प्रदेश १ मा मृत्यु भएका सबै संक्रमित दीर्घरोगी

गत साउन १४ गते प्रदेश १ मा पहिलो संक्रमितको मृत्यु भयो। मोरङको सुनवर्षी नगरपालिका-८ का ४५ वर्षीय पुरुष लकडाउनकै बीचमा भारतबाट घर आइपुगेका थिए।

घर आउँदा सिकिस्त भएका उनलाई साउन १४ गते कोशी अस्पताल पु-याइयो। श्वास प्रश्वासमा गम्भीर समस्या देखिएका संक्रमितलाई एक एम्बुलेन्स चालकको जिम्मा लगाएर तत्काल बीनासमन्वय धरानको बिपी प्रतिष्ठानस्थित कोभिड अस्पताल पु-याइयो।

धरानमा लेबल थ्रीसम्मका संक्रमित राख्न मिल्ने आइसोलेटेड अस्पताल छ। संक्रमणको तीन चरणमध्ये अन्तिम अर्थात गम्भीर प्रकृतीका विरामीलाई प्रतिष्ठानमा उपचार गराउने व्यवस्था गरिएको छ। तर, त्यो बेला लेबल थ्री विरामी उपचार गर्ने कक्ष तयार भइसकको थिएन।

यद्धपी चिकित्सकले संक्रमितलाई बचाउने प्रयास सफल भएन। उनको साँझ ५ बजे मृत्यु भयो। उनमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता सापकोटाले प्रतिष्ठानमा समन्वयबीना संक्रमित भटाभट ल्याउन थालिएकोप्रति आपत्ति जनाउँदै एक विज्ञप्ती नै निकाले।

मृत्यु भएका ति व्यक्तिको शव २४ घन्टासम्म उठ्न सकेन। कसले व्यवस्थापन गर्ने र कुन एम्बुलेन्सले शव उठाउने भन्ने एकिन नहुँदा सुनसरी र मोरङका प्रशासनहरूबीच तालमेल मिलेन। पछि मोरङले शवबाहन पठाएर शव लिएर गयो। नेपाली सेनाको एक डेडिकेटेड टीमले सो शवको एक दिनपछि मोरङको कानेपोखरीको जंगलमा अन्त्यष्टी गर्यो।

पहिलो संक्रमितको ज्यान गएको ठिक ५ दिनपछि साउन १९ गते अर्का संक्रमितको कोसी अस्पतालमा ज्यान गयो। ज्यान जानेमा विराटनगर ५ का ७७ वर्षीय पुरुष थिए। उनमा उच्चरक्तचाप, डाइवेटिज र दमको समस्या रहेको कोसीका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए।

त्यस्तै साउन २१ गते एकैदिन दुई संक्रमितको ज्यान गयो। ज्यान जानेमा विराटनगर ९ का ४५ वर्षीय पुरुष र रंगेली ८ का ४५ वर्षीय पुरुष थिए। विराटनगरका संक्रमित कलेजोरोगबाट पीडित भएको उनको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए।

कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन दासकाअनुसार र‌ंगेलीका संक्रमित पुरुषलाई अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो। लामो समय देखि दीर्घ रोगलेग्रस्त उनको मृत्युपछि मात्र कोरोना पोजेटीभ देखिएको पुष्टि भएको थियो।

साउन २३ गते विराटनगरका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण विराटनगरको कोसी अस्पतालमा ज्यान गयो। निमोनियाले ग्रस्त उनको अस्पतालमा कोरोनाको पोजेटीभ रिपोर्ट आउनुपूर्वनै ज्यान गएको दासले बताए। साउन २४ गते विराटनगर ९ का ६३ वर्षीय पुरुषको ज्यान गयो। कोसी अस्पतालमा ज्यान गएको उनमा पनि दीर्घरोग रहेको चिकित्सकको ठम्याइ छ।

त्यस्तै साउन २८ गते २ संक्रमितको ज्यान गयो। बिपी प्रतिष्ठान धरानमा मोरङको बुढीगंगा २ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भयो भने कोसी अस्पतालमा विराटनगर ५ का ५७ वर्षीय पुरुषको ज्यान गयो। चिकित्सकका अनुसार दुबैमा सुगर र प्रेसरको समस्या रहेको थियो।

साउन २९ गते विराटनगरमा ३० वर्षीय युवाको ज्यान गयो। उच्च ज्वरो आएका उनको उपचारका क्रममा निधन भएको थियो। उनको पहिलो स्वाब नेगेटीभ आएपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको हुँदा चिकित्सकले दोहो-याएर पिसिआर परीक्षण गराएका थिए। नभन्दै उनमा कोरोना पोजेटीभ देखिएको थियो। उनी श्वासप्रश्वास रोगबाट पीडित रहेको अस्पतालका मेसु दासले जानकारी दिए।

साउन ३१ गते राति १२ बजे उनको निधन भयो। ज्वारो र खोकी आएकी महिलालाई न्यूरो अस्पताल विराटनगरबाट धरान रेफर गरिएको थियो। धरान पु-याएको १ घन्टामै उनको निधन भएको प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

चिसिकत्कका अनुसार उनी लामो समयदेखि भारतको दिल्लामा उपचाररत थिइन्। विराटनगर तीनपैनी निवासी उनमा फोक्सो, थाइराइड र मुटुसम्बन्धि समस्या थियो। त्यस्तै भदै १ गते साँझ ५:५० बजे विराटनगरको कोसी अस्पतालमा विराटनगर- ८ बस्ने कटहरी- १ का ४७ वर्षीय पुरुषको निधन भएको छ। उनमा समेत फोक्सोमा समस्या भएको चिकित्सकले जानकारी दिएका छन्।

मोरङको बुढीगंगा २ की ६७ वर्षीय महिलाको बिपी प्रतिष्ठान धरानमा मंगलबार मृत्यु भयो। विराट मेडिकल कलेज विराटनगरबाट रेफरपश्चात विपी पु-याइएको उनमा श्वासप्रश्वासमा समस्या रहेको चिकित्सक निदेश सापकोटाले जानकारी दिए।

प्रदेश १ मा पछिल्लो पटक मृत्यु हुने संक्रमित धरान १५ की ७१ वर्षीय महिला हुन्। उनको आज बिहान ११:१५ बजे विपी प्रतिष्ठानमा मृत्यु भएको थियो।

दम र मुटुको दीर्घ रोगी उनी साउन २४ गते नै अस्पताल भर्ना भएकी थिइन्। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा दम र मुटुरोगसम्बन्धि समस्या थियो।

यसरी प्रदेश १ मा हालसम्म २ हजार २ सय १० जनालाई कोरोना हुँदा १३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने १ हजार १ सय २९ जना उपचार पछि घरफर्किएका छन्।

मृत्यु भएका संक्रमितहरूमा कुनै न कुनै दिर्घ रोग रहेकाले ज्यान गएको बिपी प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए। ‘धेरै जस्तो लामो समयदेखि दीर्घरोगबाट पीडित कै मृत्यु भएको देखिन्छ,’ सापकोटाले आयोगमेलसँग भने, ‘समयमा औषधी उपचार नपाउँदा र कोरोनाले थप गल्दा संक्रमितको मृत्यु भएको छ।’

विराटनगरको कोभिड १९ अस्पतालका स्वास्थ्य संयोजक डाक्टर दीपक सिग्देलले कुनै पनि रोगको नियमित औषधी सेवन गरिरहेको व्यक्तिको रोगसँग लड्ने क्षमता त्यसै कमजोर भइरहेको हुन्छ। यहि बेला कोरोना लागे रोगप्रतिरोधि क्षमता कमजोर भइ मान्छे फर्किन सक्ने अवस्थामा रहँदैनन्। ‘विश्वमा मृत्युदर उच्च भएका मुलुकमा बृद्धहरू बढि परको छन्,’ उनले भने, ‘यस्तो बेला बृद्ध र औषधी खाइरहेका दीर्घरोगीलाई बढि जोगाउनु आवश्यक छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय