन्ने बुझ्छन्। भलै, त्यसो भन्न मानिसलाई गाह्रो हुन्छ। हाम्रो संस्कृति पनि अरू कसैलाई होच्याउँदा आफू माथि पुगिन्छ कि भन्ने पनि छ। पास माक्र्स त ४० हो नि। ६० ल्याएपछि फस्र्ट डिभिजन नै हुन्छ। मेरो काममा फस्र्ट डिभिजन त जरुर ल्याउँछु।

मलाई दुईथरी कुरा गर्न आउँदैन। म एक प्रोफेसर पनि हुँ। गएको २० वर्षदेखि एमडी गर्ने विद्यार्थीलाई पढाइरहेको छु। सरकारको फस्र्ट क्लास पनि हो। लोकसेवा पहिलो नम्बरमा नाम निकाल्दै आएको हुँ। अहिले म जीवनको उत्तराद्र्धमा रहेको छु। बहुत अप्ठेरो ठाउँमा छु। तर, मैले यो चुनौतीलाई स्वीकार गरेको छु। प्रसुती गृहको निर्देशक भएर काम गर्दा मलाई धेरै सजिलो थियो। ६ वर्षसम्म मैले नेतृत्व गरेको संस्था आज देशमा नाम लिनुपर्दा एक वा दुई नम्बरमा आउँछ। मन्त्रालयको प्रवक्ताका रूपमा सबै मानिसको गाली खाने ठाउँमा आइपुगेको छु। जुन चुनौतीलाई स्वीकार गरेर आएको हुँ। केही गर्न सकिन्छ कि?

सयजना मानिस मृत्यु हुने ठाउँमा दुईजना बचाउन सकियो भने पनि म एक मेडिकल डाक्टरका लागि ठूलो कुरा हो। जुन दुईजना बचाउनका लागि मैले वर्षौं काम गर्नुपर्ने हुन्छ। त्यही भएर म यो ठाँउमा छु। त्यसकारण म लुकाएर, छिपाएर कुरा गर्दिनँ। सरकारले गरेको कुरामा मलाई कुनै पछुतो छैन। जति सकिएको छ गरिएको छ। अझै राम्रो गर्दै जानुपर्दछ। सेवा दिने ठाउँमा सबैलाई खुसी पार्न सकिन्नँ। मैले जे भन्छु साँचो बोल्छु। जे बोल्छु सत्य नै बोल्छु। मेरो जागिर सकिन लागेको बेलामा डा. गौतम प्रष्ट, रुखो र सत्य बोल्छ, भनेर जसरी चिन्छन्। त्यसलाई मैले परिर्वतन गर्न आवश्यक छैन।

सरकारको जागिरबाट हटेपछि अहिलेभन्दा कम्फर्ट तरिकाले बाँच्न सक्छु। अहिले यहाँ एक महिनामा कमाउने जति मैले एक दिनमा कमाउन सक्छु। सबै परित्याग नै गरेर मन्त्रालयमा बसिरहेको छु। अहिले बेलुकाको सात बज्न लागेको छ। यति बेलासम्म पनि म यहीँ नै छु। मेरो यो राज्यका लागि सेवा हो। मेरो जीनवकालमा सिक्ने युनिभर्सिटीमा यति पढाइ हुँदैन। जति कुरा मैले यहाँ सिकिरहेको छु। राज्य सेवा गर्न पाएकोमा धेरै नै खुसी छु।

2 thoughts on “‘मैले गरेका काम हेर्नुहोस् सय भन्दिनँ ८० चाहिँ जरुर ल्याउँछु’

  1. राम्रो गर्नु भको छ धन्यबाद।तर अर्को काम covid hospital चाहिँ यो यो भन्दिनु पर्यो।येति पर्सेन्ट उति पर्सेन्ट हैन।

  2. Most corona related deaths seem associated with Noncommunicable diseases (NCD) What is being done to address the NCDs?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय