८६ वर्षीया वृद्धाले जितिन् कोरोना

कर्णालीमा ८६ वर्षीया वृद्धाले कोरोना संक्रमण जितेकी छिन्।

दैलेखको महाँवु गाउँपालिका– १ निवासी ८६ वर्षीया इन्द्रादेवी थापा आज संक्रमण मुक्त भएर घर फर्किएकी हुन्।

प्रदेश अस्पतालमा रहेको आइशोलेसन सेन्टरमा १४ दिन बिताएकी उनी मंगलबार डिस्चार्ज भएकी हुन्।

अनुहारमा प्यारालाइसिस समस्या देखिएपछि उनलाई दैलेखबाट रिफर गरी गत साउनमा सुर्खेत ल्याइएको थियो।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदिप न्यौपानेले भने, ‘अनुहारमा प्यारालाइसिसको समस्या ल्याएर गत साउनमा उहाँ रिफर भएर प्रदेश अस्पतालमा आउनुभएको थियो। आरडिटी र पिसिआर दुवै परीक्षणमा कोरोना संक्रमण देखिएपछि उहाँलाई आइशोलेसनमा राखेका थियौं।’

थापाको ब्लप्रेसरसमेत अत्यधिक थियो। उनको श्वासप्रश्वासमासमेत समस्या देखिएको थियो।  ‘उहाँको शरिरमा देखिएका समस्याहरूका लागि उपचार सुरु भयो। अहिले उहाँ निको भएर घर गएको देख्दा हामी खुशी छौं,’ उनले भने।

साउन २१ गते आइशोलेसनमा बसेकी थापासँग उनकी बुहारी पनिसँगै थिइन्। उनीसँगै रहेकी बुहारीमा भने कोरोना संक्रमण देखिएको छैन।

‘उहाँकी बुहारीको पनि पिसिआर परीक्षण गरिएको थियो। अन्तिम परीक्षणमा समेत रिपोर्ट नेगेटिभ आएपछि अहिले उहाँहरू दुवैजना डिस्चार्ज हुनुभएको छ,’ डा. न्यापानेले भने।

कोरोना संक्रमणबाट निको हुन पाउँदा खुशी लागेको बताउँदै ८६ वर्षीया थापाले आफ्नै भाषामा भनिन्, ‘मन निको हुन्या लेख्या रछ। निको भएँ। खुशी लाग्याउँछ। डाक्टरहरू सप्पैन धन्यवाद।’

कर्णालीमा हालसम्म कोरोना भाइरस संक्रमण हुनेहरूको संख्या दुई हजार ८७ पुगेको छ। जसमध्य संक्रमणबाट एक हजार नौ सय ३२ जना निको भइसकेका छन्।

संक्रमण पुष्टि भएका मध्य ६ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय